नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन हस्ताक्षर संकलन थालेका छन्। संवैधानिक परिषदमा कांग्रेसको उपस्थिति शून्य रहेको भन्दै रानामगर हटाउने दोस्रो प्रयास अघि बढेको हो।
उपसभामुखले ‘पदअनुरुपको आचरण नगरेको’ आरोप सत्तापक्षको छ।
दुवै दलले आफ्ना सांसदलाई हस्ताक्षर गर्न निर्देशन दिएका छन्। काठमाडौँ उपत्यका भएकाहरूले मंगलबार नै खाली पानामा हस्ताक्षर गरिसकेका छन्। उपत्यकाबाहिर भएकाहरूलाई समेत छिटो भन्दा छिटो आइपुग्न भनिएको छ।
उपसभामुख हटाउन दुई तिहाइ सांसदको समर्थन आवश्यक हुन्छ। त्यही भएर अन्य दलका सांसदको हस्ताक्षर गराएर मंगलबार नै संसद् सचिवालयमा दर्ता गराउने तयारी थियो। तर, कांग्रेसभित्रकै शेखर कोइराला पक्षले हस्ताक्षर नगर्दा उक्त तयारी रोकिएको सांसद हृदयराम थानीले बताए।
‘हामीलाई कसैले खबर गरेको छैन। पहिला अहिले गर्ने भनेर कुरा आयो, फेरि अहिले नगर्ने, पछि गर्ने भन्ने कुरा पनि आयो,’ थानीले नेपालखबरसँग भने, ‘केही दिन अध्ययन गर्ने, आजभोलि नै पेस नगर्ने भन्ने कुरा छ।’

सोमबार बनेको थियो रणनीति
उपसभामुख रानाकै कारण ६ सदस्यीय संवैधानिक परिषदमा बहुमत पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकस परेको छ। रानामगरलाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउन ओलीले एकवर्ष अघि नै तयारी गरे पनि पहिलो प्रयास असफल भएको थियो।
प्रधानमन्त्री ओलीले सोमबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहित संयन्त्रका केही सदस्यलाई बालुवाटार बोलाए। उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई साथै लिएर सभापति शेरबहादुर देउवा बालुवाटार पुगे। जहाँ उपसभामुख हटाउने विषयमा छलफल मात्र भएन, दुई तिहाइ पुर्याउन सकिने हिसाबकिताब पनि निकालियो।
अहिले प्रतिनिधि सभामा दुई तिहाइ पुर्याउन १८३ सांसद चाहिन्छ। कांग्रेस–एमालेका १६४ जनाले मत दिन पाउँछन्। जनता समाजवादी पार्टी (अशोक राई) का ७, जनमत पार्टीका ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ जनाले मत दिने निश्चित रहेकोले बाँकी २ मतका लागि नागरिक उन्मुक्ति पार्टीको साथ लिन सकिने बालुवाटार बैठक निचोडमा पुग्यो।
त्यसमाथि उपेन्द्र यादवसँग पनि कुरा गरेर साथमा लिन सकिने भएकाले एकपटक कुरा गर्ने समझादारी जुट्यो।
सोही अनुसार कांग्रेसले मंगलबार बिहानै पदाधिकारीको बैठक बोलायो। एमालेले संसदीय दलको बैठक। पदाधिकारी बैठकमा सभापति देउवाले उपसभामुखको कारण अप्ठेरो परेको बताएका थिए।
कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतका अनुसार संवैधानिक परिषदमा आफ्नो तर्फबाट उपस्थिति नभएकोले समस्या भएको देउवाले सुनाएका थिए।
‘संवैधानिक परिषदमा हाम्रो कोही पनि भएन। संसदमा सबैभन्दा ठूलो पार्टी छ,’ देउवाको भनाइ उधृत गर्दै महतले भने, ‘उपसभामुखको आचरणको कुरा पहिले आएकै हो। तर संख्या नपुग्दा परिणाममा पुग्नेगरी अगाडि बढेन, यसपटक एउटा निर्णय लिनुपर्छ, यसका लागि संसदीय दलले सबै दलसँग कुरा गर्नुपर्यो।’
यसपटक योजना सफल पार्नेगरी लागेको महत बताउँछन्।
‘यसपटक संख्या पनि पुग्नसक्छ। त्यसकै लागि सांसदहरूको हस्ताक्षर लिइरहेका छौँ,’ उनले भने, ‘बाँकी निर्णय संसदीय दलले गर्छ।’
पदाधिकारी बैठकलगत्तै देउवाले प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई हस्ताक्षर संकलन गर्न निर्देशन दिए।
घिमिरेले एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेतालाई पनि सिंहदरबार बोलाए।
कांग्रेस दलको कार्यालयमा एमालेका मुख्य सचेतक महेश बर्ताैला पनि पुगे। यस्तै, जनता समाजवादी पार्टी वीरेन्द्रप्रसाद महतो, जनमतकी प्रमुख सचेतक अनिता देवी, लोसपाका अध्यक्ष महन्थ ठाकुर र सांसद ओमप्रकाश चौधरी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत पुगे।
त्यसबेलासम्म कांग्रेस र एमालेका सांसदले सिंहदरबार पुगेर हस्ताक्षर गरिरहेका थिए। केही सांसद पुग्दै थिए।

जसपा नेपाल पनि छलफलमा
सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालकी प्रमुख सचेतक रेखा यादव पनि सिंहदरबार पुगिन्। जबकि, जसपा नेपालले असार ३२ गते मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
प्रमुख सचेतक रेखा यादव सत्तापक्षले सहयोग मागेको बताउँछिन्।
‘उपसभामुख हटाउन खोजेको देखियो,’ उनले भनिन्, ‘श्याम कुुमारजीले जोड दिएर त भन्नुभएन तर उदेश्य त्यही नै थियो। हाम्रो समर्थन माग्नु भयो।’
उनका अनुसार यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गरिनेछ।
नाउपाले ओली सरकारलाई फेरि समर्थन गर्ने
नाउपाले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। अब फेरि समर्थन गर्ने अवस्था आइपरेको अध्यक्ष रञ्जिता श्रेष्ठको भनाइ छ।
‘राज्यमन्त्रीले राजीनामा नदिएपछि पद छोड्न नचाहेको देखियो, त्यही भएर पार्टीले केही सोच्नुपर्छ,’ श्रेष्ठले थपिन्, मन्त्रालय नगए पनि वेबसाइटमा उहाँकै नाम छ। कि राजीनामा दर्ता गरेको नम्बर दिन सक्नुपर्यो। नत्र त उहाँकै लागि पनि सरकारलाई समर्थन दिनुपर्यो।’
तर, कांग्रेस संसदीय दलमा आइदिनुपर्यो भनेर फोन आएपछि गए पनि हस्ताक्षर नगरेको उनले दाबी गरिन्।
‘हामी जाँदा उहाँहरू (कांग्रेस–एमाले) छलफलमा हुनुहुन्थ्यो। म जाँदा महन्थ ठाकुर पनि हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘हस्ताक्षर गर्ने हामीसँग कुरै गर्नुभएन।’
कहिले अघि बढ्छ?
असम्बन्धित व्यक्तिलाई अमेरिका उडाउन अमेरिकी दूतावासलाई पत्र लेखेपछि उपसभामुख रानामगर गत वर्ष विवादमा परेकी थिइन्।
पद अनुकूल आचारण नगरेकोले हटाउन अघिल्लो वर्ष पनि कांग्रेस–एमालेले प्रयास गरेका थिए। तर, दुई दलसँग दुई तिहाइ मत थिएन। अनि त्यो प्रयास सफल भएन।
यसपटक सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीको सांसदसमेत मिलाएर दुई तिहाइ पुर्याई कांग्रेस–एमालेले उपसभामुख हटाउने प्रक्रिया अघि बढाएका छन्।
यद्यपि, मंगलबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर गरेका छैनन् भने नेता शेखर कोइराला पक्षका केही सांसद पनि हस्ताक्षर गर्न गएनन्। कांग्रेसमा शेखर पक्षको मात्र १६ सांसद छन्।
यस्तै, नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद देखिएको छ। त्यही भएर उनीहरू केही कुर्ने मनस्थितिमा पुगेका छन्।
त्यसमाथि उपसभामुख रानामगर अहिले अमेरिकामा छिन्। उनी भदौ दोस्रो हप्ताअघि फर्कने छैनन्।
आफूलाई हटाउन लागेको विषयमा उनले कांग्रेसका नेता शेखर कोइरालालाई टेलिफोन गरेर जानकारी लिएको बताइन्।
‘उहाँले उपसभामुख हटाउने विषयमा मेरो समर्थन रहँदैन भन्नुभयो,’ रानाले अमेरिकाबाट नेपालखबरसँग भनिन्।
एमालेका मुख्य सचेतक महेश बर्ताैलाले उपसभामुखको विषयमा प्रश्न उठेकोले निरुपण गर्ने बेला आएको बताए।
‘संसद्भित्र उहाँको विषय उठेको छ। यो विषय बिट मार्ने अभिभारा संसदको हो। यस्ता उठेका प्रश्नका बारेमा निष्कर्षमा कसरी पुर्याउने खुला छलफल अब हामी गर्छाैँ,’ उनले भने, ‘उहाँ बाहिर हुनुहुन्छ भन्ने छ। बाहिर भएको विषयमा धेरै टिप्पणी गर्नु उपयुक्त हुँदैन। तर प्रश्न उठेको छ। उपयुक्त समयमा उपयुक्त निष्कर्ष निस्किन्छ।’
शेखर पक्षका सांसदले नमानेकैले यसपटक पनि देउवा–ओलीको योजना रोकिएको थानी बताउँछन्।
‘एकाथरीले आजै गर्ने भन्यो, अर्काेथरीले औचित्यका आधारमा छलफल गर्नुपर्छ भन्यो,’ थानीले भने, ‘अब सबैकुरा सरसल्लाहमै आइहाल्छ। अब सत्तारुढ दलसँग छलफल हुनुपर्यो। सत्तारुढ दुईवटै पार्टी मिल्दा दुईतिहाइ पुग्दैन। यो सबैसँग छलफल गर्नुपर्ने विषय हो।’
कांग्रेस प्रमुख सचेतक घिमिरे उपयुक्त समयमा प्रस्ताव अघि बढाउने बताउँछन्।
‘संसद बन्द हुन लाग्यो। सांसदहरूको हस्ताक्षर कुन बेला केका लागि काम लाग्छ भनेर संकलन गरिराखेको हो,’ घिमिरेले नेपालखबरसँग भने, ‘उपसभामुख हटाउने विषयमा अहिले नै केही निर्णयमा पुगिसकिएको अवस्था होइन।’
Shares

प्रतिक्रिया