राजनीति


म तराई हुँदै भारत गएको थिएँ, मेदान्त अस्पतालमा ११ दिन बसेँ: दीपक खड्का

म तराई हुँदै भारत गएको थिएँ, मेदान्त अस्पतालमा ११ दिन बसेँ: दीपक खड्का

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १०:४६, काठमाडौँ

भारत हुँदै अमेरिका भागेको आशंका गरिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आज काठमाडौँमा सार्वजनिक भएका छन्। 

जेनजी आन्दोलनपछि तराई हुँदै भारत गएका उनी आज काठमाडौँमा सार्वजनिक भएका हुन्। 

गृहमन्त्री ओमप्रकाश अर्याललेसमेत सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री दीपक खड्का नेपाल छाडेर अमेरिका भागेको दाबी गरेका थिए। 

जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि तत्कालीन ऊर्जामन्त्री खड्का विदेश भागेको चर्चा भइरहेका बेला गृहमन्त्री आर्यालको आइतबार नयाँ पत्रिका दैनिकमा प्रकाशित अन्तर्वार्तामा खड्काको नाम नलिइ उनी अमेरिका भागेको दाबी गरेका थिए। 

‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। अब यहाँ ठुल्ठुला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ। कसैको भागाभागसमेत भएको छ’, गृहमन्त्री अर्यालले अन्तर्वार्तामा भनेका छन्, ‘तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्। उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ।’

तर सरकारका शक्तिशाली मन्त्रीले नै विदेश भागेको भनेका पूर्वमन्त्री खड्का काठमाडौँको बुढानिलकण्ठस्थित आफ्नो जलेको घरमै देखिएका छन्। 

भिडिओ

सामाजिक सञ्जालमार्फत आज सार्वजनिक भिडिओमा खड्काले आफू कतै नभागेको स्पष्टीकरण दिएका छन्। 

‘हामी घुम्न तराई गएका थियौँ। त्यहीँ हुँदा श्रीमतीलाई डेंगु भयो। त्यसपछि हामी भारत गयौँ, ११ दिन मेदान्त अस्पतालमा उपचारमा बस्यौँ, मलाई पनि डेंगु भयो। मेरा बारेमा समाजलाई दिग्भ्रमित पार्ने काम भएछ,’ उनले भनेका छन्। तर उनले आफू कहिले भारतबाट फर्किएकाे भन्ने चाहीँ खुलाएका छैनन्।

तर, स्रोतका अनुसार उनी आइतबार मात्र स्वेदश फर्किएका हुन्। उनी भारतबाट सडकमार्ग हुँदै झापा आएका र आइतबार दिउँसो ४ बजे भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौँ आएका थिए।

पूर्वमन्त्री खड्काले जेनजी आन्दोलनको क्रममा घरबाट निस्किएर छिमेकीकोमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिएका छन्। ‘म छिमेकीकोमा बसेँ। राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो’, उनले भने, ‘त्यसपछि तराईतिर तीन-चार दिन बसियो। त्यहीबेला डेंगु भएछ।’

खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको बताएका छन्। ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ। डेँगु भएछ । त्यहाँ केही मन्त्रीहरूसँग भेटघाट भयो’, उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad