राजनीति


उपसभामुख राना हटाउन ओली-देउवाले मागे साथ, तर मानेनन् कोइराला

प्रस्ताव दर्ताको गृहकार्यमा कांग्रेस-एमाले, सांसदलाई देशबाहिर नजान निर्देशन
उपसभामुख राना हटाउन ओली-देउवाले मागे साथ, तर मानेनन् कोइराला

सागर न्यौपाने
भदौ १८, २०८२ बुधबार १९:०, काठमाडौँ

सत्तारुढ दल कांग्रेस–एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन अग्रसर भएका छन्। दुवै दलका नेताहरूका अनुसार केही दिनमै उपसभामुखमाथि ‘पद अनुरुपको आचरण नगरेको’ प्रस्ताव दर्ता गर्ने तयारी छ।

संवैधानिक परिषदमा कांग्रेसको उपस्थिति शून्य रहेकोले रानामगरलाई हटाउने तयारी भइरहेको सो पार्टीका एक नेताले नेपालखबरलाई बताए। यसअघि पनि उपसभामुख हटाउन दुवै दलले जोडबल गरेका थिए। यो तेस्रो प्रयास हुनेछ। 

‘उपसभामुख हटाउनुपर्छ भन्ने निष्कर्ष हो, अब फेरि अगाडि बढाउने कि भनेर एकपटक सरसल्लाह भएको छ,’ कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘दुईचार दिनपछि अघि बढ्न सक्छ।’

दर्ता भएको प्रस्ताव दुई तिहाइ मतले पारित भए मात्र उपसभामुख पदमुक्त हुने व्यवस्था छ।

अघिल्लो वर्षको साउनमा गरिएको प्रयास दुई तिहाइ नपुग्ने भएपछि असफल भएको थियो।

यही भदौ ३ गते पनि रानालाई हटाउने योजनासहित कांग्रेस–एमालेका सांसदहरूले खाली पानामा हस्ताक्षर गरेका थिए। तर, कांग्रेसभित्रै शेखर कोइराला समूहले नमान्दा पछि हट्नु परेको थियो।

यसपटक भने पार्टीभित्रका सांसदलाई एकढिक्का राख्न कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली नै सक्रिय भएका छन्। उनीहरूले कोइरालासँग सहयोग समेत मागिसकेका छन्।

‘शेखर दाइसँग पहिला पनि एक चरण कुरा भएको हो। फेरि एकपटक सल्लाह गरेर जाऊँ भन्नुभएको छ,’ देउवा निकट ती नेताले थपे, ‘हाम्रै एकता भएन भने त्यसको अर्थ पनि हुँदैन। हामीबीच सल्लाह भयो र सबै एक भएर जाने अवस्था बन्यो भने त अगाडि बढ्न सक्छ।’ 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे भने संकलित हस्ताक्षर अघि बढाउने विषयमा कुनै निर्णय भइनसकेको दाबी गर्छन्।

‘त्यो विषयबारे अहिले केही निर्णयमा पुगिसकेको छैन। छलफल विभिन्न कोणबाट विभिन्न ठाउँबाट भइरहेको छ,’ घिमिरेले भने, ‘तर, निष्कर्षमा पुगिसकेको अवस्था होइन।’

तर, कांग्रेस र एमालेका सांसदलाई देशबाहिर नजान निर्देशन दिइसकिएको छ। एक सांसदले बताएअनुसार उनको विदेश जाने कार्यक्रम यही कारण रोकिएको छ।

तयार छैनन् शेखर 
उपसभामुख राना हटाउने प्रयोजनका लागि भदौ ३ गतेदेखि खाली पानामा हस्ताक्षर गराइएको थियो। सोही दिन दर्ता गराउने योजना भए पनि शेखर कोइराला पक्षका अधिकांश सांसदले त्यसमा हस्ताक्षर गरेनन्।  

सोही कारण १५ दिनअघि रोकिएका देउवा–ओली अब भने कोइरालालाई विश्वासमा लिएर अघि बढ्ने निचोडमा पुगेका छन्।

सरकारमै रहेकाले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७, जनमत पार्टीका ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ जनाले मत दिने निश्चित छ। नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्। तर, अध्यक्ष रञ्जिता श्रेष्ठको निश्चित छ। अब कोइराला तयार भए दुईतिहाइ मत पुग्ने उनीहरूको विश्लेषण छ।

त्यही भएर ओली–देउवाले कोइरालासँग भेटेर सहयोग गर्न आग्रह गरिसकेका छन्। 

यसैलाई लिएर आफू निकट सांसदलाई कोइरालाले दुवै भेटबारे जानकारी गराएका छन्। त्यसमा अहिले उपसभामुख हटाउन नहुने प्रस्ट अडान राखेको कोइरालालाई भेटेका एक सांसद बताउँछन्।   

‘प्रधानमन्त्रीको चीन भ्रमणअगाडि शेरबहादुरले शेखरलाई  भेट्नु भएको थियो,’ ती सांसदले भने, ‘एक्लाएक्लै कुरा हुँदा उपसभामुख हटाउन सहयोग गर्नुपर्‍यो, यो विषयमा मिलेर जाऊँ भन्नुभएछ।’

तर, कोइरालाले देउवाको प्रस्तावमा सहमति नदिएको ती सांसदको दाबी छ। 

‘शेखरले मानिरहनुभएको छैन। विधिविधानले पनि हुँदैन। यो परम्परा बस्छ। यस्तो राम्रो हुँदैन भन्ने जवाफ दिनुभएछ,’ उनले भने। 

कोइराला तयार नभएकोबारे देउवाले प्रधानमन्त्री ओलीलाई पनि बताएका थिए।  

आफू चीन उड्नुअघि भदौ १२ गते साँझ ओलीले शेखरलाई बालुवाटार बोलाएका थिए। 

झण्डै दुई घण्टा विविध कुरा राखेपछि ओलीले उपसभामुख हटाउनुपर्ने कुरा निकालेको कोइरालानिकट अर्का सांसद बताउँछन्। 

‘आरोप लागेको व्यक्तिलाई पदमा राखिरहन मिल्दैन, जसरी पनि उपसभामुख हटाउन पर्‍यो, यसमा मिलेर जाऊँ, सपोर्ट गर्नुपर्‍यो भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ ती सांसदले भने।

जवाफमा आफूले गलत काम गर्न नहुने भन्दै सचेत गराएको निकटस्थ सांसदसँग कोइरालाले बताएका छन्।

‘महामन्त्रीहरूसँग कुरा गर्नुस्। महामन्त्रीहरू पनि मानिरहेका छैनन् हाम्रो पार्टीमा,’ कोइरालाले ओलीसँग भनेका थिए, ‘मेरो पक्षका सांसदहरूलाई पनि मैले केही भन्न सक्दिनँ। यदि उपसभामुख हटाउने प्रस्ताव अघि बढाइयो भने उनीहरू विपक्षमा उभिन सक्छन्।’

कांग्रेसका अरु नेता आफूले मिलाउन सक्ने ओलीको भनाइ थियो। 

‘तपाईं ओके भन्नुस्, सहमत हुनुभयो भने महामन्त्री म मिलाउँछु,’ ओलीले भनेका थिए।

कोइरालाको जवाफ थियो, ‘म ओके भन्न पनि सक्दिनँ र म यसको पक्षमा उभिन सक्दिनँ। सांसदहरू यसमा राजी छैनन्, जबर्जस्ती गर्नुहुन्न।’

कोइरालाले आफ्ना सांसदलाई प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि उपसभामुख हटाउन प्रस्ताव दर्ता गर्नसक्ने पनि बताएका छन्।  

कांग्रेस सांसद रामहरि खतिवडा प्रधानमन्त्री फर्किएपछि उपसभामुखको विषय फेरि अघि बढ्नसक्ने बताउँछन्।  

‘प्रधानमन्त्री आएपछि छलफल हुन्छ। बाहिर जतिसुकै असहमति भए पनि पार्टीले गरेको निर्णय शेखर कोइरालाले नमान्ने भन्ने हुँदैन,’ उनले भने, ‘कांग्रेस अरु पार्टीजस्तो बाहिर लफडा गरेर बस्ने पार्टी होइन।’

उपसभामुख हटाउन आवश्यक दुई तिहाइ समेत पुग्ने उनी बताउँछन्। 

‘सबैदलसँग छलफल भएको छ। प्रधानमन्त्री फर्किएलगत्तै बाँकी कुरा हुन्छ,’ खतिवडाले थपे।  

तर, कांग्रेस प्रमुख सचेतक घिमिरे आजभोलि नै अगाडि बढाउने विषयमा निर्णय भइनसकेको बताउँछन्।

‘कांग्रेस, एमाले र अन्य दलले निर्णय गर्न बाँकी छ,’ उनले भने, ‘त्यत्तिकै रोक्ने कुरा नहोला तर, हेरौँ।’

उपचुनावअघि हटाउनै हुन्न : कोइराला 
कोइरालाले उपचुनावअगाडि उपसभामुख हटाउनै नहुने आफू निकटसँगको छलफलमा बताएका छन्। तर, देउवा तुरुन्त हटाउन पक्षमा रहेको उनको भनाइ छ।

‘शेखरले उपचुनावभन्दा अगाडि यो कुरा नगरौँ, चुनावलाई असर हुन्छ भनेर भन्नुभएको छ,’ उनी निकट अर्का सांसदले भने।   

देउवा–ओली आवश्यक परे आफ्ना सांसदलाई ह्विप लगाउने निचोडमा पुगेका छन्।  

उपसभामुख रानाकै कारण ६ सदस्यीय संवैधानिक परिषदमा बहुमत पुर्‍याउन प्रधानमन्त्री ओलीलाई सकस परेको छ। कांग्रेस संसदकै ठूलो पार्टी भए पनि संवैधानिक परिषदमा उसका तर्फबाट कुनै पनि सदस्य नहुँदा समस्या भएको प्रवक्ता डा.प्रकाशशरण महत बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad