नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार क्रान्तिबाट नआएको टिप्पणी गरेका छन्।
शनिबार च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहाँ भयो क्रान्ति भनेर प्रश्न समेत गरे।
‘क्रान्तिबाट भनेको सरकार? कहाँ भयो क्रान्ति?,’ आफैँ जवाफ दिँदै ओलीले भने, ‘प्रतिक्रान्ति हो यो। देशलाई पछाडि धकेलेको छ। शान्तिबाट हिंसा, अराजकतामा धकेलेको छ। कानुुनी राजबाट आवेश उत्तेजनातर्फ प्रतिगमन भएको छ।’
जेनजी आन्दोलनतर्फ लक्षित गर्दै उनले यसले समाजमा त्रासको मनोविज्ञान बनाएको समेत उल्लेख गरे।
‘सिंगै देश त्रसित मनोविज्ञानमा भएको अवस्था छ, आज हरेक पसले मेरो पसल लुटिन्छ कि भनेर डराउँछ,’ ओलीको भनाइ छ, ‘पहिले पहिले महिलाहरू हरेकको गलामा सिक्रि देखिन्थ्यो, अहिले सिक्रि देख्न मुस्किल छ। किनभने कतिखेर कसले सिक्रि मात्रै लाने हो कि आफूलाई पनि गन्ट्यामुन्ट्याङ पार्ने हो ठेगान छैन।’
उनले यो सरकारलाई १ प्रतिशले पनि सर्मथन नगरेको जिकिर गरे।‘यो एक प्रतिशतले पनि समर्थन नगरेको सरकार हो,’ ओलीले भने, ‘एक प्रतिशत भनेको ३ लाख हुन्छ। ३ लाख मान्छेले सरकार बनाएको हो र?’
आम जनतालाई त्रसित बनाएर सरकार बनाइएको उनको आरोप छ। ‘आम जनता सहभागी भएर होइन, आम जनतालाई त्रसित बनाएर, तिनका घरमा आगो लगाएर हाटहुट, लाटलुटका बीचमा बनाइएको सरकार हो,’ ओलीको तर्क छ।
Shares

प्रतिक्रिया