राजनीति


सभामुखले संसद् पुनर्स्थापनाको विषयमा छलफल गर्नु ठिक होइन: मनिष झा

‘जेनजी आन्दोलनले परिवर्तन खोजेको छ, त्यो भनेको नयाँ निर्वाचन हो’
सभामुखले संसद् पुनर्स्थापनाको विषयमा छलफल गर्नु ठिक होइन: मनिष झा

नेपालखबर
असोज २९, २०८२ बुधबार ११:१३, काठमाडौँ

प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी भएको छैन। 

अन्य सबै दलका प्रतिनिधि सभामुखले बोलाएको बैठकमा सहभागी भए पनि रास्वपा अनुपस्थित भएको हो। 

संसद् पुनस्र्थापनाको सवालमा आफ्नो पार्टीभित्र एकमत नरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। ‘हाम्रो मूल कुरा सभामुखले बोलाएको बैठकमा नजाने भन्ने हो,’ झाले नेपालखबरसँग भने, ‘तर सन्तोष परियार सभामुखले बोलाएको बैठकमा जान पनि सक्नुहुन्छ। मैले भेरिफाइ गर्न बाँकी छ।’ 

जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला गत भदौ २४ गते बिहान रास्वपाले प्रतिनिधिसभाबाट राजीनामा दिएको घोषणा गरेको थियो। 

‘संसद् पुनस्र्थापनाको सवालमा हाम्रो पार्टीमा फरक धारणा छ। हामी फ्रेस म्यान्डेटमै जानुपर्छ भन्ने पक्षमा छौँ। तर, प्रजातान्त्रिक पार्टीमा सबैको एउटै धारणा हुनुपर्छ भन्ने भएन। पार्टीको एउटा अवधारणा भए पनि पार्टीभित्र फरक अवधारणा राख्न पाइन्छ,’ झाले भने।  

आन्दोलनको स्पीरिटको आधारमा सभामुखले बोलाएको बैठकमा जानुहुँदैन भन्ने पक्षमा आफू रहेको उनले बताए। ‘आन्दोलनले परिवर्तन खोजेको छ। त्यो भनेको नयाँ निर्वाचन हो,’ झाले भने, ‘तर, त्यो भन्दैमा सभामुखले मुद्दा अदालतमा दर्ता भइसकेको अवस्थामा यस्तो बैठक गर्नु त्यति उपयुक्त हुँदैनथ्यो कि जस्तो पनि लाग्छ मलाई।’

रास्वपाका सबै सांसदले मौखिक रुपमा राजीनामाको घोषणा गरेका थिए। ‘भदौ २३ गते जेनजी आन्दोलनको क्रममा धेरै युवाको हत्या भएपछि यी हत्याराहरुसँग एउटै सदन बैठकमा बस्न सकिन्न भनेर हामीले राजीनामा घोषणा गरेका थियौँ,’ झाले भने, ‘तर, हामीले बुझाएको राजीनामाको विषयमा सभाुखले कुनै निर्णय गर्नु भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad