गोरखाको सिरानचोक गाउँपालिका ५ का चक्रे मिलन भन्ने मिलन गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। प्रहरीको अनुसन्धानपछि बिहीबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको हो।
बिहीबार थुनछेक बहस गर्न नभ्याइने भएपछि चक्रे मिलनलाई प्रहरी वृत्त ठिमीको हिरासतमा फर्काइएको छ। सर्लाहीको हरिवनका मनीष रायमाझीलाई ज्यान मार्ने उदेश्यले कुटपिट गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले प्रहरीमा जाहेरी दिएका थिए।
अदालतमा उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ अनुसार ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको छ। यो कसुरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।
यस्तै पीडितलाई आवश्यक क्षतिपूर्ति भराइदिन माग गरिएको छ। घटना २०८१ भदौ १० गते साँझको हो। पहिलो चरणमा अजित खवासविरुद्ध २०८१ असोज ४ गते मुद्दा दर्ता भइसकेको भए पनि चक्रे मिलनको भने एकीन ठेगाना नखुलेको भन्दै त्यतिबेला मुद्दा दर्ता गरिएको थिएन। तर काठमाडौँको ठमेलबाट पक्राउ परेका उनलाई एक वर्ष पहिलेको घटनामा पनि प्रहरीले मुद्दा अगाडि बढाएको हो।
सानोठिमी दिव्यश्वरीस्थित बड्डाको तावा रेस्टुरेन्टमा हेल्मेट, मास्क, रेनकोटसमेत अजित खवासलगायत ९-१० जनाले मनीष रायमाझीलाई कुटपिट गरेको आरोप छ।
रायमाझीलाई हेल्मेट, सिसाको बोतल, लात्ता, मुक्का समेतले प्रहार गरी गम्भिर घाइते बनाएका थिए। मनिषलाई घाइते भइसकेपछि अजित खवासले नै अस्पताल लगेका थिए।
उनको उपचार खर्चपनि कुटपिटमा संलग्नकै आफन्तले व्यहोरेको रायमाझीले बयान दिएका छन्। उनको मोवाइल फुटेको र त्यसको पनि खर्च व्यहोरेको बयान दिएका रायमाझीले कुनै पनि क्षतिपूर्ति माग गरेका छैनन्।
उक्त घटनाका मुख्य योजनाकार भनिएका चक्रे मिलन भन्ने मिलन गुरुङ्गको हकमा तीन पुस्ते सहितको एकिन वतन नखुलेको भन्दै त्यतिबेला प्रतिवादी बनाइएको थिएन।
'तीन पुस्ते वतनसहित पक्राउ परिआएका बखत उक्त मुद्दामा अन्य कोही कसैको संलग्नता देखिएको अवस्थामा' पुरक अभियोग पत्र पेस गरिने निर्णय त्यतिबेलै भएको थियो। यसअघि दर्ता भएको मुद्दामा पनि फैसला भइसकेको छैन।
अजित खवास र मनीष रायमाझी एउटै गाउँका हुन्। चक्रे मिलनको ग्याङलाई उनैले लोकेसन दिएकाले आफूमाथि कुटपिट भएको जाहेरीमा उल्लेख छ।
तर रायमाझी र चक्रे मिलनको भने चिनजान नरहेको खुलेको छ। दुवै जनाले एकअर्कालाई नचिनेको बयान दिएका छन्।
कुटपिटमा परेका रायमाझी नेपाली कांग्रेस र चक्रेमिलनको समूह नेकपा एमालेनिकट हुन्। चक्रे मिलनविरुद्ध रायमाझीले फेसबुकमा स्टाटस लेखेपछि उनको समूहले खोजी सुरु गरेको थियो। तर रायमाझी भने फोन अफ गरेर बसेका थिए।
तर त्यसदिन आफ्नै गाउँका खवासले लोकेसन दिएकाले आफूमाथि कुटपिट भएको पीडितको दाबी छ। उनले घटना भएको दिन पनि खवासलाई आफ्नो र चक्रे मिलनको लफडा परेको बताएका थिए।
त्यसपछि कसैलाई नभेटेको भन्दै खवासलाई एक्लै भेट्न बोलाएका थिए। तर खवास आएको केही समयमै चक्रे मिलन समूहका केही युवा आएर कुटपिट गरेको पीडितको आरोप छ।
त्यसपछि उनीहरू बसिरहेको होटलमा आएर ‘चक्रे मिलनबारे अपाच्य शब्द उल्लेख गरेर किन स्टाटस लेख्या? भाइहरू छैनन्?’ भन्दै एक्कासि हेल्मेट, सिसाको बोतल, लात्ती, मुक्कासमेतले प्रहार गरी घाइते बनाएका थिए।
चक्रे मिलनले बयानका क्रममा मनीष रायमाझीलाई नचिनेको, धम्की दिने र म्यासेज पठाउने नगरेको दाबी गरेका छन्। उनले अजित खवासलाई पनि नचिनेको र रायमाझीलाई कुटपीट गर्न कुनै योजना नबनाएको दाबी गरेका छन्।
‘के कति कारणले मलाई समेत आरोप लगाइ जाहेरी दिएका हुन्, मलाई थाहा भएन। घाइते मनीष रायमाझीले आफ्नो कागजमा खुलाएका नेपालगन्जलगायतका कुनै घटना तथा मनीष रायमाझीले स्टाटस राखेको सम्बन्धमा मलाई केहि पनि थाहा छैन’, बयानमा उनले भनेका छन्, ‘निजले खुलाएका कुराहरू मैले थाहा नपाएको अवस्थामा निजलाई खोजी गर्ने, निजलाई कुटपिट गर्ने कुरै भएन। यो सबै निजले शंकाको भरमा लेखाएका होलान्।’
घाइतेको उपचार खर्च को कसले बेहोरेको हो त्यसबारे पनि आफूलाई थाहा नभएको बयान दिएका छन्। अब शुक्रबार पुनः चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइनेछ। उनको बकपत्र गराएर थुनछेक बहस हुनेछ।
त्यसपछि उनलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ। यसअघि बुधबार जिल्ला अदालत काठमाडौँबाट उनी ३० हजार धरौटीमा रिहा भएका थिए। तर उनीविरुद्ध भक्तपुरमा पुरानो मुद्दा भएकाले त्यहाँ लगिएको हो।
Shares

प्रतिक्रिया