नेकपा एमालेका नेताहरूले नेतृत्व हस्तान्तरणको विषयलाई जोडजोडले उठाएका छन्। बिहीबार बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा धारणा राख्नेमध्ये कयौँ नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरेर पुस्तान्तरण गर्नुपर्ने धारणा राखेका हुन्।
केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले ओलीलाई देश र पार्टीको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिन सुझाव दिए।
‘दुई तिहाइ सरकारको प्रधानमन्त्री सत्ता छाडेर हेलिकोप्टर चढेर भाग्नुपरेको थियो, जेन–जी आन्दोलनको विध्वंशको खबर समेत नहुनु प्रधानमन्त्रीको असफलता हो,’ मानन्धरले बैठकमा भने, ‘तपाईंले पार्टीको नेतृत्व पनि गर्न सक्नुहुन्न। केन्द्रीय कमिटीमा संख्या बहुमत देखाएर अर्थ छैन, राजीनामा दिँदा राम्रो हुन्छ।’
नेताहरूका अनुसार रविन कोइराला, गणेश पाण्डे, केशव पाण्डे, ठम्मर विष्ट, कृष्ण केसी, रचना खड्का, केदार न्यौपाने, कृष्णभक्त पोखरेल, गणेश पहाडी, नरेन्द्र श्रेष्ठ, नवीना लामा, युवराज बास्कोटा, रमेश पौडेल, रामलाल साह, ममता गिरी, टंक कार्की, प्रकाश शाह, माधव अर्याल, तुलसा दाहाल, दीपा शर्मा, मनोजजंग थापा र मञ्जु गुरुङ लगायत २३ भन्दा बढी नेताले पार्टी पुनर्संरचना गर्दै नेतृत्वको हेरफेर गर्नुपर्ने धारणा राखेका छन्।
बिहीबारको बैठकमा १४६ जनाले बोलेका थिए। ओलीको राजीनामा माग गर्ने संख्या निकै बढेको नेताहरूको भनाइ छ।
‘आज बोल्ने नेताहरूले कतिपयले सिधै र केहीले मिलाएर अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘नेतृत्वका कमजोरी थिए, भ्रष्टाचार नियन्त्रण भएन, यसरी हुन्न अब नेतृत्व छोड्नुपर्छ भन्नुभयो।’
सचिवालय बैठकमा पनि बहुमत पदाधिकारीले ओलीको राजीनामा मागेका थिए। यही कुरा बुझेर अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले वर्णानुक्रमअनुसार ‘ह’बाट धारणा राख्न दिइएको थियो।
सचिवालयका नेताहरूले पहिले बोलेको भए ओलीको विरोध गर्ने केन्द्रीय सदस्यहरूको संख्या अझै धेरै हुने एक नेताले दाबी गरे।
‘सचिवालयमा अल्पमतमा परेपछि त्यसको असर केन्द्रीय कमिटीमा पर्ने थियो। उहाँहरूले अध्यक्षको राजीनामा धेरैले माग्ने संकेत पाएरै नयाँ जुक्ति निकाल्नुभयो, त्यति गर्दा पनि केन्द्रीय कमिटीका थुप्रै साथीहरूले रूपान्तरण र हस्तान्तरणको कुरा उठाउने साहस गर्नुभयो,’ ती नेता भन्छन्।
बैठकमा बोलेका कुरा बाहिर मिडियामा सार्वजनिक भएको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए। उनले केन्द्रीय सदस्य समाचारदाता भएको आरोप लगाए।
‘नेतृत्वले विरुद्धमा नबोल्न विभिन्न उपाय लगाएकै छ,’ अर्का नेताले भने, ‘तर, झन् बोल्न थाल्नुभएको छ, भोलि यो संख्या झन् थपिन्छ।’
३४२ सदस्यीय केन्द्रीय कमिटीमा अब १४६ जनाले बोल्न बाँकी छ।
बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले ६ पृष्ठमा रहेको १५ बुँदे विशेष राजनीतिक प्रतिवेदन पेस गरेका थिए। सोही प्रतिवेदनमाथि नेताहरूले बोलेका हुन्।
त्यसो त अध्यक्ष ओलीको पक्षमा पनि प्रशस्तै नेताहरू उभिए। मोहम्मद हारुनले अहिले नेतृत्व परिवतर्नको बहस गर्न नहुने बताए।
‘केपी ओलीको नेतृत्व देशलाई अझै आवश्यक छ, यो केन्द्रीय कमिटीले एकताबद्ध निर्णय गर्नुपर्छ,’ उनले भने।
यस्तै, मोहम्मद समीरले अध्यक्ष ओलीको विकल्प खोज्नै नहुने बताए।
‘ना केपी ओली गिरे, ना केपी ओली के उम्मिदोँ का मिनार गिरे,’ उनले भने।
यसैगरी यज्ञराज सुनुवारले आन्तरिक एकता आवश्यक रहेको बताए। मोहनमाया ढकालले नेतृत्व परिवर्तन अहिले बेमौसमको बाजा भएको बताइन्।
गिरिधारीलाल न्यौपानेले यो समय केपी ओलीको विकल्प खोजेर विवाद निम्त्याउने समय नभएको बताए।
‘महाधिवेशनकै मिति प्रस्ताव भएपछि नेतृत्वको टुंगो त्यहीँ लाग्छ, घेराबन्दीविरुद्ध एकताबद्ध भएर जानुपर्दछ,’ उनले भने।
प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको पदत्याग गर्नुपर्छ भन्नेमा थोरै नेता मात्र रहेको बताए। धेरैले भने महाधिवेशनमा पार्टी एकताबद्ध भएर जानुपर्ने धारणा राखेको उनी बताउँछन्।
बैठकमा बोल्दै मेनुका काफ्लेले बहुदल स्थापनापछिका नेताहरूको सम्पत्ति छानबिन गर्न पार्टीले अलग्गै आयोग बनाउनुपर्ने प्रस्ताव राखिन्।
‘नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने हो भने जेन–जीका माग पनि सम्बोधन हुन्छ, पार्टी शुद्धीकरण पनि हुन्छ,’ उनले भनिन्, ‘मेरो माग छ– यसै बैठकबाट त्यस्तो आयोग बनाऊँ, जसले नेताका सम्पत्ति छानबिन गरेर सार्वजिनक गरोस्।
भण्डारीको पक्षमा खुल्ने बढे
बुधबारको बैठकमा १० जना केन्द्रीय सदस्यले भण्डारीको पक्षमा बोलेका थिए। बिहीबार पनि भण्डारीको सदस्यता नवीकरण खुला गरेर काममै सक्रिय गराउनुपर्ने भन्ने पक्षमा २५ जना बढी नेताले धारणा राखेका छन्।
रचना खड्का, रामलाल साह, रामप्रीत पासवान, झपट रावल, जमिन्द्रमान घले, माधव अर्याल, नरदेवी पुन, तुलसा दाहाल, युवराज बाँस्कोटा, दीपा शर्मा, प्रभा बराल, नवीना लामा, मञ्जुदेवी गुरुङ, राम अवतार, प्रकाश शाह, ममता गिरी, केदार न्यौपाने, रविन कोइराला, युवराज बास्कोटा लगायत नेताहरू भण्डारीको पक्षमा उभिएका छन्।
‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बाहिर राखेर पार्टीभित्र सुदृढ एकता हुँदैन भनेर साथीहरूले राख्नुभयो,’ केन्द्रीय सदस्य शर्मिला कार्की भन्छिन्।
पार्टी पुनर्संरचना गर्नुपर्ने पक्षमा केशव पाण्डे पनि उभिए। मनोजजंग थापाले विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण गरेर विभिन्न घटक मिलाई संयुक्त राष्ट्रिय मोर्चा बनाउन प्रस्ताव गरे।
‘लोकतन्त्र र संकटबाट मुलुकलाई मुक्त गर्न विद्या भण्डारीलाई सदस्यता दिऊँ र उहाँको नेतृत्वमा बहुपक्षीय संयुक्त मोर्चाको निर्माण गरौँ,’ थापाको प्रस्ताव थियो।
चुनावको तयारी पनि गर्न आग्रह
प्रतिनिधि सभा पुनर्स्थापना मात्र नभनी चुनावको तयारी गर्न केही नेताले अध्यक्ष ओलीको ध्यानाकर्षण गराए।
मीना गुरुङ, रविन्द्र अधिकारी, राजेन्द्र राई, राजकुमार लेखी लगायत नेता चुनावको तयारी र पुनस्र्थापनाको विषय सँगसँगै अगाडि बढाउनुपर्ने सुझाव दिए।
‘प्रतिनिधि सभा पुनर्स्थापना मात्र भन्न मिल्दैन, हामीलाई लोभी भन्छन्, जनतामा गलत सन्देश जान्छ। चुनाव हुन गाह्रो छ, तर एक्लै नभनौँ, सबै दललाई विश्वासमा लिएर अगाडि बढौँ,’ बैठकमा नेताहरूले भने।
यस्तो सुझाव अधिकांशले दिएको कार्की बताउँछिन्।
‘थुप्रै नेताहरूले निर्वाचनलाई समर्थन गरेर जानुपर्ने धारणा राख्नुभएको छ,’ उनले भनिन्, ‘पुनर्स्थापना मात्र भन्नु हुँदैन। जनताको मनोविज्ञानको हेक्का राख्नुपर्छ भन्ने उहाँहरूको भनाइ छ।’
भीम रावललाई ल्याउने प्रस्ताव
एमाले छोडेका भीम रावललाई पार्टीमा ल्याउनुपर्ने कुरा पनि बैठकमा उठ्यो। झपट रावल, प्रकाश शाह, केदार न्यौपाने लगायतले रावलको विषय उठाएका हुन्।
अध्यक्ष ओलीले पार्टी छाडेकाहरूलाई फर्किन निमन्त्रणा गरेपछि बिहीबारको बैठकमा भण्डारी र रावललाई पनि ल्याउन नेताहरूले अध्यक्षको ध्यानाकर्षण गराएका हुन्।
व्यक्तिगत रूपमा धेरैले त उठाउनु भएन तर, विद्यादेवी भण्डारीको नाम आउन थालेपछि हुन्छ कि क्या हो भन्ने बुझेर केहीले भीव रावललाई पार्टीमा ल्याउनुपर्ने कुरा उठाउनुभयो,’ अर्का एक नेताले भने, ‘विभिन्न अवस्थामा बाहिर रहनुभएका सबैलाई फर्काउनुपर्यो भन्नुभयो। पाँचछ जनाले नाम लिनुभयो।’
‘बाहिरकालाई बोलाउने आफ्नै घरभित्रकालाई नबोलाउने त भन्ने उहाँहरूको भनाइ छ,’ ती नेताले थपे।
Shares

प्रतिक्रिया