नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका स्थानीय तह र अन्य संस्थालाई लकडाउनका कारण काठमाडौं लगायत विभिन्न ठाउँबाट खाना र बस्ने व्यवस्था नभएका कारण पैदल हिँड्दै घर गइरहेका नागरिकलाई खाना र बासको व्यवस्था गर्न आग्रह गरेका छन्।
‘पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु,’ देउवाले ट्विटमार्फत् आह्वान गरेका छन्।
उनले काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नहुँदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका बताएका छन्।
उनले ती नागरिककाे उचित व्यवस्था नगरेकाेमा सरकारकाे आलोचना गरेका छन्।
‘सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो। तर सरकारमा बसेकाहरु ती निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन,’ उनले लेखेका छन्।
देउवाले राजधानीबाट घर जाने ती जनतालाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग पनि आग्रह गरेका छन्।

प्रतिक्रिया