मंगलबार सहिद श्रेयम चौलागाईँका बुवा गणेश चौलागाईँ अन्य सहिद परिवारसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर, काठमाडौँ पुगेका थिए। तर, प्रहरीले उनीहरूको जाहेरीमा अनुसन्धानको प्रक्रिया अघि बढाएन। बरू प्रहरीले न्यायिक जाँचबुझ आयोगमा पठाइदियो।
आयोगले बिहीबार उक्त जाहेरी फेरि प्रहरीमै फर्काइदिएको छ। जाहेरी लिएर फौजदारी अनुसन्धान गर्ने काम आफ्नो नभएको र यो काम प्रहरीले नै गर्नुपर्ने ठहरसहित आयोगले पुनः प्रहरीमै फर्काइदिएको हो। तर, आयोगको यस निर्णयपछि प्रहरीले जाहेरीका विषयमा थप कुनै प्रक्रिया अघि बढाइसकेको छैन।
प्रहरीको यस रवैयालाई लिएर सहिद परिवार रूष्ट छन्।
सहिद श्रेयमका बुवा गणेश भन्छन्, ‘हाम्रो मुख्य माग नै कलेज ड्रेसमा भएका कलिला बालबालिकालाई टाउकोमा ताकीताकी गोली हानेर मार्न आदेश दिने केपी ओली र रमेश लेखकलाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउनुपर्छ भन्ने हो। यति नभएसम्म हामी चुप बस्दैनौँ।’
कलेज ड्रेसमै रहेका श्रेयमको टाउकोमा प्रहरीले भदौ २३ गते बानेश्वरको सडकमा गोली प्रहार गरेको थियो। गोली लागेपछि निजामती कर्मचारी अस्पतालबाट ट्रमा सेन्टर पुर्याइएको थियो। ट्रमाले त्यसै दिन उनको मृत्यु भएको घोषणा गरेको थियो।

श्रेयमजस्तै २१ जनाको ज्यान त्यसै दिन गएको थियो। भोलिपल्ट झन् ठूलो प्रदर्शन र विध्वंश भयो। त्यस क्रममा अझै धेरै मानवीय क्षति भयो। जेनजी विद्रोहकै बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको छ। तर, जेनजी आन्दोलन भएको एक महिना पूरा भइसक्दा पनि दोषीमाथि कारबाहीको प्रक्रिया अघि नबढाएको भन्दै सहिद परिवार तथा घाइतेहरूको गुनासो छ।
सहिद परिवार आफ्ना कुरा सुनाउन प्रत्येक दिनजसो सिंहदरबारदेखि बालुवाटारसम्म धाइरहेका छन्। सिंहदरबार छिर्नको लागि समेत घण्टौँ बाहिर कुर्नुपरेको उनीहरूको गुनासो छ। केही दिनयता सहिद परिवारलाई तीन वटा मन्त्रालयको नेतृत्व दिनुपर्ने माग उनीहरूले गर्न थालेका छन्। साथै आश्रित परिवारको जीविकाकै जिम्मा लिनुपर्ने माग पनि उनीहरूको छ।
छोराछोरी सहिद भएको एक महिना बितिसक्दा पनि सरकारले आफूहरूको मागलाई नजरअन्दाज गरेको भनी ‘सहिद परिवार संघर्ष समिति’ले बिहीबार पत्रकार सम्मेलन नै गरी असन्तुष्टि जनाएको थियो।
‘हाम्रा मागमा खेलवाड गर्ने र हामीलाई जिस्क्याउनेतिर नलाग्नुहोला’ भन्दै प्रधानमन्त्रीलाई समेत उनीहरूले चेतावनीसहितको ज्ञापनपत्र दिएका छन्। एक हप्ताभित्र माग पूरा नभए सशक्त रूपमा सिंहदरबारभित्रै छिरेर आन्दोलन गर्न तयारी अवस्थामा रहेको सहिद परिवारको भनाइ छ।
बालेनसँग पनि गुनासो
जेनजी आन्दोलन गराउन र नयाँ सरकार गठन गर्न सक्रिय रूपमा संलग्न रहेका काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) बाट पनि हालसम्म जेनजी सहिदको न्यायको लागि कुनै किसिमको सहयोग नपाएको गणेश चौलागाईँ बताउँछन्।
शाह भदौ ३१ गते पशुपति आर्यघाटमा भएको जेनजीहरूको अन्येष्टिमा समेत देखापरेका थिएनन्।
‘सहानुभूति त पाएनौँ नै, न्यायका लागि साथ पनि पाइरहेका छैनौँ,’ सहिद परिवारको भनाइ छ।
गणेशले विभिन्न कुरामा जेनजी परिवारको नाम समेटिएको तर कुनै पनि कुरामा आफूहरूलाई संलग्न नगराइएको पनि बताए।
सहिद रसिक खतिवडाकी आमा भन्छिन्, ‘एउटी नारी, आमाले बरु आफ्नो चरित्रमा उठेको प्रश्न सहन सक्छे तर उसको सन्तानको पीडा सहन सक्दिन। यदि मेरो छोराले न्याय नपाए म एक नारी हुँ, मैले दुर्गा, कालीको रूप लिन पनि सक्छु।’

रसिकलाई पनि भदौ २३ गते छातीमा र पेटमा गोली लागेको थियो। छोरालाई हेर्न जाँदा रसिककी आमा बेहोस नै भएकी थिइन्।
आन्दोलनमा घाइते भएकाहरू हालसम्म पनि उपचाररत छन्।
यस्ता कयौँ सहिद परिवार र घाइतेहरू छन्, जसले आन्दोलनमा आफ्ना बालबालिकाका हत्यारामाथि कारबाही हुनुपर्ने भन्दै विभिन्न निकायमा याचना गरिरहेका छन्। तर, सरकारले न्यायको आशा जगाउन नसकेको उनीहरूको गुनासो छ।
दिएको जाहेरी पनि एउटा निकायले अर्कोमा र अर्कोले झन् अर्कोमा पठाइरहेका छन्। यस्तो अवस्थामा उनीहरूको चिन्ता र आक्रोश झन् बढिरहेको छ। सहिद परिवारहरूको साझा प्रश्न छ, ‘के यही दिन देख्नका लागि हाम्रा छोराछारी सडकमा गोली थाप्न पुगेका हुन्? यस्तो मानवताविराधी अपराधमा पनि यतिका दिनसम्म कोही पक्राउ नपर्ने भन्ने हुन्छ?’

प्रतिक्रिया