राजनीति


गगन-विश्वले भने: वैधानिक बाटोबाटै समाधान खोजौँ, विधिविहीनताले थप अराजकता निम्त्याउँछ

गगन-विश्वले भने: वैधानिक बाटोबाटै समाधान खोजौँ, विधिविहीनताले थप अराजकता निम्त्याउँछ

नेपालखबर
भदौ २५, २०८२ बुधबार १७:८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माे हालै जेनजी युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संयम, संवाद र एकताको माध्यमबाट मात्र मुलुकलाई निकास दिन सकिने बताएका छन्। 

महामन्त्रीद्वयद्वारा मंगलबार जारी संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनापछि मुलुकलाई शान्ति र पुनर्निर्माणतर्फ लैजान सबै पक्षले संयमित र एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ।

उनीहरूले राष्ट्रपतिले अघि सारेको संवाद पहलको स्वागत गर्दै सबै पक्षसँग छलफल गरेर मात्र समाधान खोज्नुपर्नेमा जोड दिएको छ। संविधानको बाटोबाट बाहिर नजान र नयाँ राजनीतिक संरचना बनाउनुपर्ने अवस्थामा पनि वैधानिक उपाय अवलम्बन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका छन्।  

सोमबारको प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको भन्दै उनीहरूले गम्भीर अपराधका घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन्। यस्तै, शान्तिपूर्ण प्रदर्शनलाई हिंसा र आगजनीतर्फ मोड्ने नियतवश घुसपैठ गर्ने समूहहरूको कठोर निन्दा गर्दै सार्वजनिक सम्पत्तिको क्षतिको छानबिन र पुनर्निर्माणको योजना तत्काल बनाउन आग्रह गरिएको छ।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू माथि भएको आक्रमणप्रति पनि दुःख प्रकट गर्दै निन्दा गरेका छन्।  

विज्ञप्तिमा विगतमा जनअपेक्षाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार र बेथितीलाई नियन्त्रण गर्न पर्याप्त पहल गर्न नसकेको आत्मालोचना गर्दै, अब भने युवापुस्ताको आकांक्षा अनुरूप जिम्मेवार राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।

'अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं,' उनीहरूले भनेका छन्। 

लोकतान्त्रिक संविधानमाथि आघात नपुग्ने गरी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने, संविधानभन्दा पछाडि फर्किन नहुने र उपलब्ध उपलब्धिलाई उल्ट्याउन नहुने उनीहरूको भनाइ छ। 

नेपाली कांग्रेस धेरै पटक आक्रमण खेप्दै, उठ्दै र जुट्दै अघि बढेको पार्टी भन्दै एकताबद्ध रहन पार्टी शुभचिन्तकहरूलाई उनीहरूले आग्रह गरेका छन्। 

'हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकुल र प्रतिकुल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ। दुवै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ। पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनुभएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ,' उनीहरूले भनेका छन्, 'नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि बढेको हो। त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं। हामी पुनः विश्वास दिलाउन चाहन्छौं– गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं।'

यस्तो छ उनीहरूको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad