सुदन गुरुङ पछिल्लो दुई हप्ता सबैभन्दा चर्चितमध्येका एक नेपाली युवा हुन्।
भदौ २३ गते सुरु भएको जेनजीको प्रदर्शनमा पानी वितरण र स्वयसेवक बनेर काठमाडौँको माइतीघर मण्डलामा देखा परेका उनी अहिले जेनजीकै प्रतिनिधि बनेका छन्।
उमेर ३८ वर्ष पुगिसकेका उनी भदौ २४ गतेपछि त उनी जेनजीसँग सम्बन्धित सबै छलफलमा प्राय: सहभागी हुने गर्छन्। सरकारी पक्षले पनि उनलाई प्रतिनिधित्व गराउने गरेको छ।
उनलाई भदौ २७ गते शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा सहभागी गराएरै महत्त्व दिएको देखिन्छ।
सो दिन उनले प्रधानमन्त्री कार्कीको खुट्टै ढोगे। उनै गुरुङ आज संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पनि निम्त्याइयो।
उनी यसअघि शीतलनिवास जाँदाभन्दा फरक लवाइ र शैलीमा देखिए। आज उनी कालो चस्मा, कोर्ट, सर्ट र पाइन्टमा ठाँटिएका थिए। यसअघि उनी आफ्नै एनजीओ हामी नेपाल लेखेको हाफ ज्याकेट लगाएर शीतल निवास पुगेका थिए।
आज उनले शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीलाई ढोगे। उनले प्रधानमन्त्री कार्कीसँग छोटो कुराकानी पनि गरे। कार्कीको गालासमेत छोएका थिए।
यसबाहेक उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग ४ मिनेट कुराकानी गरे। कुराकानी जेनजी आन्दोलन र यसका उपलब्धी रक्षाका विषयमा केन्द्रित भएको उनले नेपालखबरलाई जानकारी दिए।



Shares

प्रतिक्रिया