प्रधानमन्त्री सुशीला कार्कीसँग मंगलबार भएको छलफलका क्रममा विभिन्न दलका नेताहरूले सुरक्षाको वातावरण बनाउन आग्रह गरेका छन्।
छलफलका क्रममा नेताहरूले आगामी फागुन २१ गते भयरहीत वातावरणमा चुनाव हुनेमा आशंका व्यक्त गरेका थिए।
बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीका भावना समेत समेटेर छलफललाई निरन्तरता दिनुपर्ने बताए।
‘राजनीतिक दलसँगको परामर्शमा यो सरकार बनेको छ। सुरक्षाको प्रत्याभूति गराएर, दलसँग निरन्तर संवाद गरोस्’ उनले भने, ‘जेनजीको भावना पनि कदर गर्दै उनीहरुसँग पनि छलफल गरौँ।’
यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद विघटन संवैधानिक निरुपणको विषय बनेको बताए। उनले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित उच्चस्तरीय समितिको भूमिकामाथि पनि प्रश्न उठाए।
‘प्रतिनिधिसिभा विघटनपछि आशंका जन्मिएका छन्। संसद् विघटनको विष्या संवैधानिक निरुपणको विषय बनसिक्यो। अब यसको निरुपणको भइसकेपछि देशको कोणबाट अघि बढ्छ भन्न सकिन्छ’ उनले भने, ‘छानबिन समितिको व्यक्ति विवादास्पद व्यक्ति सरकारले हटाउनुपर्छ।’
यस्तै, उनले प्रहरीको भूमिकामाथि आशंका व्यक्त गर्दै प्रहरीले १२÷१५ हजारको भीड पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको हो? भनि प्रश्न उठाए।
महासचिव पोखरेलले राजनीतिक दलको सहभागिताबिना चुनाव सम्भव नरहेको र सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने धारणा राखे।
छलफलमा नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुनेमा आशंका गरिन्।
उनले प्रश्न गरिन्, ‘सरकार डेढ महिना हुँदासम्म क्षतिग्रस्त दलका कार्यालय र नेताको निवासमा पुग्न सकेन भने कसरी सुरक्षाको प्रत्याभूति हुन्छ?’
यस्तै, राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले परम्परागत शक्तिको रुपमा रहेको राजसंस्था, राजनीतिक दल र जेनजी मिलेर नयाँ समझदारी गर्नुपर्ने बताए।
‘हामी दल हौँ निर्वाचन जनतालाई जाने कुरालाई अस्वीकार गर्दैनौँ। तर परिस्थिति जुन देखिएको छ, यसले विगतका गल्ती कमजोरीलाई स्च्याएर कोर्ष करेक्सन गर्नुपर्छ’ उनले भने, ‘परम्परागत शक्तिको रुपमा राजा, अहिलेको परिवर्तनको शक्ति जेनजी र राजनीतिक दलहरुबीच समझदारी गरेरमात्रै निर्वाचनमा जानुपर्छ।’
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचनबारे आशंका नगर्न दलहरूसँग आग्रह गरिन्।
उनले अवस्थालाई सामान्यीकरण गर्दै चुनावतर्फ जानुपर्ने बताइन्। उनले दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेको पनि बताइन्।
प्रधानमन्त्री कार्कीले दलहरू र जेनजी प्रतिनिधिबीच छलफल हुनुपर्ने आवश्यकता औँल्याइन्।
Shares

प्रतिक्रिया