राजनीति


अध्यक्ष सीके राउत नै मेरो चरित्र हत्या गर्नेतिर लागेपछि विश्वासको मत लिने निर्णयमा पुगेँ: मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)

‘मलाई लात्तीले हानेर मुख्यमन्त्रीबाट हटाउन खोज्दा चित्त दुखेको छ’
अध्यक्ष सीके राउत नै मेरो चरित्र हत्या गर्नेतिर लागेपछि विश्वासको मत लिने निर्णयमा पुगेँ: मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)

फाइल तस्बिर


जनार्दन पोखरेल
असोज २८, २०८२ मंगलबार ९:४२, काठमाडौँ

जनमत पार्टीबाट मधेस प्रदेशको मुख्यमन्त्री  बनेका सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। मंगलबार दिउँसो १ बजे बस्ने प्रदेस सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। तर, रोचक कुरा के भने उनकै दल जनमतले पनि सिंहलाई विश्वासको मत नदिने निश्चित जस्तैछ। 

२५ जेठ २०८२ मा नेकपा एमाले र माओवादी केन्द्रसहित ६ दलका ५५ सांसदको समर्थनमा जनमत पार्टीबाट सिंह मुख्यमन्त्री बनेका थिए। पछि केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि माओवादी मधेस सरकारबाट बाहिरिएको थियो भने २०८२ असार १२ गते उनलाई कांग्रेसले विश्वासको मत दिएर मुख्यमन्त्रीमा निरन्तरता दिएकाे थियाे। 

तर, जेनजी आन्दोलनको क्रममा गएको भदौ २४ गते जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्देशनमा सिंहले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

तर, त्यसपछि आफ्नै दलभित्र बढेको किचलो र बाहिरकाे परिस्थिति सामान्य बनेपछि भने सिंहले राजीनामा नदिने अडान लिएका थिए। त्यसपछि जनमत पार्टीले उनलाई राजीनामा दिन विभिन्न ढंगले दबाब दिँदै आए पनि उनले टेरेनन्। स्वयंम अध्यक्ष सीके राउतकै निर्देशन पनि उनले अवज्ञा गर्दै आएका छन्। यसै सन्दर्भमा नेपालखबरले मुख्यमन्त्री सिंहसँग गरेको छोटो कुराकानी:

पार्टीले राजीनामा गर्नुस् भन्दा भन्दै किन विश्वासको मत लिँदै हुनुहुन्छ?

मलाई मेरै पार्टी जनमतले राजीनामा दिनु भनेको थियो। म राजीनामा दिनको लागि पनि तयार नै थिएँ। गएको भदौ २४ गते मेरो राजीनामा पत्र सिग्नेचर भएर भएर प्रदेश प्रमुखकोमा पनि गएको थियो। तर, आगजनीले प्रदेश प्रमुखकै कार्यालय जलेर नष्ट भएकाले त्यहाँ कोही थिएनन्। प्रदेश प्रमुख, उहाँको सचिवालका मान्छे, कर्मचारी कोही थिएनन्। सुरक्षाकर्मी मात्रै थिए। अनि राजीनामा बुझाउन सकिँन। 

अवस्था सहज भएपछि किन दिनु भएन त फेरि राजीनामा? 
अवस्था सहज भएपछि प्रक्रिया चल्दै थियो। त्यहीबेला हाम्रो संसदीय दलका नेता महेशप्रसाद यादवले चिठ्ठी काटेर २४ घण्टाभित्र राजीनामा दिनुस्, तपाईंप्रति हाम्रो दलकै समर्थन फिर्ता भएको छ भन्नु भयो। दलको नेताले चिठ्ठी काट्नु भन्दा अघि सोही दलको सांसद र मुख्यमन्त्री भएको मलाई जानकारी गराउनु पर्थ्याे। दलको बैठक बसाएर निर्णय गर्नु पर्थ्याे। त्यो केही गरिएन। बैठक बसाएर तपाईंलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरेको छ भन्नुपर्थ्याे। त्यहाँ म आफ्ना कुरा राख्थेँ। मलाई कुनै जानकारी नदिइ पत्र काटेर समर्थन फिर्ता लिने काम भयो। 

मेरा कुनै कुरा नसुनी, मलाई जानकारी नै नदिइ यो सबै गरेर पार्टीले मेराे चरित्र हत्या गर्‍याे। भदौ २८ गते उनीहरूले प्रदेश प्रमुखलाई पनि पत्र पठाएर मलाई मुख्यमन्त्रीबाट हटाएको जानकारी गराए। जब कि प्रदेश प्रमुखलाई पत्र काट्नु पर्ने नै थिएन। यो त प्रदेश सभामा फेस गर्ने कुरा थियो। 

त्यसपछि मलाई फिर्ता बोलाएको पत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरियो। त्यसपछि म फेरि राजीनामा पत्र बुझाउनको लागि भदौ २९ गते पनि प्रदेश प्रमुखकहाँ पठाएँ। तर, त्यो दिन पनि राजीनामा पत्र बुझ्ने मान्छे त्यहाँ भेटिएनन्। 

त्यसपछि अब पत्रकार सम्मेलन गरेर राजीनामा दिनुपर्छ, तयारी गरौँ भनेर मैले सचिवालयका साथीहरूलाई भनेँ। तर, त्यसको तयारी हुँदाहुँदै फेरि हाम्रो दलका नेताले प्रदेशसभामा पत्र पठाएर मलाई फिर्ता बोलाउनु भयो। त्यो पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरियो। यसले के देखाउँछ भने, दलको नेताले बैठक बिनै, सल्लाह सुझाव नदिइ चरित्र हत्या गर्ने गरि गतिविधि गरेपछि मैले राजीनामा नदिँने, प्रदेश सभामा फेस गर्ने सोच बनाएँ। 

म जनमत पार्टीबाट मुख्यमन्त्री बनेको थिएँ। तर, मलाई आफ्नै पार्टीका साथीहरूले असहयोग गरे। बोल्न दिएनन, बुझ्न दिएनन्। मलाई साथ र सहयोग गर्नेहरूलाई धन्यवाद भन्न पनि नपाई राजीनामा दिनुपर्ने दबाब आयो। उनीहरू मेरो चरित्र हत्या गर्नेतिर मात्रै लागे। 

तपाईंले राजीनामा नदिने बरु प्रदेशसभाबाट विश्वासको मत लिने जुन अडान लिनु भएको छ, यो विषयमा अध्यक्ष सिके राउतसँग सल्लाह गर्नु भएको छ कि छैन?
पहिला उहाँकै सल्लाहमा मैले राजीनामा दिने तयारी गरेको थिएँ। त्यसपछि संसदीय दलका नेताले मेरो मान मर्दन गर्ने काम गर्नुभयो। मैले उहाँसँग यस विषयमा पनि कुरा गरेँ। तर, उहाँ (सीके राउत)ले राजीनामा पत्र बुझाएर मात्रै अब म सँग कुरा गर्न आउनुस् भन्नुभयो। 
यसरी मेरो प्रतिष्ठामाथि खेलबाड गर्ने काम भयो। उहाँको भूमिका पनि मलाई चित्र बुझेको छैन। 

भनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने तपाईंको तयारीप्रति अध्यक्ष राउतको सहमति छैन? 
अध्यक्ष ज्यू, मेरो पार्टीका सांसद कसैको पनि यसमा सहमती छैन। यसमा मेरा धेरै कुराहरू छन्। म आज दिउँसो १ बजे बस्ने बैठकमै आफ्ना सबैकुरा खोल्नेछु। किन भने मविरुद्ध यो खाले षड्यन्त्र भएपछि मैले चुपचाप राजीनामा बुझाउनु हुँदैनथ्यो। सम्मानित प्रदेशसभा सबैभन्दा ठूलो थलो हो। एउटा सांसदको लागि त्यो भन्दा ठूलो थलो कुनै होइन। त्यहाँ आज म आफ्ना कुरा राख्छु। विश्वासकाे मत माग्छु।

तपाईँको दल नै तपाईंको साथमा छैन, तपाईँले विश्वासको मत नपाउने त प्रष्टै देखिन्छ। अब तपाईँको पार्टीसँग कस्तो सम्बन्ध रहन्छ, अबको बाटो के हो तपाईंको? 
म आज दिउँसो १ बजे यो सबै कुरा प्रष्ट पार्छु। 

पार्टी नै छाड्ने कुरा आउँछ कि मुख्यमन्त्री ज्यू? 
मैले भनेँ त। १ बजे सबै कुरा भन्छु, पर्खनु्स न!

अध्यक्ष सीके राउतसँग नै असहमती भएपछि तपाईं त्यो पार्टीमा रहनु होला र अब? 
कसैलाई कुनै संस्थाले प्रमुख बनाएपछि उसको चरित्र हत्या गर्नेतिर त लाग्नु भएन नि! नेतृत्वले यो ख्याल गर्नु पर्थ्याे नि। मुख्यमन्त्री भएकाे मान्छेलाई लात्तीले हानेर भगाउन त नमिल्ला नि? मैले जनमतबाट मुख्यमन्त्री बनेर १५ महिना काम गरेपछि मलाई फिर्ता बोलाउने निर्णय गर्दा एकपटक त मलाई सोध्नु पर्थ्याे नि। मैले सरकारको नेतृत्व गर्दा नराम्रै गरेको रहेछु भने पनि पार्टीले बैठक बसाएर मलाई सोधेको भए के बिग्रन्थ्यो र? मैले राजीनामा दिने मनस्थिति बनाएको विषयमा म त्यहाँ आफ्ना कुरा राख्ने थिएँ नि। 

आज प्रदेश सभाबाट विश्वासको मत माग्दा तपाईँलाई कति सांसदको समर्थन गर्लान् त? 
आफ्नै पार्टी मेरो पक्षमा छैन भनेपछि मैले मत पाउने त कुरै सम्भावना नै छैन। तर, गठबन्धनका दलले मेरो राजीनामा नमागेको अवस्थामा मेरो पार्टी नै विभिन्न ढंगले राजीनामा मागेर मेरो मान मर्दन गर्ने काम गरेपछि मैले यो कदम चालेको हुँ। मैले विश्वासको मत पाउँछु भनेर यो सबै गरेको होइन। मेरो मानमर्दन, बेइजत गर्न खोजेपछि मैले प्रदेश सभामा फेस गर्ने बाटो अपनाएको मात्रै हुँ। 

भनेपछि आज प्रदेसभामा सम्बोधन गर्ने क्रममा तपाईँले जनमत पार्टी पनि छाडेको घोषणा गर्नुहुन्छ कि क्या हो? 
मैले यो अन्तर्वार्तामा सबै कुरा भनेँ भने त मेरो सम्बोधनको कुनै अर्थन नै हुँदैन नि! मेरै पार्टीका साथीले मैले संघीयता नै खारेज गर्न खोजेकोसम्म आरोप लगाएका छन्। यसले मेरो चित्त दुखेको छ। हाम्रो राष्ट्रिय अध्यक्षले पनि संघीयतामाथि खतरा भएपछि हतारमा राजीनामाको निर्णय गर्नुपरेको भन्नु भएको छ। जुन दिन म मुख्यमन्त्री नियुक्त भएको थिएँ, त्यो बेला गठबन्धमा नेपाली कांग्रेस छँदै थिएन। एक महिनापछि मात्रै कांग्रेस गठबन्धनमा आएको हो। एमाले, माओवादी, नेकपा एसबीच गठबन्धन भएर म सुरुमा मुख्यमन्त्री बनेको थिएँ। एक महिनापछि मात्रै कांग्रेस सरकारमा प्रवेश गरेको हो। अहिले हाम्रा साथी कांग्रेसलाई मुख्यमन्त्री बनाउन खोज्दैछन्। त्यतिबेला म पछि मुख्यमन्त्री कांग्रेसलाई दिने कुनै सहमति भएको थिएन। तर हाम्रो दलका नेता अहिले पहिल्यै कांग्रेसलाई मुख्यमन्त्री दिने सहमती भएको थियो भन्दै हिँड्नु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad