नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई एकीकृत समाजवादीले पनि कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ।
सोमबार काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै गौतमले यस्तो असन्तुष्टि जनाएका हुन्।
उनी गएको साउन २ गते मात्रै माधव कुमार नेपाल र झलनाथ खनालसँग अंकमाल गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
माधव र झलनाथसँग वामदेवको अंकमाल (तस्बिरहरू)
उनले आफैँ तेस्रो वरियातामा रहेको एकीकृत समाजवादीका भित्री कुरासमेत थाहा नभएको तर्क गरे। ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ। जनतामा सिधै जाने माध्यम के हुन सक्छ? समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन। त्यसको पहिचान खोजिरहेको छु,’ गौतमले भने।
उनले पार्टीका सबै शीर्ष नेता राजधानी केन्द्रीत रहने प्रवृत्तिका कारण पार्टी बलियो बन्न नसकेको बताए।
गौतमले भने, ‘काठमाडौँ भित्र समाजवादीका नेताहरू धेरै छन्। थल्लो तहमा त निश्चय पनि नेताहरू छैनन् हाेला,’ उनले भने, ‘तल्लो तहमा नेता छैनन् भन्ने मलाई लागेको पनि छ। त्यसैले पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ।’
पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरूलाई उनले ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिए।
Shares

प्रतिक्रिया