राजनीति


‘संसद्‌मा म’मा अब्दुल खान : सीके राउतसँगै १२ पटक हिरासत बसे, सांसद र मन्त्रीसम्म बने (भिडिओ)


अनिल यादव
भदौ २ , काठमाडौँ

बर्दिया गुलरियामा हुर्किएका अब्दुल खानले माओवादी द्वन्द्वका बेला अनेक दुःख भोगे। कहिले माओवादीले लैजान्छ भन्ने डरले घर छाडेर हिँडे। कहिले दिन–रात गहुँ खेतमा लुकेर बसे भने कहिले भारत नै भाग्न बाध्य भए। 

‘त्यतिखेर गोली चलेको, गणेशपुरमा नाइटभिजनहरू हिँडेको र धेरै मान्छेहरू मारिएको मैले अझै बिर्सिएको छैन,’ ‘संसदमा म’मा आएका सांसद अब्दुल खानले सम्झिए, ‘उतिखेर मेरो घरमा पनि गोली आएर खाने थालमा समेत प्वाल पारेको थियो। अहिले पनि त्यो थाल मसँग सुरक्षित छ।’

मध्यमवर्गीय परिवारमा हुर्किएका अब्दुलको बाल्यकाल बन्दुकको नाल र बारुदको धुवाँमुनि बित्यो। माओवादी द्वन्द्वको त्यो भयावह रूप देखेका उनमा राजनीतिमा प्रवेश गर्ने योजना या चाहना थिएन। 

राजनीतिसँग कुनै साइनो नभएका, गाई–भैँसी गोठालो र मदरसा शिक्षाबाट आफ्नो यात्रा सुरु गरेका खानलाई पढाइमा खासै रुचि थिएन। 

उनी भन्छन्– ‘पढ्न अल्छी मान्ने, गाई–भैँसी गोठालो गर्नेतिर बढी आकर्षित हुने, वृद्धहरूसँग वीरगाथाहरू सुन्ने मेरो बानी थियो।’

परिवारको दबाबले औपचारिक शिक्षातर्फ लागे पनि उनको यात्रा कष्टकर थियो। एसएलसी पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौँ आउने सपना देख्नुअघि उनले ठूलै संघर्ष गरे। नेपालगन्जमा महँगो शुल्क तिर्न नसकेपछि उनी साइकल चढेर ६५ किलोमिटर टाढाको टीकापुर पुगे, केवल आईएस्सी पढ्न। 

त्यसपछि काठमाडौँ आएर पब्लिक हेल्थ पढ्न थाले। एउटा अनुसन्धानको सिलसिलामा उनको भेट नरेन्द्र पासवानसँग भयो। त्यही भेट नै उनको जीवनको ‘टर्निङ प्वइन्ट’ बन्यो। नरेन्द्रले नै उनलाई अमेरिकामा वैज्ञानिकका रूपमा काम गरिरहेका सीके राउतको बारेमा बताए। 

‘नरेन्द्रजीले मसँग डाक्टर सीके राउतजीको विषयमा कुरा गर्नुभयो। एकजना यस्तो वैज्ञानिक हुनुहुन्छ, उहाँ अमेरिकाबाट केही दिनपछि नेपाल आउनुहुन्छ र त्यही क्रममा भेटाउने भन्नुभयो,’ खानले सम्झिए। 

केही दिनपछि राउत नेपाल आए र एउटा कार्यक्रम आयोजना भयो। त्यो कार्यक्रममा स्वयंसेवकका रूपमा पुगेका खान पछाडिको बेन्चमा बसिरहेका थिए। त्यही बेला एउटा अनौठो घटना भयो। 

‘डाक्टर सीके राउतजी त्यहाँ अगाडि हुनुहुन्थ्यो मञ्चमा। त्यहाँबाट उठेर वासरुम जानुभयो। फर्केर आएपछि त्यहीँ मेरो साइडको बेन्चमा बस्दिनुभयो,’ खानले भने, ‘उहाँकै कारण मैले राजनीति बुझेँ। राजनीतिमा आउन प्रेरणा लियो।’ 

राउतसँगको त्यो छोटो भेट नै खानको राजनीतिक यात्राको पहिलो पाइला बन्यो। राउतले मेची–महाकाली यात्रा गरेर तयार पारेको ‘ब्ल्याक बुद्धज्’ डकुमेन्ट्री र उनको विचारले खानलाई गहिरो प्रभाव पार्‍यो। 

‘उहाँले त्यो डकुमेन्ट्रीमार्फत हाम्रै गाउँघरमा देख्दै आएको यथार्थ अवस्था देखाउनुभएको छ,’ उनले भने। 

त्यो डकुमेन्ट्री हेरेर अब्दुलले मधेसको यथार्थ र त्यहाँका नागरिकको अधिकारको लडाइँलाई नजिकबाट बुझ्ने मौका पाए। त्यसपछि उनी राउतको अभियानमा पूर्ण रूपमा होमिए। स्वतन्त्र मधेस गठबन्धनको अवधारणादेखि जनमत पार्टीको स्थापनासम्म उनी एक खम्बा बनेर उभिए।

स्वतन्त्र मधेसको अभियानमा राउतकै पछिपछि होमिएका खानले १२ पटक गिरफ्तारी भोगे, ५ वटा देशद्रोहको मुद्दा खेपे र प्रहरीको चरम यातना सहे। तर, उनको यात्रा डगमगाएन। उनले आफ्नो जीवनको एक दशकभन्दा बढी समय संगठन निर्माणमा बिताए। 

उनी गर्वका साथ भन्छन्, ‘आफैँलाई गौरवान्वित ठान्छु, त्यतिबेला अभियानका क्रममा बिनापैसा म मेचीदेखि महाकालीसम्म घुमेँ।’

राजनीतिमा लाग्नुअघि उनले एक मन्त्रीलाई भेट्न एक घण्टा कुर्नुपरेको तितो अनुभव सँगालेका थिए। त्यही अनुभवले उनलाई मन्त्री हुँदा जनताका लागि आफ्नो ढोका सधैँ खुला राख्न प्रेरित गर्‍यो।

उनी भन्छन्, ‘सामान्य नागरिकलाई सिंहदरबारभित्र छिर्न कति तनाव हुन्छ, त्यो मैले भोगेको थिएँ, त्यसैले आज म जसले चाहे पनि सहजै पास व्यवस्था गरिदिन्छु। म मन्त्री हुँदा पनि सबैका लागि ढोका खुला राखेँ। मैले कसैलाई पनि १५ देखि २० मिनेटभन्दा बढी कुराएको छैन होला।’

आज अब्दुल संसद्मा छन्, खानेपानीमन्त्री भइसकेका छन् र उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिको सभापति पनि बनेका छन्। तर, उनले आफ्नो धरातल बिर्सेका छैनन्। उनलाई थाहा छ, राजनीति सेवाको माध्यम हो, व्यक्तिगत स्वार्थको होइन। 

उनको अन्तिम संकल्प स्पष्ट छ, ‘यदि मैले केही गर्न सकिनँ भने भोलिको दिनमा जेसुकै काम गर्नलाई पनि तयार हुन्छु। म आफैँ त्यो बेला राजनीतिबाट टाढा हुन्छु, बरु संन्यास नै लिन्छु।’

हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाटः 

फोटो/भिडिओः सरोज नेपाल
 

भदौ २, २०८२ सोमबार २०:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad