राजनीति


कोरोना संक्रमण नियन्त्रण : यस्ता छन् सरकारलाई राप्रपाको १२ बुँदे सुझाब र आलोचना

कोरोना संक्रमण नियन्त्रण : यस्ता छन् सरकारलाई राप्रपाको १२ बुँदे सुझाब र आलोचना

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ७:२६,

राप्रपा नेपालले कोरोना भाईरसको प्रकोप नियन्त्रण गर्ने सन्दर्भमा चालिएका सरकारी पहल कदमी प्रभावकारी नभएको आरोप लगाएको छ।

अध्यक्षत्रय पशुपती शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार प्रेस वक्तव्य प्रकाशित गरी कोरोनाको प्रकोप नियन्त्रण गर्न बन्दावन्दी आवश्यक र प्रभावकारी उपाय भएपनि कतिपय पक्षमा सरकारको समन्वय र चेन अफ कमाण्ड नपुगको भन्दै आलोचना गरेका छन्।

केही अपवाद बाहेक जतिसुकै कष्ट सहनु परेपनि आमजनताले हालसम्म सरकारको निर्णयलाई पालना गर्दै आएका भन्दै वक्तव्यमा भनिएको छ, ‘तर, लकडाउन घोषणा गर्ने बाहेक अन्य कतिपय क्षेत्रमा सरकारको कार्य प्रभावकारी हुन सकेको छैन। सरकारी काममा समन्वय र चेन अफ कमाण्ड अत्यन्त कमजोर रहेको छ।’

राप्रपा कोरोनाको संक्रमण नियन्त्रण तथा नागरिकलाई राहत दिने विषय समेटेर १२ बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ।

१. लकडाउन लगायतका सरकारी निर्णयहरु कार्यान्वयन गर्ने क्रममा सरकारी संयन्त्र सहिष्णु र संवेदनशील रहनु जरुरी छ। महामारीको अग्रिम पक्तिमा रहेर कामगर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारण माथि ज्यादती भएको देखिएको छ । यस्ता कार्य दोहोरिन नदिन राप्रपा सरकारसंग आग्रह गर्दछ । यो बेला बल प्रयोग होइन सरकारले सहि सूचनाको प्रवाह र अभिभावकिय भूमिका निर्वाह गर्नु पर्छ।

२. महामारी फैलिएको महिनौं भैसक्दा पनि स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति हुन नसक्नुले सरकारको कार्यशैली प्रभावकारी नरहेको स्पष्ट हुन्छ । यसर्तफ सरकारले तत्काल ध्यान देओस् भन्ने राप्रपा आग्रह गर्दछ । यस्तो संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भएपनि अबिलम्ब कार्वाही गरिनु पर्दछ र कारवाही गरेको स्पष्ट देखिनुपर्छ।

३. नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको बैदेशिक रोजगार क्षेत्र अहिले गंभीर संकटमा परेको छ । बिश्वको विभिन्न मुलुकहरुमा कार्यरत नेपालीहरु अहिले एकातिर कोरोना भाईरसको जोखिममा रहेका छन् भने अर्कोतर्फ उनीहरुको रोजगारी समेत संकटमा परेको छ । यस वास्तविकतालाई दृष्टिगत गर्दै राप्रपा देहाय बमोजिमका बिषयहरुतर्फ नेपाल सरकारको ध्यान आकर्षित गर्दछ :

क. बिभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ र सुरक्षा अवस्थावारे जानकारी लिने तथा कोरोना भाईरसको संक्रमणबाट जोगाउन आबश्यक पहल गर्ने,
ख. जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भएपनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्ने,
ग. कोरोना भाईरसको बिश्वव्यापि महामारीबाट बैदेशिक रोजगारीको क्षेत्रमा लामो लमयसम्म नकरात्मक प्रभाव पार्ने निश्चित रहेको हुंदा त्यसबाट नेपालमा पर्ने प्रभावलाई न्युनिकरण गर्न अहिले देखि नै अल्पकालिन र मध्यमकालिन रोजगारी प्रबर्द्धन सम्बन्धि कार्यक्रम तयार गर्ने,
घ. बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थावारे नियमितरुपले आमजनतालाई जानकारी गराउने।

४. महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहंदै नेपाल–भारत सिमाना सम्म आईपुगेका नेपाली नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ।

५. कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चिनसंगको सिमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्दछ।

६. आफु बसेको ठाउंमा काम नपाएर, खाने बस्ने सुविधा नभएर तथा परिवारको जिम्मेवारी बोध गरेर सयौं किमि हिंड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेश अनुरुप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्य सम्म र्पुयाउन राप्रपा सरकारसंग अनुरोध गर्दछ।

७. कोरोना भाईरसको महामारीको परिणामस्वरुप नेपालको कृषी क्षेत्र पनि प्रभावित भएको छ । पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसाय लगायत कृषी सम्बन्धि अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकरात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालिन र दीर्घकालिन राहत प्याकेज कार्यान्वन गर्न राप्रपा सरकारसंग माग गर्दछ। भविष्यमा खाद्य संकट आउन नदिन आवश्यक तयारी गर्ने।

८. कोरोना भाईरसको महामारीले बिश्व अर्थतन्त्रमा गंभीर मन्दि देखापर्न थालिसकेको छ । नेपाल जस्तो अल्पविकसित र बिकासोन्मुख राष्ट्रको आर्थिक स्थितिमा पर्ने प्रतिकुल प्रभावलाई न्युनिकरण गर्न प्रभावकारी आर्थिक नीति र योजनाको आवश्यकता पर्दछ । यसवारे पछि सोचौंला भन्ने मानसिकताबाट मुक्त भै अहिले नै उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न राप्रपा सरकारसंग आग्रह गर्दछ।

साथै, मजदुर, रोजगारदाता, उद्योग बाणिज्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई सहुलियत र सुविधा उपलब्ध गराईनु पर्दछ । समयमा त्यसवारे ध्यान नदिने र पछि महामारीलाई दोष दिएर पन्छन मिल्दैन।

९.कोरोना भाईरसको प्रकोपले बिश्वका सबै धनि र गरिब राष्ट्रहरुको अर्थतन्त्रमा गंभीर र नकरात्मक असर पारेको छ। त्यसमा पनि नेपाल जस्तो अल्पविकसित देशलाई झन ठूलो असर पारेको छ। यस परिप्रेक्षमा नेपाल सरकारले अन्तरराष्ट्रिय समुदाय र फोरमहरुमा निम्न बमोजिमका दुई प्रस्ताव पेश गर्न राप्रपा सुझाव दिन्छ :

क. अल्पविकसित र बिकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामि दुई बर्षसम्मको लागि व्याज मिनाह गरिनु पर्दछ।

ख. नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तिमा ५० प्रतिशत मिनाह गरिनु पर्दछ।

१०. बिश्व ईतिहासमा नै अत्यन्त त्रासदीपूर्ण रहेको यो महामारीलाई पराजित गर्ने मुख्य जिम्मेवारी सरकारको हो भन्नेमा कुनै विवाद छैन । यस सन्दर्भमा सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सदैव सकारात्मक धारणा रहने छ । समस्याको संवेदनशीलता र गंभीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यवारे सबैलाई जानकारी दिन सबैतहमा सर्वदलिय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ । केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुनेछ।

११. वर्तमान संकटको घडिमा सामाजिक सांस्कृतिक सदभाव खलबलाएर निहित स्वार्थपुर्ति गर्न चाहने प्रवृत्ति देखापर्न सक्दछ। यो भाईरसको खतरा कुनै धर्म,जाती, समुदाय र देश बिरुद्ध केन्द्रित छैन । यो सम्पूर्ण मानव जाती माथी आईलागेको संकट हो । त्यसर्थ परस्पर सदभाव र एकता कायम राखि कोरोना भाईरसको संक्रमणलाई पराजित गर्न राप्रपा आमजनतामा आह्वान गर्दछ।

१२. कोरोना भाईरसको महामारी नियन्त्रण गर्न तथा विपन्न वर्गलाई सहयोग गर्न राप्रपाका विभिन्न ईकाईहरुले हालसम्म गर्दै आएको कार्यको सराहना गर्दै यो कार्य निरन्तर जारी राख्न तथा सबै तहका सरकारले चालेका कार्यहरुमा सहयोग र्पुयाउन पार्टीका सबै निकाय र कार्यकर्ताहरुमा हामी आह्वान गर्दछौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad