नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुनमा तय भएको प्रतिनिधि सभाको चुनावअगाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।
अहिले पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको पदाधिकारी बैठकका आकस्मिक बैठकमा बोल्दै प्रचण्डले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले पार्टीलाई पुनर्गठन गर्नुपर्ने भएको बताए।
उनले त्यसका लागि अबको एकहप्ताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव पनि राखेका छन्।
देशको वर्तमान अवस्था, पछिल्ला राजनीतिक घटनाक्रमको विकास र माओवादी पार्टीले लिने कदमबारे बोल्दै प्रचण्डले सबै समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेको एक पदाधिकारीले बताए।
‘मंसिरमा महाधिवेशन गरौँ, सबै समिति भंग गरेर आयोजक समिति बनाऊँ,’ प्रचण्डको भनाइ उदधृत गर्दै ती पदाधिकारीले भने, ‘आयोजक समितिको संयोजक मात्र बनाएर जाउँ, अहिले भएका केन्द्रीय, स्थायी र पदाधिकारी सबै खारेज गरौँ, यसको लागि अबको एकहप्ताभित्र आकस्मिक केन्द्रीय समितिको बैठक राखौँ र निर्णय गरौँ।’
यस्तै प्रचण्डले पार्टीलाई जरैदेखि पुनर्गठन गर्ने पनि बताए। ‘वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशनमा युवा र जेनजीलाई कोटा निर्धारण गरेर जानुपर्छ, अब माओवादी पार्टीको पुरै पुनर्गठन गर्ने बेला आयो, अहिले नै गर्नुपर्छ,’ प्रचण्डले बैठकमा भने, ‘विशेष परिस्थिति आयो, अब सबै पुनर्गठन गरेर जाऊ।’
जेनजीले भदौ २३ गते देशका केही जिल्लामा प्रदर्शन गरेका थिए। तर, सो शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्न पुगेपछि प्रहरीले गोली चलाएको थियो। जसमा परेर २१ जना युवाको ज्यान गयो। आक्रोशित युवाले भदौ २४ गते देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाडेको थिए।
त्यसपछि जेन–जीकै माग अनुसार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन्। उनले संसद विघटन गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव तोकिएको छ।
चुनाव र महाधिवेशन सँगसँगै तयारी गर्ने
माओवादी केन्द्रले चुनाव र महाधिवेशन सँगसँगै गर्ने भएको छ। मंसिरमा महाधिवेशन गरेर फागुनको चुनावमा होमिने प्रचण्डको प्रस्ताव छ।
चुनावमा जाने एजेन्डासमेत प्रचण्डले प्रस्ताव गरेको अर्का नेता बताउँछन्।
‘हामीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचनदेखि अरु राजनीतिक एजेण्डा जति पनि छन्, अहिले जेन–जीले पनि कतिपय तिनै कुरा उठाइरहेका छन्,’ बैठकमा प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनसहितका विषय हामीले पहिला उठाएका थियौँ, अहिले जेनजीले उठायो।’
संविधान संशोधन मात्र होइन, परिमार्जनको एजेन्डालाई समेत अगाडि लैजानुपर्ने प्रचण्डको अर्काे प्रस्ताव छ। ‘पहिला उठाएका कुरा फेरि उठाएर जानुपर्यो। हामीले छोडेकैले अरुले एजेण्डा उठाउँछन्, यसपटकको चुनावमा त्यही हिसाबले तयारी गरेर अघि बढौँ,’ प्रचण्डको थप भनाइ छ।
एकघण्टा बोलेका प्रचण्डले पार्टीभित्रको आन्तरिक समस्याको निकास पनि महाधिवेशनको मिति तय भएपछि हल हुने बताए। उपमहासचिव जनार्दन शर्माले महाधिवेशन माग गरिरहेका छन्। जेनजीको प्रदर्शनपछि प्रचण्डलाई राजीनामाको दबाब दिएका थिए।
चुनाव नभए संसद व्युँतन्छ–अनि रणनीति बनाउला अध्यक्ष प्रचण्डले कार्की नेतृत्वको अन्तरिम सरकारले निर्धारित समयमा चुनाव गराउन नसकेका प्रतिनिधि सभा स्वतः व्युँतने बताए।
‘६ महिनामा चुनाव भएन भने स्वतः यो संसद् व्युतन्छ। त्यतिखेर संसदले नयाँ सरकार बनाउनुपर्छ, के गर्ने त्यही बेला रणनीति तय गरौँला,’ प्रचण्डको भनाई अर्का नेताले उद्धृत गर्दै भने।
प्रचण्डले राखेको प्रस्तावमा अहिले पदाधिकारीले आफ्नो धारणा राखिरहेका छन्।
Shares

प्रतिक्रिया