राजनीति


बालेन र सुदनविरुद्ध अनेरास्ववियुले जाहेरी दिएपछि सुमनाको टिप्पणी: विद्यार्थीलाई गोली हान्यो, मतलब छैन

बालेन र सुदनविरुद्ध अनेरास्ववियुले जाहेरी दिएपछि सुमनाको टिप्पणी: विद्यार्थीलाई गोली हान्यो, मतलब छैन

नेपालखबर
असोज २२, २०८२ बुधबार ६:४, काठमाडौँ

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले जेनजी आन्दोलनमा भएका तोडफोड, लुटपाट र आगजनीमा दोषी रहेको दाबी गर्दै काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र जेनजीका अगुवा सुदन गुरुङ (सुधन) विरुद्ध किटानी जाहेरी दिएको नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको आलोचना गरेकी छन्। 

आन्दोलनका क्रममा युवा मारिएको घटनामा तत्कालीन प्रधानमन्त्री एवं आफ्नो माउ पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मंगलबार जेनजीले काठमाडौँ जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी दिएपछि अनेरास्ववियु प्रतिवादमा उत्रिएको हो।

अनेरास्ववियुको उक्त कदमप्रति हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी निवर्तमान सांसद श्रेष्ठले विरोध जनाएकी हुन्। 

विद्यालय/क्याम्पसको पोसाकमै रहेका विद्यार्थीलाई गोली हानेकामा भने विद्यार्थी संगठनलाई मतलब नभएको तर गोली हान्न आदेश दिने दलको प्रमुखविरुद्ध जाहेरी दिँदा जाइलागेको टिप्पणी श्रेष्ठले गरेकी छन्। 

यसैकारण दलीय भ्रातृ संगठन खारेज गरिनुपर्ने माग पनि उनले राखेकी छन्।

‘युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्यो- मतलब छैन विद्यार्थी संगठनलाई! तर गोली चलाउन आदेश दिने दलको प्रमुखमाथि उजुरी गर्‍यो, तुरन्त जाइलाग्यो’, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यसैले दलीय भ्रातृ संगठन- चाहे त्यो विद्यार्थीको होस् वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नुपर्छ! सम्मानित पेसालाई सम्मानित रहन देऊ! विद्यार्थीलाई विद्यार्थी रहन देऊ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad