नेकपा एमालेको विधान महाधिवेशनमा पेस गर्ने गरी फरक दस्तावेज दर्ता भएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले सदस्यता नै नदिने निर्णयलगायत पाँच बुँदामा असहमति राख्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमा फरक दस्तावेज दर्ता भएको हो।
एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको दस्तावेज २७ पृष्ठको छ।
‘यो पार्टी निर्णय विरुद्धमा तयार पारिएको फरक दस्तावेज हो। विषय-विषयमा अरूको पनि होला। यसमा प्रथम महाधिवेशनदेखि अहिलेको महाधिवेशन अघिसम्म भएका सबै निर्णयमाथिको फरक मत हो,’ थापाले नेपालखबरसँग भने, ‘अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिवको सांगठनिक प्रतिवेदनको काउन्टरमा ल्याइएको दस्तावेज हो।’
शुक्रबारदेखि ललितपुरमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदै छ। सोही महाधिवेशनमा छलफलमा लैजान फरक मत पेस गरेको थापाले बताए।
दस्तावेजमा विद्या भण्डारीको सदस्यता नवीकरण नगरेकोमा असहमति जनाइएको छ। यस्तै, एमालेमा रहेको लोकतान्त्रीकरण कार्यान्वयनमा जोड दिइएको छ।
एउटै पदमा २ कार्यकाल भन्दा बढी बस्न नपाइने र ७० वर्षे उमेर हद कायम हुनुपर्ने उल्लेख छ।
अहिले एमालेले यी दुवै प्रावधान नराखी विधान संशोधन प्रस्ताव अघि बढाएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनाउन ती दुवै प्रावधान विधानबाट हटाइएको हो।
पार्टीबाट संविधान र विधानविपरीतका पटकपटक निर्णय भएको भन्दै यसलाई सच्याउनुपर्ने कुरा दस्तावेजमा राखिएको थापा बताउँछन्।
‘पार्टीमा कमिटी प्रणाली ध्वस्त भइरहेको छ, कमिटीमा छलफल र बहस हुँदैन। आउने, निर्णय सुनाउने, ताली बजाउने, सबै निर्णय सचिवालयले गर्ने, ल्याप्चे कमिटी चलिराखेको स्थिति छ,’ थापाले पेस गरेको दस्तावेजमा भनिएको छ, ‘यो जबजको मान्यताविपरीत छ। जबजको मान्यता छोड्दै जसले जे भन्यो त्यही मार्क्सवाद हुने, त्यही जबज हुने? त्यही पार्टीको लोकतान्त्रिककरण हुने? यसरी पार्टी चल्दैन, बन्दैन।’
पार्टीले गरेका निर्णयहरू कार्यान्वयन नगरिएकोमा थापाले प्रश्न उठाएका छन्।
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता नदिने गरी साउन ६ गतेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले नोट अफ डिसेन्ट लेखेका थिए।
तर, एमालेले पार्टी निर्णय भन्दै तल्ला कमिटीमा पठाएको अपानिमा उनीहरूको सो भिन्न मत समावेश गरेको थिएन।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज महाधिवेशनमा लैजाँदै छन्।
Shares

प्रतिक्रिया