जेनजी आन्दोलन दनम गर्ने र भ्रष्टाचारमा नाम मुछिएका नेता तथा तिनका परिवारको राहदानी रोक्का गर्ने विषय अध्ययनकै चरणमा रहेको सरकार प्रवक्ताले बताएका छन्।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै यसबारे अध्ययन भइरहेको बताएका हुन्।
‘पासपोर्ट रोक्काको सन्दर्भमा खास गरी भ्रष्टाचार, अनियमितता, विभिन्न अपराधसँग जोडिएका ठूला-साना जेसुकै अवस्था हुन्, राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको छ। राहदानीको सन्दर्भमा पनि केकसो गर्ने भनेर अध्ययन अघि बढेको छ,’ खरेलले भने।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा देउवा, ओली सरकारका गृहमन्त्री रमेश लेखकलगायत विदेश भाग्न सक्ने भएकाले उनीहरूको राहदानी रोक्का राखी तत्काल छानबिन अघि बढाउनुपर्ने माग जेनजीहरूले सरकारसमक्ष राखिरहेका छन्। विभिन्न समूहले प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको भेटमा पनि आन्दोलन दबाउने र भ्रष्टाचार गर्ने नेताहरूलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाउनुपर्ने भन्दै दबाब पनि दिइरहेका छन्।
कांग्रेस सभापति देउवा र कांग्रेसकै नेता दीपक खड्का, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका घरमा आन्दोलनकारीहरूले ठूलो मात्रामा नगद रकम भेटिएको भन्दै भिडिओहरू सामाजिक सञ्जालमा राखेका थिए।
Shares

प्रतिक्रिया