नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनको काम तत्काल सुरु गर्नुपर्ने बताएका छन्। थापाले यसका लागि दुई वटा विकल्प अघि सारेका छन्। उनले यसका लागि नियमित समयमा महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्नेबाहेकको अन्य विकल्प नभएको बताएका हुन्।
पहिलो विकल्प- नियमित महाधिवेशन
उनले पार्टीको विधानअनुसार पार्टीको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिने र अब म्याद थप गर्न नलाग्न प्रस्ताव गरेका छन्।
'पार्टीको विधान अनुसार पार्टीको वर्तमान कार्यसमितिको कार्यकाल मंसीरमा सकिन्छ। अब म्याद नथपौँ, यो परिस्थितिमा थप्न मिल्दैन। नियमित अधिवेशन २०८२ मंसीर मसान्तभित्र गर्न सकिन्छ, गरौँ,' थापाले भने, 'हालको क्रियाशील सदस्य यथावत् कायम राखेर १ महिनाको लागि नयाँ क्रियाशील सदस्यता लिने समय तोकौं र त्यही क्रियाशील सदस्यबाट अधिवेशन गरौँ।'
दोस्रो विकल्प- विशेष महाधिवेशन
उनले अहिलेको अवस्थामा केन्द्रीय कार्यसमितिले नै आवश्यक निर्णय गरेर विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न भनेका छन्।
'विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाइ केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ,' उनको प्रस्ताव छ,'अहिलेको विशेष परिस्थितिमा पार्टीको केन्द्रीय कार्यसमितिले नै आवश्यक निर्णय गरेर तत्काल विशेष महाधिवेशन गरौं र नयाँ नेतृत्व चयन गरौँ।'
तत्काल पार्टी पुनर्गठनका लागि यी २ बाहेक अन्य विकल्प नभएको थापाको ठहर छ। यसरी आउने नेतृत्वले मात्र अहिलेको अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न सकिने उनले बताएका छन्।
'यसका लागि सबै तयार होऔं। अब बस्ने केन्द्रीय समिति को बैठकले यो विषयमा निर्णय गर्नै पर्छ' थापाले भनेका छन्।
थापाले पार्टी यतिबेला विशेष चुनौतीपूर्ण अवस्थामा रहेको र घाइते भएको भनेका छन्। यति हुँदाहुँदै पनि कांग्रेसका अगाडि दायित्व र जिम्मेवारी रहेको उनी बताउँछन्।
गगनले देखेका पार्टीका ५ दायित्व
१. भदौ २३ र २४ गते युवा पुस्ताको आन्दोलनबाट व्यक्त भावना, खासगरी सुशासन र भ्रष्टाचारमुक्त देश र समाज निर्माण गर्ने दायित्व।
२. आन्दोलनका क्रममा भएका घुसपैठ र अवाञ्छित क्रियाकलापबाट भएको धनजनको क्षतिको छानबिन गरी दोषीलाई दण्डित गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने दायित्व।
३. लामो संघर्षपछि नेपाली जनताले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्दै मुलुकलाई लोकतान्त्रिक प्रक्रियाबाटै समुन्नतिको यात्रामा डोर्याउने दायित्व।
४. नेपाली कांग्रेसले स्थापनाकालदेखि आजसम्म जुनसुकै कठिन अवस्थामा पनि सम्झौता नगरेका राजनीतिक मूल्य-मान्यता-अहिंसा, नागरिक स्वतन्त्रता, विधिको शासन लगायतका मूल्यलाई जोगाउने दायित्व।
५. पार्टीको यो दायित्व र जिम्मेवारी पूरा गर्नका लागि आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तन गर्नुपर्नेछ, पार्टीको पुनर्गठन गर्नुपर्नेछ। तर, त्यो विधिसम्मत तरिकाले हुनुपर्छ, गर्न सकिन्छ।
Shares

प्रतिक्रिया