राजनीति


इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णयप्रति सांसद सुहाङ नेम्वाङको प्रश्न

इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णयप्रति सांसद सुहाङ नेम्वाङको प्रश्न

नेपालखबर
भदौ १८, २०८२ बुधबार १४:५५, काठमाडौँ

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने सरकारको निर्णयमा प्रश्न उठाएका छन्। 

संसद्को बुधबारको बैठकमा शून्य समयमा बोलेका नेम्वाङले सवारी प्रयोगकर्ता नागरिकलाई सरकारले सास्ती दिइरहेको आरोप लगाए। 

नेम्वाङले पर्याप्त तयारीबिना निर्णय गरेर लागु गर्न खोज्ने सरकारको हठी शैलीमा समेत प्रश्न उठाए। 'सरकारले इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय गरेको छ। तर, वर्तमान परिस्थितिमा यसले जनतालाई थप शास्ति मात्र बढाउनेछ,' नेम्वाङले भने, 'सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार छ। गाडी किन्नसाथ उच्च कर, हरेक वर्ष बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो लाइन।'

उनले यही कारण जनताबाट सरकारप्रति प्रश्न उठिरहेको बताए। 'यहाँ जनताको तहबाट प्रश्न उठेको छ, इम्बोस्ड नम्बर प्लेटको औचित्य के हो ? के हामीसँग पर्याप्त प्रविधि, सेवाकेन्द्र र जनशक्ति छ ?,' उनको प्रश्न छ, 'जब हजारौँ नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन्। कर तिर्न दिनभर लाइन बस्नुपरेको छ। यस्तो अवस्थामा इम्बोस्ड नम्बरप्लेट किन अनिवार्य गरिँदैछ, त्यो पनि नम्बर अंग्रेजीमै ?'

उनले यसबाहेक इम्बोस्ड नम्बरमा नागरिकले भाषा र भावनाको पनि प्रश्न उठाइरहेको बताए। 'आम जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाएका छन्,' नेम्वाङले भने, 'त्यसैले मेरो विनम्र आग्रह छ, सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनशक्ति सुनिश्चित गरेपछि मात्र लागु गरियोस्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad