ग्लोबल


ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता, के-के भए कुरा?

ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता, के-के भए कुरा?

सोमबार ह्वाइट हाउसमा भेटवार्ता गर्दै जेलेन्स्की र ट्रम्प


नेपालखबर
भदौ ३, २०८२ मंगलबार ५:११, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार (नेपाली समयअनुसार गएराति) ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन्। 

तर यो भेटघाटको विवरण अहिलेसम्म खुलाइएको छैन।

यद्यपि ट्रम्पले सामाजिक सञ्जालमार्फत यो कुराकानीपछि आफूले भोलोदिमिर जेलेन्स्की र भ्लादिमिर पुटिनबीच भेटघाटको व्यवस्था गर्न खोजिरहेको बताएका छन्।

यसअघि रुसको राष्ट्रपतिको कार्यालय (क्रेमलिन) ले ट्रम्पले भेटघाट रोकेर आफ्ना राष्ट्रपति पुटिनलाई फोन गरेर ४० मिनेट कुराकानी गरेको बताएको थियो। पुटिनले रुस र युक्रेनका प्रतिनिधिहरूबीचको प्रत्यक्ष वार्तालाई समर्थन गरेको बताएका थिए।

साथै युरोपेली नेताहरूले बैठकमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनु युरोपको सुरक्षाको विषय पनि भएको बताए। यद्यपि, रुसले विज्ञप्ति जारी गर्दै युक्रेनमा नेटो सेनाको उपस्थितिको कडा विरोध गरेको बताएको छ।

ट्रम्प-जेलेन्स्की बैठकका १० प्रमुख बुँदा

ट्रम्पले भने...

१. आजको बैठकको नतिजा जे भए पनि युक्रेनका लागि अमेरिकी समर्थन रहिरहनेछ।

२. युक्रेन नेटोको सदस्य नहुन सक्छ, तर अमेरिकाले युक्रेनलाई धेरै राम्रो सुरक्षा प्रदान गर्नेछ।

३. म युक्रेनमा शान्ति कायम राख्न अमेरिकी सेना पठाउनेबारे विचार गर्न सक्छु।

४. युद्ध निश्चित रूपमा समाप्त हुनेछ, तर यो कहिले हुन्छ भन्नेबारे मलाई पूर्ण रूपमा थाहा छैन।

५. रुस, युक्रेन र अमेरिकाको बैठक हुनेछ र त्यसमा युद्ध समाप्त हुने सम्भावना छ।

६. युद्ध यसको समय आएपछि समाप्त हुनेछ। म ठ्याक्कै भन्न सक्दिनँ, तर यो समाप्त हुनेछ।

७. ह्वाइट हाउसमा युरोपेली नेताहरू र जेलेन्स्कीलाई भेटेपछि म पुटिनलाई फोन गर्नेछु।

जेलेन्स्कीले भने...

१. युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउन तयार छु, भूमि आदानप्रदान स्वीकार्य छैन।

२. युद्ध समाप्त भएपछि मात्र राष्ट्रपति चुनाव हुन सक्छ। युद्ध चलिरहेका बेला यो सम्भव छैन।

३. युक्रेनको सुरक्षाका लागि अमेरिकाका हतियार धेरै महत्त्वपूर्ण छन् र कसैसँग पनि त्यस्तो हवाई रक्षा प्रणाली छैन।

ट्रम्प, जेलेन्स्की र अन्य युरोपेली नेताहरूबीच ह्वाइट हाउसमा धेरैवटा बैठक  भए। ह्वाइट हाउसले यससँग सम्बन्धित जानकारी मिडियाबाट टाढा राखेको छ।

ट्रम्पसँग ओभल अफिसको बैठकपछि केही युरोपेली नेताहरू बाहिर निस्किरहेको देखिएको थियो। एक प्रश्नको जवाफ दिँदै बेलायती प्रधानमन्त्री किअर स्टारमरले बैठक केही हदसम्म सफल भएको बताए।

जेलेन्स्कीका प्रवक्ताले पत्रकारहरूलाई जेलेन्स्की र युरोपेली नेताहरू अझै पनि वासिङ्टनमा बसिरहेको बताए। 

ट्रम्पले पुटिनसँग ४० मिनेट कुरा गरे
क्रेमलिनले राष्ट्रपति ट्रम्पले पुटिनसँग कुरा गरेको जानकारी दिएको छ। यसका लागि ट्रम्पले जेलेन्स्की र युरोपेली संघका नेताहरूसँगको वार्ता रोके। दुई नेताहरूबीच ४० मिनेटको कुराकानी भएको थियो।

पुटिनका सल्लाहकार युरी उसाकोभका अनुसार, पुटिनले अलास्का बैठकमा स्वागत गरेमामा ट्रम्पलाई धन्यवाद दिए। दुवै नेताले रुस र युक्रेनका प्रतिनिधिबीचको प्रत्यक्ष वार्तालाई समर्थन गरे।

ट्रम्पले भने - जेलेन्स्की र पुटिनबीचको बैठकको तयारी सुरु भएको छ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ह्वाइट हाउसमा युरोपेली नेताहरू र युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको भेट धेरै सफल भएको उल्लेख गरेका छन्। उनका अनुसार बैठकले युक्रेनको सुरक्षाको ग्यारेन्टीबारे छलफल गरेको छ, जसमा युरोपेली देशहरूले मुख्य भूमिका खेल्नेछन् र अमेरिकाले उनीहरूलाई समर्थन गर्नेछ।

ट्रम्पले बैठकपछि भनेका छन्, मैले पुटिनलाई फोन गरेँ, त्यसपछि जेलेन्स्की र पुटिनबीचको बैठकको तयारी सुरु भएको छ।

उनले अगाडि भनेका छन्, यो बैठक कहाँ हुने भनेर पछि निर्णय गरिनेछ। यसपछि हामी तीन जना- म, पुटिन र जेलेन्स्की- त्रिपक्षीय बैठक गर्नेछौँ। यो लगभग चार वर्षदेखि चलिरहेको युद्ध रोक्न राम्रो पहिलो कदम हो।

ट्रम्पले रुस-युक्रेनमा शान्तिको सम्भावनासँग सबैजना धेरै खुसी भएको उल्लेख गरेका छन्। तर आगामी बैठक कहिले हुनेछ भनेर बताएनन्।

उता युक्रेनका राष्ट्रपति जेलेन्स्कीका प्रवक्ता सेर्ही निकिफोरोभले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूबीच ह्वाइट हाउसको ओभल अफिसमा पुनः वार्ता सुरु भएको बताएका छन्।

भेटवार्ताका केही तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad