नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फागुन २१ गते हुने चुनावमा सुरक्षाको ग्यारेन्टी खोजेका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा भएको छलफलमा तीन दलका तर्फबाट धारणा राखेका नेताहरूले यो सरकारले चुनाव गराउनको लागि दलहरूसँग छलफल र संवाद नगरेकोमा समेत गुनासो गरे।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले चुनावमा जानेबारे पार्टीले आधिकारिक निर्णय नगरे पनि सरकारको निर्णय कुरेको बताए।
‘डेमोक्रेटिक पार्टी, चुनावबाट पर जाने कुरा हामी सोच्दैनौँ,’ खड्काको भनाइ उद्धृत गर्दैै सहभागी एक नेताले नेपालखबरसँग भने, ‘तर हामीले औपचारिक, आधिकारिक निर्णय गरिसकेका छैनौँ, किनकि सरकारले जे गरिरहेको छ, चुनाव हुने वातावरण बनिराखेको छैन।’
‘त्रास, भय, असुरक्षाको वातावरण छ, बदलाभावका गतिविधिहरू, त्रास र भयको कारण सुरक्षा निकायको मनोबल गिरेको छ यस्तो अवस्थामा चुनाव कसरी हुन्छ? सरकारले जवाफ देओस्,’ खड्काले थपे।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सरकारबाट दललाई ढुक्क हुने वातावरण नबनेको गुनासो गरे।
‘चुनावमा नजाने भन्ने हुँदैन, तर यस्तो परिस्थतिमा चुनाव हुन्छ भन्ने सरकारले आधार दिनुपर्यो। संशय छ, शंका छ,’ पोखरेलको भनाइ थियो, ‘सरकारले सुरक्षाको प्रत्याभूति दिन सकेको छैन, सरकारमै रहेका मन्त्रीहरूको अभिव्यक्तिले विश्वास गर्न सकिने अवस्था छैन, यस्तो अवस्थामा भयरहित वातावरणमा चुनाव हुन्छ भनेर विश्वास कसरी गर्ने? एमालेलाई आज चुनाव हुन्छ भनेर विश्वास दिलाउनुपर्यो। लोकतन्त्रमा चुनावमा नजाने भन्ने हुँदैन, तर त्यसका लागि वातावरण चाहियो।’
एमालेबाट छलफलमा महासचिव शंकर पोखरेल पनि शीतल निवास पुगेका थिए।
चुनावमा जाने औपचारिक निर्णय गरेर चुनावी तयारी समेत थालिसकेको माओवादीले पनि चुनाव भइहाल्ने सम्भावना सरकारले देखाउन नसकेको भन्दै तत्काल सुरु गर्न सुझाव दियो। माओवादीका नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन बैठकमा थिए।
‘हामी घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ, त्यो नै राष्ट्रको केन्द्रीय भार हो, त्यसका निम्ति सरकारले काम गर्नुपर्छ, ध्यान केन्द्रित गर्नुपर्छ र सरकारलाई सफल पनि पार्न पर्छ। सहयोग गर्न हामी पनि छौँ,’ बैठकमा श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै अर्का सहभागीले भने, ‘यो स्थिति अन्त्य नगरेसम्म स्वच्छ, निष्पक्ष निर्वाचन गर्ने स्थिति बन्दैन, त्यसमा ध्यान दिनुस् भनेर उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।’
कांग्रेस–एमाले बाहेक सहभागी सबै दलले घोषित मितिमा चुनाव नभए देशमा ठूलो संकट आउने भएकोले सरकारले विशेष तयारी थाल्नुपर्ने बताएका थिए।
‘धेरै पार्टीले चुनावबाट भाग्ने स्थिति छैन, चुनाव गर्नुपर्छ। चुनाव नभए झन् संकट निम्तिन्छ भनेर सबै दलका सहभागीले भन्नुभयो,’ एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन्। दलका कुरा सुनेपछि उनले आगामी फागुन २१ गते तोकिएकै समयमा सबै दलको साथ लिएर चुनाव गराउने प्रतिबद्धता जनाइन्।
‘हामी चुनाव जसरी पनि गर्छाैँ, वातावरण बनाउँछौँ, तपाईंहरूले साथ दिनुपर्यो,’ कार्कीले भनाइ थियो, ‘मैले अस्ति नै सर्वदलीय बैठक राखेर कुरा गर्ने तयारी गरेको पनि थिएँ तर जेन—जीका विभिन्न मागमा अल्झिनु परेर व्यस्त हुने बाध्यता भयो। हामी दलहरूलाई सुरक्षा दिन्छौँ, केही गर्ने भनेर हामी आएका हौँ, जेन–जी भनेका तपाईंहाम्रै छोरानाति हुन्। तिनीहरूपनि नेतृत्वविहीन छन्। फकाउनुस्।’
उनले थपिन्, ‘उनीहरूले किन यस्ता असन्तोष प्रकट गरिरहेका छन् भन्ने बुझेर पविर्तनलाई आत्मसात गरेर हामी अगाडि बढौँ, सबै मिलेर चुनाव सम्पन्न गरौँ, सबैको एजेन्डा चुनाव हो। दलहरूको सहभागिताबिना चुनाव हुँदैन भन्ने हामीलाई थाहा छ, त्यसकारण सबै दल मिलेर चुनावमा गइदिनुस् सरकारले दिने सबै सुरक्षा दिन्छ। सबै तयारी छ। चिन्ता गर्नुपर्दैन, बजेट, मतदान सामग्रीको अभाव छैन। सुरक्षाको चिन्ता गर्नुपर्दैन हामी गर्छाैँ।’
अब राजनीतिक दलसँग सिंहदरबारमा छलफल गर्ने पनि प्रधानमन्त्रीले बताइन्।
‘राष्ट्रकै अभिभावक भएकोले यो एकपटक दलसँग संवाद गर्न हामीले नै राष्ट्रपतिज्यूलाई आग्रह गरेको हो,’ कार्कीले भनिन्, ‘अब यस्ता छलफल सिंहदरबारमा हुन्छ तपाईंहरूलाई मै बोलाउँछु।’
सबै दल र प्रधानमन्त्रीको कुरा सुनेपछि राष्ट्रपतिले चुनावमा जान र संविधान तथा व्यवस्था जोगाउन आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
‘तपाईंहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्नुहोला त, निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्याउला? यो सोच्नुपर्ने विषय हो,’ राष्ट्रपतिले भने, ‘यो व्यवस्था र संविधान चुनावले मात्र जोगिन्छ।’
Shares

प्रतिक्रिया