भारतीय विदेश सचिव विक्रम मिस्रीले दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा आइतबार बिहान काठमाडौँ ओर्लिएका मिस्रीले राष्ट्रपति महामहिम रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री महामहिम आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेतालाई पनि उनले भेटे।
मिस्रीको भ्रमणको प्रमुख उद्देश्य भने प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तारतम्य मिलाउनु थियो। उनले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई औपचारिकरुपमा निमन्त्रणा दिए।
दुवै देशका परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षको सुविधाजनक मितिमा ओलीले भारत भ्रमण गर्ने उल्लेख गरिएको छ।

यसका अलावा भारतको विदेश मन्त्रालयले मिस्रीको भ्रमणका दौरान ओलीको भ्रमणका सम्भावित कार्यसूची तथा अपेक्षित उपलब्धिका विषयमा पनि छलफल भएको उल्लेख गरिएको छ।
साउथ ब्लकको ८ बुँदे विज्ञप्तिको चौथो बुँदामा लेखिएको छ, ‘दुवै देशका परराष्ट्र सचिवहरूले व्यापक छलफल गरे। विभिन्न द्विपक्षीय पहलहरूमा भएका प्रगतिहरूको समीक्षा गरे र प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणको एजेन्डाको हिस्सा बन्न सक्ने सम्भावित कार्यसूची तथा परिणामहरूसहित थप सहकार्यका अवसरहरूको बारेमा कुरा गरे।’
ओली यही भदौ अन्तिममा भारत भ्रमणमा जाने तयारी छ। उनी काठमाडौँबाट नेपाली सेनाको विमानमा सिधै बोधगया जाने र भारतीय समकक्षी मोदीसँग त्यहीँ द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिँदै छ।

ओलीको भ्रमणकै दौरान दुवै देशका प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा-चाँदी सुख्खा बन्दरगाह परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि कार्यसूचीमा समावेश गरिएको छ।
मिस्रीले सोमबार मात्र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग सैनिक मुख्यालयमा भेटेका थिए। त्यस क्रममा लाइट स्ट्राइक भेहिकल्स, अत्यावश्यक स्वास्थ्य उपकरण तथा सैन्य प्रयोजनका कुकुरहरू नेपाली सेनालाई हस्तान्तरण गरे।
भ्रमणका क्रममा दुवै पक्षले भौतिक पूर्वाधार, डिजिटल कनेक्टिभिटी, रक्षा तथा सुरक्षा, ऊर्जा लगायतका क्षेत्रमा भएको ठोस प्रगतिप्रति सन्तोष व्यक्त गर्दै सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको भारतीय पक्षको विज्ञप्तिमा उल्लेख छ।
भारतको छिमेक प्रथम नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदारका रूपमा लिइएको उल्लेख गर्दै विज्ञप्तिमा यसपटकको उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
Shares

प्रतिक्रिया