नेकपा एकीकृत समाजवादीले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालय (आलोकनगर) मा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीका अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रूपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावबारे समीक्षा गरिनेछ।
जनवर्गीय संगठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उपप्रमुख अर्यालले बताएका छन्।
साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, समन्वय तथा वामपन्थी शक्तिबीच एकताको प्रस्ताव अनुमोदन गरिने बैठकमा समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल गरिने बताइएको छ।
पछिल्लो समय खासगरी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मनमुटाव छ।
खनालले अन्तर्वार्तमा एमाले फुटाउनु गल्ती भयो भनेपछि दुई नेताबीच सार्वजनिक रूपमै भनाभन भएको थियो।
यसबीच साउन ३० गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले लिखित स्पष्टीकरण पेस गर्दै अध्यक्ष नेपालविरुद्ध दिएको अभिव्यक्तिमा आत्मालोचना पनि गरेकी छन्।
Shares

प्रतिक्रिया