राजनीति


पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा

पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा

सन्तोष अधिकारी
असोज २३, २०८२ बिहिबार १३:३०, काठमाडौँ

नेपाली कांग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेको छ। 

अब बस्ने केन्द्रीय समिति बैठकबाट निर्णय गरेरै खड्कालाई कार्यवाहक दिन लागिएको हो। सभापति देउवाले पनि खड्कालाई जिम्मेवारी दिने संकेत आफूनिकटहरुलाई दिइसकेका छन्।  

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेताहरुले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएर विशेष महाधिवेशन मागको तयारी गरेसँगै देउवाले त्यसलाई छल्नलाई कार्यवाहक तोकेर महाधिवेशनको कार्यतालिका ल्याउने खोजेका हुन्। 

देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘आउने केन्द्रीय समिति बैठकमा सभापति सहभागी हुने कुरा छ। उक्त बैठकपछि पहिलो वरीयताको उपसभापतिलाई कार्यवाहक दिएर महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सभापतिले संकेत गरिरहनु भएको छ।’ 

असोज २६ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकको एजेन्डा टुंग्याउने आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दैछ।

आज बिहानमात्रै पूर्णबहादुर खड्कासहितका नेताहरु कृष्ण सिटौलाको निवासमा पुगेका थिए। त्यहाँ भएको छलफलमा पनि खड्काले यसबारे खुलाएका थिए। 

‘अब कार्यवाहक दिएर महाधिवेशन कार्यतालिका आउने तहमा कुरा पुगेको छ सभापतिले पनि यहीखाले कुरा गर्नु भएको छ’ सिटौलासहितका नेतालाई खड्काले ब्रिफिङ गरेका थिए।

केही नेताले विशेष महाधिवेशनको कुरा गरेपछि सिटौला रिसाएका थिए। ‘सभापतिले कार्यवाहक दिने कुरा उहाँको स्वविवेकको कुरा भयो। तर अहिले केहीले विशेष महाधिवेशनको कुरा छ यो त वाइयात कुरा हो,’ सिटौलाले भने, ‘देश, संरचना, नेताका घर सबै जलाए अब पार्टी पनि जलाउने? यो विशेष महाधिवेशनको कुरा कसैले नगरौँ हस्ताक्षर कसैलाई नगर्न भनौँ।’  

आजको पदाधिकारी बैठकले २६ गतेको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्दा कार्यवाहक सभापति र महाधिवेशनको तालिका विषयको विषय पनि समावेश गर्ने तयारी छ। 

‘आजको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अहिले बाहिर आएका पार्टीका सबै विषयलाई छलफलको केन्द्र बनाएर कुरा हुन्छ’ पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले नेपालखबरसँग भने।    
 
भदौ २४ गतेको जेनजी आन्दोलनकारीको आक्रमणमा परेका सभापति देउवा र कांग्रेस नेतृ आरजु राणा देउवा त्यसयता सार्वजनिक भएका छैनन्। उनीहरु कहाँ छन् भन्नेसमेत खुलाइएको छैन। आज आफैँले डाकेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पनि देउवा सहभगाी हुने छैनन्।  

असोज २६ गतेको केन्द्रीय समिति बैठकमा भने देउवा सहभागी हुनेछन्। २६ गतेको बैठकको सुरुवात मात्रै देउवाले गर्नेछन्। त्यसपछिको बैठक पनि खड्काले नै सञ्चालन गर्नेछन्।  

देउवा दम्पतीले सत्तामै हुँदा जेनजी आन्दोलनकारीको आक्रमण भोग्नुपरेको थियो। त्यसयता उनीहरूले आफू बसिरहेको स्थान खुलाएका छैनन् तर टाउकोमा गम्भीर चोट लागेर आराम गरिरहेका देउवा पछिल्लो समय भने पार्टी राजनीतिमा सक्रिय भएका छन् भने नेताहरुसँगको भेटघाट पनि बाक्लो बनाइरहेका छन्।  उनले पछिल्लो समय स्वकीय सचिव भानु देउवाको मोबाइल नम्बरमार्फत नेताहरुसँग कुराकानी पनि बाक्लो बनाइरहेका छन्।   
 
पार्टीभित्र सभापति पदबाट देउवालाई हटाउन हस्ताक्षर अभियान चलिरहेको छ। महामन्त्रीद्वयले विशेष महाधिवेशन भन्दै हस्ताक्षर संकलन गरेका छन्। यसका लागि उनीहरुलाई नेता शेखर कोइराला समूहले पनि साथ दिएको छ।   

४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएर विशेष महाधिवेशन डाक्न सकिने व्यवस्था कांग्रेस विधानमा उल्लेख छ।  २६ गतेको केन्द्रीय समिति बैठकअघि हस्ताक्षर बुझाउने तयारीमा महामन्त्री थापा र शर्मा छन्।  

महामन्त्रीहरुले भनेजस्तो विशेष महाधिवेशनतर्फ नलागि नियमिति महाधिवेशन गर्न देउवानिकटहरु पनि तयार देखिन्छन्। यसअघिकै महाधिवेशन प्रतिनिधिलाई कायम राखेर वा छोटो समयलाई अनलाइन आवेदनमार्फत सदस्यता नवीकरण र वितरणको काम गरी नियमित महाधिवेशनमा देउवानिकटका जोड छ। कांग्रेस १५ महाधिवेशन नियमित मितिमा भए आगामी मंसिरमा हुनुपर्ने हो।  
 
यसबारे पनि आज सिटौला निवासमा छलफल भएको थियो। सिटौलासँगको छलफलमा उपसभापति खड्का,  केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, अब्दुल सतार, गुरू बराल, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, कुन्दनराज काफ्लेलगायत पुगेका थिए।   

यहाँ नै देउवाले कार्यवाहक दिने संकेतबारे खुलाएका थिए। कांग्रेस विधानअनुसार पार्टी सभापति जम्मा २ पटक हुन पाइन्छ। अहिले देउवाको दोस्रो कार्यकालको अन्तिम समय चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad