नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा सुरु भएको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आइतबारदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको विधान संशोधन, केन्द्रीय समितिको विस्तार लगायतको विषयमा छलफल हुने नाउपाका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। उनले हाल पार्टी भित्र विवाद नरहेको पनि दाबी गरे।
निर्वाचन आयोगले अध्यक्ष रञ्जितालाई नै वैधानिकता दिएपछि विवाद समाधान भएको उनको दाबी छ। अध्यक्ष रञ्जितालाई आफूसमेत सहभागी भएर दुईपटक कारबाही गरेको उल्लेख गर्दै उनले त्यसलाई निर्वाचन आयोगले मान्यता नदिएको बताए।
उनले अब यहाँ सन्तुष्ट, असन्तुष्ट भन्दा पनि पार्टी बचाएर अगाडि लैजाने कुरा रहेको उल्लेख गरे।
उनले भने, ‘यहाँ सन्तुष्ट र असन्तुष्टको कुरा छैन। किनभने निर्वाचन आयोगले वैधानिकता रञ्जितलाई दिएपछि यहाँ असन्तुष्ट भन्ने कुरै भएन। वैधानिक अध्यक्षले बोलाएको बैठक हो यो। हामीले धेरै पटक उहाँलाई कारबाही गरेर पनि निर्वाचन आयोगले उही नै हो तेरो अध्यक्ष भनिआयो। म पनि हुँ, दुई चोटी कारबाही गरिसकेको हो रञ्जितालाई। तर वैधानिकता भएन। त्यसैले अहिले सन्तुष्ट र असन्तुष्टको कुरा छैन।’
उनले अहिले आफूहरूसँग २१ जना केन्द्रीय सदस्यहरू रहेको र यसलाई अरु बढाएर अद्यावधिक गर्ने बताए।
नाउपाको केन्द्रीय समिति बैठक सोमबारसम्म चल्नेछ। बैठकमा पार्टी संरक्षक रेशम चौधरी र उनका पक्षधर भने सहभागी भएका छैनन्।
Shares

प्रतिक्रिया