राजनीति


अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको परिपत्रः एक हप्ताभित्र व्यावसायिक योजना पेश गर

अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको परिपत्रः एक हप्ताभित्र व्यावसायिक योजना पेश गर

नेपालखबर
साउन २९, २०८२ बिहिबार १६:१६, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिँदै परिपत्र गरेको छ।

मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्यहरू अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यो परिपत्र जारी गरेको हो।

मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबीच कार्य सम्पादन सम्झौता गर्ने तयारी पनि मन्त्रालयले गरेको छ। 

सम्झौताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई थप जवाफदेही र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न र हरेक संस्थालाई आफ्नो लक्ष्यप्रति जिम्मेवार बनाउन कार्ययोजना मागेको जनाए। 

‘स्वास्थ्य मन्त्रालयले पहिलो पटक सबै संघीय संस्थाहरूलाई व्यावसायिक योजना पेश गर्न परिपत्र गरेको हो,’ प्रवक्ता डा बुढाथोकीले भने ‘हाम्रो मुख्य उद्देश्य  कार्य सम्पादन सम्झौताले हरेक संस्थाको वार्षिक कार्ययोजना र त्यसको प्रगतिको स्पष्ट मापन गर्न सहयोग पुग्नेछ।’

स्वास्थ्य संस्थाहरूको स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका, २०७० मा पनि प्रस्तावित स्वास्थ्य संस्थाका लागि व्यावसायिक कार्य योजना आवश्यक पर्ने उल्लेख गरिएको छ। 

सम्झौताले स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्रोत र साधनको अधिकतम उपयोग गर्दै विशिष्टीकृत सेवा विस्तार गर्न र समग्र स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ पार्न मद्दत गर्ने मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad