नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आज (भदौ २३) को दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने टिप्पणी गरेका छन्।
भ्रष्टाचार र बेथितिको विरोधमा सोमबार आन्दोलनमा उत्रिएका जेन-जीका युवामाथि सरकारले दमन गर्दा २० जनाभन्दा बढी मारिएका छन्।
‘आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो’, घिसिङले फेसबुकमा लेखेका छन्, ‘देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन-जी पुस्ताले सोमबार देशभर स्वत:स्फूर्तरूपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भर्त्सना गर्दछु।’
ओली सरकारले कार्यकाल बाँकी छँदै विद्युत् प्राधिकरणबाट निकालेपछि ‘उज्यालो नेपाल अभियान’ सञ्चालन गरिरहेका घिसिङले देशले होनहार युवा गुमाउनुपर्दा मर्माहत भएको उल्लेख गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘यस दु:खद् घडीमा ज्यान गुमाउने सम्पूर्ण युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
जेन-जीको आन्दोलन युवाहरूको सपना, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना भएको उनले बताएका छन्।
उनले भनेका छन्, ‘हामीले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्छ। देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनुपर्दाको पीडाले मर्माहत भएको छु।’
उनले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताएका छन्।
उनले अगाडि लेखेका छन्, ‘राज्यले कलिला युवाहरूमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलनले जेन-जेडको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रूप लिएको छ। साथै यस संवदेनशील घडीमा सबै पक्षले संयमता अपनाउनसमेत अनुरोध गर्दछु।’
Shares

प्रतिक्रिया