राजनीति


धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार

धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार

नेपालखबर
असोज १२, २०८२ आइतबार १५:५९, काठमाडौँ

चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन्। 

सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन्। उनले भने, ‘चाडपर्व सुरु हुँदा प्रत्येक वर्ष धरानको कृषि बजारमा आउने गरेको छु। यो पटक १५ वटा खसीबोका ल्याएको छु, अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाँकी बेच्नुपर्ने छ।’

धनकुटाको सागुरीगढी गाउँपालिका-७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री गर्दै आएकी छन्। ‘पशुपालन हाम्रो पुर्ख्यौली पेसा हो, गाउँमा घाँस पाइन्छ, अन्न र दाना किन्नुपरे पनि व्यापारमा नोक्सानी हुँदैन’, उनले भनिन्। उनका अनुसार वार्षिक रूपमा खसीबोका बिक्री गरेर रु नौ लाखभन्दा बढी आम्दानी हुने गरेको छ।

सुनसरीको दुहबी नगरपालिका-५ का व्यापारी नैसात मियाँ हरेक हप्ता बिहीबार र शुक्रबार धरानबाट खसीबोका खरिद गर्दै आएका छन्। 

उनले एक दिनमा १०० देखि एक सय ५० वटासम्म खसीबोका किनेर झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरलगायत स्थानमा बिक्रीका लागि पठाउन गरेको  जानकारी दिए। ‘यो व्यवसाय गरेको ३१ वर्ष भयो, अहिले मासिक रु ८० हजारदेखि रु एक लाखसम्म नाफा हुन्छ’, उनले भने।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्ता दुई दिन सञ्चालन हुने यस बजारमा दैनिक करिब चार हजार ५०० वटा खसीबोका बिक्री हुने गरेको छ। 

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक लाख २० हजारभन्दा बढी खसीबोका बिक्री हुँदा करिब रु दुई अर्ब ४० करोड बराबरको कारोबार भएको उनले जानकारी दिए। 

प्रत्येक वर्षको भदौदेखि अत्यधिक खसीबोका कारोबार हुने जनाउँदै अध्यक्ष भट्टराईले यो वर्षको भदौमा भने कारोबार कम भएको बताए। ‘साउनमा लगातार वर्षा हुँदा ढुवानीमा समस्या भयो। 

भदौमा जेन-जी प्रदर्शनका कारण व्यापारमा डर सिर्जना भयो र यातायात अवरुद्ध हुँदा गत वर्षको तुलनामा यस वर्ष खसीबोका किनबेचमा कमी आएको हो’, उनले भने।

धरानको कृषि बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीलगायत तराई क्षेत्रबाट व्यापारी तथा किसान खसीबोका बिक्रीका लागि आउने गरेका छन्। 

यहाँबाट बिक्री भएका खसीबोका मुलुकका प्रमुख सहर हुँदै भारतसम्म पनि निर्यात हुने गरेको धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad