राजनीति


जेनजीलाई बाबुरामले भने- प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म स्थायित्व आउँदैन, बलिदान खेर जान्छ

जेनजीलाई बाबुरामले भने- प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म स्थायित्व आउँदैन, बलिदान खेर जान्छ

नेपालखबर
असोज ९, २०८२ बिहिबार १२:५१, काठमाडौँ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हालको राजनीतिक परिवर्तनलाई ‘आंशिक सफलता’ मात्र भएको भन्दै दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने धारणा राखेका छन्।

पार्टीको अध्यक्ष त्याग गरेको भोलिपल्ट बिहीबार पत्रकार सम्मेलन गर्दै जेनजीको आन्दोलनका कारण सरकार ढलेको तर पुरानो सत्ता नढलेको उल्लेख गरे।

‘तपाईंहरुले आंशिक जित हासिल त गर्नुभयो, सरकार त ढाल्नुभयो,’ भट्टराईले भने, ‘तर, पुरानो सत्ता ढलेको छैन।’ उनका अनुसार, सत्ता परिवर्तन भए पनि मुलुकमा राजनीतिक स्थायीत्व र सुशासन सुनिश्चित हुन सकेको छैन।

भ्रष्टाचार र अस्थायीत्व जन्माउने संरचना तोड्न व्यवस्थागत सुधार अपरिहार्य भएको भट्टराईको भनाइ छ। उनले भने, ‘व्यवस्था नै बदल्न खोजेको त होइन, तर व्यवस्थामा महत्वपूर्ण सुधार गरेर जुन भ्रष्टहरु जन्मिए, फेरि भ्रष्टहरू नजन्मिउन। त्यसका लागि केही सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ।’

संविधान निर्माणको समयदेखि नै निर्वाचन प्रणालीमा त्रुटि रहेको उनले स्मरण गराए। ‘मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास खाली, आधा गिलास भरी भनेको थिएँ। किनकी यो शासकीय त्रुटि छ, त्यसले गर्दा कसैलाई पनि बहुमत ल्याउन दिँदैन,’ भट्टराईले स्पष्ट पारे।

उनले वर्तमान प्रणालीलाई स्थायित्वत्वविहीन ठहर गर्दै भने, ‘कुनै पनि सरकारलाई ५ वर्ष टिक्न दिँदैन। जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन, त्यतिबेलासम्म सुशासन र समृद्धि हुँदैन।’

समाधानको उपाय सुझाउँदै भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई विकल्पका रूपमा अघि सारे। ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन। यिनै भ्रष्टहरु चलखेल गरेर फेरि आउने र तपाईंहरूको बलिदान खेर जान्छ,’ उनले चेतावनी दिए।

त्यसैले उनले जेनजीहरुलाई सरकारसँग संवाद गरेर व्यवहारिक सम्झौता खोज्न सुझाव दिए। ‘तपाईंहरुले प्रष्ट रुपमा व्यवस्थितरुपमा यो सरकारसँग वार्ता गरेर व्यवस्थितरुपमा केही न केही सम्झौता हुनुप¥यो,’ भट्टराईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad