नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूले चुनाव र संसद् पुनर्स्थापना दुवै विकल्पमा खुला रहेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।
पार्टी कार्यालय सानेपामा बिहीबारदेखि निरन्तर बसिरहेको बैठकमा नेताहरूले सो धारणा राखेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
जेन–जीको आन्दोलनपछि फागुन २१ गते चुनाव गराउने म्यान्डेट दिएर सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ। सरकारले चुनावी तयारी तीव्र पारेको छ। तर, दलहरूले भाग लिने नलिने प्रष्ट भइसकेको छैन।
यही अवस्थामा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरूले चुनावमा जानुपर्ने धारणा राखेको महतले जानकारी दिए। ‘संवैधानिक प्रबन्धअनुसार त यो सरकार बनेको होइन तर निर्वाचन गर्ने तिथिमिति तोकिएको छ। कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न,’ महतले भने।
तर सरकार निष्पक्ष रूपमा चुनावको वातावरण बनाउन गम्भीर नदेखिएकोले विश्वास गरिहाल्ने आधार नबनेको उनी बताउँछन्। ‘त्यसैले निर्वाचन गराउँछ कि गराउँदैन हेर्नुपर्छ, संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ,’ उनले थपे।
कांग्रेसको असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बसेको हो। बैठकले चुनाव, पार्टीको महाधिवेशन लगायत केही एजेन्डा तयार पारेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बताइन।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमै नियमित महाधिवेशन गर्ने गरी तालिका ल्याउने बताएका छन्।
उनीहरूको अगुवाइमा मंसिरमा महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने भन्दै हस्ताक्षर संकलन पनि गरेका छन्।
बैठकमा बिहीबार १२ र शुक्रबार १३ जनाले धारणा राखेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
Shares

प्रतिक्रिया