सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सामाजिक सञ्जाल फेसबुकको माउ संस्था मेटालाई नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरेको बताएका छन्।
उनले मेटाले नेपालको संविधान र कानुन नमान्ने जवाफ फर्काएको समेत मन्त्री गुरुङले खुलासा गरे।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन्।
उनले भने, ‘मेटालाई हामीले दर्ता हुन आउन भन्यौँ। उसले भन्छ, तेरो संविधानलाई पनि मान्दैनौँ, कानुनलाई पनि मान्दैनौँ भन्यो। किनभने हाम्रे खुट्टी उनीहरूले देखेका छन्।’
मन्त्री गुरुङले थपे, ‘डिजिटल प्लेटफर्महरूको प्रभाव हाम्रो मुलुकमा धेरै छ। तिनीहरूलाई हामीले तीन पटक भन्यौँ दर्ता हुन आउ भनेर। उनीहरूको प्लेटफर्ममा आएका कुराहरूको फिल्टर गरेर सरकारले करेक्सन गर्न सकोस् भनेर हामीले हामीले पटक पटक ताकेता गरेका छौँ। अशान्तीको पक्षमा, हाम्रो देशको विरुद्धमा वा लोकतन्त्रको विरुद्धमा छ भने कन्टेन्टहरूलाई करेक्सन गर्नको लागि भनेका हौा। तर अहँ अहिलेसम्म आएको छैन।’
मन्त्री गुरुङले सरकारका आलोचक तथा व्यवस्थाविरोधीको मुख थुन्ने उद्देश्यले सामाजिक सञ्जालसम्बन्धी विधेयक नल्याइएको स्पष्ट पारे।
उनले मुलुकमा डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावलाई नियमन गर्नको लागि विधेयक ल्याइएको बताए।
उनले नेपालमा सञ्चालन हुनको लागि सबै प्लेटफर्महरु कानूनी दायमा आउनैपर्ने जिकिर गर्दै सोही प्रावधान लागू गर्न विधेयक महत्वपूर्ण सावित हुने बताए।
उनले भने, ‘तपाईंहरुलाई डर छ। डर नमान्नु होला। सरकारका आलोचक, विरोधी तथा व्यवस्था विरोधीहरूको मुख थुन्न ल्याइएको हैन।’
सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र उत्तरदायी बनाउने उद्देश्यले विधेयक ल्याइएको दोहोर्याउँदै उनले प्रतिपक्षीको आँखाबाट नहेर्न समेत आग्रह गरे।
Shares

प्रतिक्रिया