चिकित्सा शिक्षामा सिट थप गर्ने सरकारी निर्णयको आलोचना गर्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिडिया म्यानुपुलेटर’ भन्दै विरोध गरेका छन्।
निजी मेडिकल कलेज सञ्चालकहरूको इसारामा सरकारले चिकित्सा शिक्षातर्फ सिट बढाएको भनेर आलोचना भइरहँदा प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो।
चिकित्सा शिक्षा आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा १ हजार ३५९ सिट संख्या बढाउने निर्णय गरेको थियो।
माथेमा आयोगको प्रतिवेदन लत्याउँदै चिकित्सा शिक्षामा सिट थप, ‘उल्टियो’ सुधार
प्रधानमन्त्री ओलीले सरकारी निर्णयको बचाउ गर्दै यसबाट चिकित्सा शिक्षामा विदेशिने ३ अर्ब १२ करोड २४ लाख ९० हजार २०० रुपैयाँ नेपाली मुद्रा जोगिएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ओलीले सरकारको यो निर्णयबाट देशलाई माया गर्ने र युवा भविष्यबारे चिन्ता गर्ने कसैलाई पनि बेफाइदा नभएको बताएका छन्।
‘तर, यसलाई पनि गलत अर्थ लगाएको देखेको छु। अस्ति संसद्मा पनि यस्तै पेशेवर ‘मास म्यानुपुलेसन’को कुरा उठाएको थिएँ। पेशेवर ‘मिडिया म्यानुपुलेटर’लाई आफ्नो द्रव्यदाता रिझाउन परेको अप्ठेरोप्रति सहानुभूति छ।’
प्रधानमन्त्रीले गत वर्ष स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि एक हजार ६५५ नेपाली विद्यार्थीले विदेश जाने अनुमति पत्र लिएको र अरु विषय पढ्न अनुमति लिने विद्यार्थीको संख्या दशौं हजार रहेको बताएका छन्।
‘यो केवल आर्थिक नोक्सानी मात्र होइन, युवाशक्ति र भविष्यको सम्भावना पनि देशबाहिर पलायन हुने दुःखद चित्र हो,’ ओलीले भनेका छन्, ‘विद्यार्थीलाई आफ्नै देशमा चिकित्सक बन्ने अवसर दिनु, विदेश जाने लामो ‘एयरपोर्ट लाइन’ घटाउनु र अभिभावकको आँखा रसाउने यात्रा रोक्नुलाई सरकारले आफ्नो कर्तव्य ठान्यो। यही कारण, चिकित्सा शिक्षा आयोगको हिजोको निर्णय ऐतिहासिक छ।’
सरकारको यो निर्णयले हरेक वर्ष चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने करिब साढे तीन अर्ब रुपैयाँ देशभित्रै रहने, परिवार छोडेर परदेशिनु पर्ने बाध्यता कम हुने र नेपालमै सक्षम चिकित्सक तयार हुने मार्ग प्रशस्त हुने तर्क गरेका छन्।

Shares

प्रतिक्रिया