राजनीति


जहाँ खेले राजा महेन्द्रले विश्व–चर्चित सिकार, त्यहीँ हुँदैछ ट्रम्प–पुटिन वार्ता

जहाँ खेले राजा महेन्द्रले विश्व–चर्चित सिकार, त्यहीँ हुँदैछ ट्रम्प–पुटिन वार्ता

अमेरिकी राष्ट्रपतिको जहाजबाट सिकारमा जाने क्रममा राजा महेन्द्र अलास्काको एलमेन्डर्फ एयरबेसमा


सीताराम बराल
साउन २९, २०८२ बिहिबार १८:२, काठमाडौँ

अमेरिकाले रुसबाट सन् १८६७ मा खरिद गरेको अलास्का यतिबेला विश्व–राजनीतिको चर्चामा छ। रुस–युक्रेन युद्ध समाप्त गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएपछि अलास्काको चर्चा फेरि चुलिएको हो।  

दुई शक्ति राष्ट्रका राष्ट्रपतिबीच हाल अमेरिकी राज्य रहेको पूर्व रुसी भूमि अलास्काको एंकरेजस्थित संयुक्त सैनिक अड्डा ‘एलमेन्डर्फ रिचर्डसन’ शुक्रबार भेटवार्ता हुनेछ। यो भेटवार्ताले रुस–युक्रेन युद्धसहित विश्व राजनीतिको भविष्य तय गर्ने अपेक्षा छ।

त्यही एलमेन्डर्फ रिचर्डसन सैन्य अड्डा र अलास्का सन् १९६७ को मध्यताका (विसं २०२४) को मध्य र चार वर्षअघि पनि चर्चाको विषय बनेको थियो। पाँच दशकको अन्तरालमा यो ठाउँ चर्चामा आउनुको कारण भने नेपालका राजा महेन्द्रले रानी रत्नका साथ त्यहाँ पुगेर गरेको सिकार थियो।  

राजा महेन्द्रको सिकार सन्दर्भका साथ चार वर्षअघि ‘एंकोरेज’ कसरी चर्चामा आयो, पहिले त्यसको चर्चा गरौँ। 

एंकोरेज सहरबाट दैनिक पत्रिका निस्कन्छ– एंकोरेज डेली न्युज। त्यसको ‘अनलाइन संस्करण’ मा एंकोरेज सहरको इतिहासका विभिन्न पाटाबारे इतिहासकार डेभिड रिमरको लेख प्रकाशित भइरहन्छ। 

तिनै रिमरको एउटा लेख त्यसको अनलाइन संस्करणमा १८ अक्टोबर २०२१ (१ कात्तिक २०७८) मा  प्रकाशित भयो। समाचारको शीर्षक थियो, ‘राजा महेन्द्र अलास्का आउँदाको खर्च त त्यति धेरै ठूलो भएको होइन, तैपनि उनी बिल (लागेको खर्चको) नतिरी हिँडे।’ 

इतिहासकार रिमरद्वारा लिखित यो सामग्रीमा राजा महेन्द्रको सिकार भ्रमणमा लागेको करोडौँ  रूपैयाँ रकम नतिरेका कारण त्यो सिकारका प्रबन्धक एआई बर्नेट नामक अमेरिकी कसरी आर्थिक रूपमा टाट पल्टिए भन्ने कारुणिक कथा थियो।  

राजकीय भ्रमणको सिलसिलामा राजा महेन्द्र २०२४ कात्तिकमा अमेरिका पुगेका थिए। भ्रमण तत्कालीन राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा भएको थियो। १५–१६ कात्तिक (२०२४) को औपचारिक राजकीय भ्रमण सम्पन्न भएपछि राजा महेन्द्र सिकारका लागि अलास्काको एंकोरेज पुगेका थिए।  

ट्रम्प र पुटिन, जो शुक्रबार अलास्काको एंकोरेजमा वार्तामा बस्दैछन्

बम्बईमा बनेको कार्यतालिका
राजकीय भ्रमणका लागि राजा महेन्द्र ८ कात्तिक (२०२४) मा नेपालबाट अमेरिका प्रस्थान गरेका थिए। तर, रोचक पक्षचाहिँ के थियो भने अमेरिका प्रस्थान गर्नुअघिल्लो दिनसम्म उनको ‘एंकोरेज’ जाने कार्यक्रम तय थिएन। 

परराष्ट्र मन्त्रालयले ७ कात्तिक (२०२४) मा राजा महेन्द्रको अमेरिका भ्रमणको कार्यतालिका सार्वजनिक गरेको थियो। नयाँ भ्रमण तालिकामा राजा महेन्द्र नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बम्बई (भारत) हुँदै कायरो (इजिप्ट), पेरिस (फ्रान्स), न्युयोर्क (अमेरिका) र राजधानी वासिङ्टन पुग्ने कार्यक्रम थियो। 

राजकीय भ्रमण १५–१६ कात्तिकका लागि तय थियो। कार्यतालिका अन्तर्गत राजकीय भ्रमणका रूपमा उनी न्युयोर्क र वासिङ्टनमा हुने कार्यक्रमहरूमा सहभागी हुने तय थियो। राजकीय भ्रमणको कार्यतालिका समाप्तिपछि १६ कात्तिकमा न्युयोर्कबाट लन्डन हुँदै रोम (इटली) पुग्ने र त्यहाँ ४ दिन बिताउने कार्यक्रम बनाइएको थियो।  

काठमाडौँबाट राजा महेन्द्र ८ कात्तिकमा बम्बईतर्फ उडे। १० कात्तिक (२०२४) सम्म उनी बम्बईमै थिए। बम्बईमै रहेका बेला भ्रमण तालिका संशोधन भयो। संशोधित तालिका अनुसार राजाले २० कात्तिकमा संयुक्त राष्ट्र संघको २२औँ अधिवेशन (महासभा) लाई समेत सम्बोधन गर्ने भए।  

यसको अर्थ के भने, ‘दुई दिने’ भनिएको उनको अमेरिका भ्रमण संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएपछि एक हप्ता लम्बिने भयो। अब उनको रोम भ्रमणको कार्यक्रम स्थगित भयो।  

नयाँ कार्यतालिका अनुसार १६ कात्तिकका दिन राजा रोम (इटली) को साटो अलास्का उड्ने भए। यसरी राजा बम्बईमै रहेका बेला सिकारका लागि अलास्का जाने कार्यक्रम बनाइएको थियो।    

‘अमेरिकाका ती स्थान, जहाँ श्री ५ सवारी भइबक्सनेछ’ शीर्षकमा गोर्खापत्रको १७ कात्तिक (२०२४) को अंकमा समाचार प्रकाशित भएको थियो। त्यो समाचारमा राजा महेन्द्र अमेरिकाका पूर्वराष्ट्रपति ड्वेट आइजनआवरसँग भेट गर्न गेटिसबर्गस्थित ‘आइजनआवर फार्म’ जाने उल्लेख थियो। र, त्यसैमा उल्लेख थियो, सिकारका लागि राजा महेन्द्र अलास्का जाने कार्यक्रम पनि। 

‘सिकारको निमित्त श्री ५ महाराजधिराज सवारी होइबक्सँदा मौसुफबाट अमेरिकामा सबैभन्दा ठूलो राज्य, जंगलले भरिपूर्ण, हिमाच्छादित, धेरै कम थाहा पाइएको तथा हाँक दिइरहने एकदम उत्तरमा स्थित अलस्का नजर गरिबक्सनेछ,’ गोर्खापत्रको समाचारमा भनिएको थियो, ‘सिकारीहरूलाई आकर्षण गरिरहने भालु यहाँ प्रशस्त मात्रामा पाइन्छन्, यहाँको बाह्रसिंगेको सिकारलाई धेरैजसो सिकारीहरू रुचाउँछन्।’

महेन्द्र २०१७ वैशाखमा पनि अमेरिकाको राजकीय भ्रमणमा गएका थिए। त्यो भ्रमण नेपालका राष्ट्राध्यक्षको तहबाट अमेरिकामा भएको पहिलो राजकीय भ्रमण थियो। 

त्यो पहिलो भ्रमणमा पनि तत्कालीन अमेरिकी राष्ट्रपति आइजनआवरले क्यालिफोर्नियामा सिकारको प्रबन्ध गरिदिएका थिए। 

यसपटकको दोस्रो भ्रमणमा पनि उनले सिकारमा जाने रहर गरे। राष्ट्रपति जोन्सनले उनको सौख पूरा गरिदिए। अमेरिकाले रुसबाट किनेको अलास्काको एंकोरेजमा सिकार खेल्ने व्यवस्था गरियो। 

अलास्का सिकारपछि राजा महेन्द्र 

एंकोरेजका लागि राजा महेन्द्र २३ कात्तिक (२०२४) मा केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (न्युयोर्क) बाट सी–१३७ जेट चढेर अलास्काको एलमेन्डर्फ एयरबेस पुगे। राजा महेन्द्रलाई त्यहाँसम्म पुर्‍याउन राष्ट्रपति जोन्सनले आफ्नै जेट पठाइदिएका थिए।
  
एलमेन्डर्फ एयरबेस पुगेपछि राजा–रानी अर्काे सानो जहाजमा चढे। दक्षिणतर्फ नजिकै रहेको कोडियाक टापुमा पुग्न यो सानो जहाज प्रयोग गरिएको थियो। एंकोरेज सहर त्यही टापुमा पर्छ। राजा महेन्द्रले यो टापुमा ४ दिन बिताए।  

काठमाडौँबाट अमेरिका प्रस्थान गर्दा राजा–रानीका साथ एक दर्जन संख्याको प्रतिनिधिमण्डल थियो। उपप्रधान तथा परराष्ट्रमन्त्री कीर्तिनिधि विष्ट पनि राजाकै साथ थिए। त्यसबाहेक राजाका निजी सचिवहरू बडाकाजी पुष्पराज भण्डारी र मीरसुब्बा (मीसु) मधुसुदन राजभण्डारी, सचिव मीसु ईश्वरीमान श्रेष्ठ, प्रेससचिव मीसु रेणुलाल सिंह थिए।

परराष्ट्रसचिव यदुनाथ खनाल, फिल्डमार्सल नीरशमशेर जबरा, मेजर जनरल मोहनविक्रम शाह, संस्कृति विभागका निर्देशक एमएन खनाल, मदरल्यान्डका सम्पादक मणीन्द्रराज श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकृत बद्री खनाल पनि प्रतिनिधिमण्डलका सदस्य थिए।  

तर, राजा महेन्द्रको ‘अलास्का सिकार भ्रमण’ मा यी सबै जना थिएनन्। जर्मनीको बोनमा हुने एउटा कार्यक्रमका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री विष्ट बोनतर्फ लागे।

अलास्का जाने टोलीमा अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत जनरल पद्मबहादुर खत्री, राजाका एडीसी जनरल शेरबहादुर मल्ल, दरबारको सिकार अड्डाका प्रमुख कर्णेल सुशीलशमशेर (रानी रत्नका भाइ), शाही चिकित्सक एससी हल्डर र राजा–रानीको सेवासुश्रुषा गर्ने सहयोगीहरू मात्र थिए। 

खोजेर ल्याइएको भालुको सिकार
नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि जानेहरूले दरबारको ठूलो सिँढी चलेर मूलढोकाभित्र प्रवेश गर्नासाथ सुरक्षित राखिएको एउटा मृत सेतो भालु देख्न सक्छन्। त्यो भालु राजा महेन्द्रको पालादेखिकै हो। र, त्यो भालुको सम्बन्ध राजा महेन्द्रको यही अलास्का भ्रमणसँग छ। 

‘त्यो राजा महेन्द्रले अमेरिका भ्रमणमा जाँदा मारेको भालु हो, अमेरिका भ्रमणबाट फर्केपछि त्यसलाई नारायणहिटीमा ल्याएर राखिएको थियो,’ नारायणहिटी दरबार संग्रहालयका पूर्वप्रमुख रोहित ढुङ्गाना भन्छन्, ‘त्यो भालु राजा महेन्द्रले अलास्कामा मारेका थिए।’

खासमा अलास्का हिउँले ढाकिएको अमेरिकी राज्य हो। अन्य स्थानमा पाइने भालु सामान्यतया कालो रङका हुन्छन्। तर, अलास्कामा भने खैरो रंगको भालु पाइन्छ। राजा महेन्द्र त्यहाँ पाइने खैरो भालु र अमेरिकी वन्यजन्तुको सिकारका लागि एंकोरेज पुगेका थिए। 

राजा महेन्द्रको ‘एंकोरेज सिकार’ का क्रममा खिचिएका सीमित उपलब्ध तस्बिरमध्ये एउटामा हिउँले भरिएको जंगलमा खिचिएको एक तस्बिरमा राजा महेन्द्र टेलिस्कोपजडित राइफल र आफूले सिकार गरेको जंगली बाख्रोसँगै देखिन्छन्। 

त्यो तस्बिरमा राजा महेन्द्रका साथमा एक अर्का विदेशी व्यक्ति पनि देखिन्छन्, जो उनका सिकारका प्रबन्धक एआई बर्नेट हुन्। 

इतिहासकार डेभिड सिमरले राजा अलास्का जाँदा र त्यहाँ सिकार गर्दाको खर्च नतिरेपछि टाट पल्टेको भनिएका व्यक्ति यिनै हुन्।

अर्काे तस्बिरमा राजा महेन्द्र आफूले सिकार गरेको छालासहितको भालुको टाउकोसँगै बसेका देखिन्छन्। नारायणहिटीको सजावटका लागि राखिएको भालु र यो तस्बिरमा देखिने भालु एकै हुन्। 

तेस्रो तस्बिरमा राजा महेन्द्र नेपालीहरूका लागि अपरिचित जनावरको दुई छाला अगाडि बसेका छन्। अर्काे एक तस्बिरमा झुन्ड्याएका छालासहित अलास्काका जंगलमा पाइने ‘मुस’ (फराकिलो सिङ भएको हरिण) को सिङ भुइँमा देखिन्छ। 

आफूले सिकार गरेको जंगली बाख्रो र सिकार गाइड बर्नेटका साथ राजा महेन्द्र

इतिहासकार रिमरका अनुसार अलास्कामा राजा महेन्द्र र रानी रत्नले कोडिआक (खैरो रंगको भालु), मुस, केरिबु (हरिण), भेडा र दुईवटा भालुको सिकार गरेका थिए। यसआधारमा तस्बिरमा देखिने छाला र ‘मुस’ को सिङ उनैले सिकार गरेका जनावरका हुन्। 

कुन बन्दुक प्रयोग गरेर राजा महेन्द्रले यी जनावरहरू सिकार गरे होलान्! यसबारे काठमाडौंस्थित अमेरिकी सूचना केन्द्रले जानकारी दिएको थियो। केन्द्रको सूचना उधृत गर्दै १६ मंसिर (२०२४) को गोर्खापत्रमा भालु सिकारमा प्रयोग गरिएको राइफल अमेरिकाका पूर्वराष्ट्रपति आइजनहावरले उपहार स्वरूप प्रदान गरेको उल्लेख थियो।  

समाचार अनुसार पूर्वराष्ट्रपति आइजनहावरले उपहारस्वरूप प्रदान गरेको शक्तिशाली राइफलद्वारा खैरो भालुको सिकार गरेका थिए। भालु सिकारमा तीनवटा गोली प्रहार भएको थियो। र, सिकारका बेला एकजना गाइडले साथ दिएका थिए।   

रानी रत्नले पनि भालु सिकार गरेकी थिइन्, जुन राजा महेन्द्रले सिकार गरेको भन्दा सानो आकारको थियो।  

इतिहासकार रिमरले रानी रत्नले कसरी भालुमाथि गोली चलाइन्, त्यसबारे उल्लेख गरेका छन्। रिमरका अनुसार, सिकारका लागि एउटा जिउँदो भालु ठिक्क पारेर रानीले विमानबाट बन्दुक चलाएर त्यसको ‘सिकार’ गरेकी थिइन्। 

सिकारका प्रबन्धक बर्नेटले सन् १९६९ मा ‘लस एन्जलस टाइम्स’ सँग नेपाली राजदम्पतीको सिकारबारे कुराकानी गरेका थिए। इतिहासकार रिमरले बर्नेटको ‘लस एन्जलस टाइम्स’ सँगको सोही कुराकानीलाई सूचना स्रोतका रूपमा उद्धृत गरेका छन्। 

बर्नेटका भनाइमा रानी रत्नले जस्तै राजा महेन्द्रले पनि ठिक्क पारेर राखिएको भालुलाई गोली हानेका थिए। ‘राजा महेन्द्रको दृष्टि कमजोर थियो,’ बर्नेटले ‘लस एन्जलस टाइम्स’सँग भनेका छन्, ‘आँखा कमजोर भएकाले उनलाई नजिकै लगेर ‘यही हो सिकार, अब यसको सिकार गर’ भन्नुपर्थ्यो।’ 

आफूले सिकार गरेको जंगली भालुका साथ राजा महेन्द्र 

खर्च नतिर्दा चर्चित बनेको एंकोरेज
एंकोरेजमा बसेर राजा महेन्द्र स्वदेश फर्के। नेपाल फर्के पनि त्यो सिकारको खर्च कसले तिर्ने भन्ने विवादका कारण यो विषय अमेरिकी विदेश मन्त्रालय (डिपार्टमेन्ट अफ स्टेट) भित्र चर्चाको विषय भइरह्यो। 

यही विवादका बीच सन् १९६९ मा अमेरिकी पत्रिका ‘लस एन्जलस टाइम्स’ मा यसबारे लामो समाचार सामग्री छापिएपछि राजा महेन्द्र, अलास्का र उनको एंकोरेज सिकारको विश्वव्यापी चर्चा भयो।  

बर्नेटले नेपाली राजदम्पतीको सिकारको प्रबन्ध अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूको आग्रहमा गरेका थिए। त्यसैले सिकारमा लागेको खर्च मन्त्रालयले तिर्ला भन्ने विश्वास उनलाई थियो। 

यता जंगलमा रमाइरहेका निर्दाेष वन्यजन्तुको सिकार अमेरिकी सरकारको खर्चमा गरेको भन्दै राजनीतिक वृत्तमा राजा महेन्द्रको त्यो सिकारको आलोचना सुरु भइसकेको थियो। त्यसैले, अमेरिकी विदेश मन्त्रालय बिल तिर्नबाट पन्छिन खोज्यो। अमेरिकी अधिकारीहरूले राजाको सिकारमा लागेको खर्च नेपाली राजदूतावासबाट असुल गर्न प्रबन्धक बर्नेटलाई सुझाव दिए। 

मन्त्रालयका अधिकारीहरूको यस्तो जवाफपछि बर्नेटले नेपाली दूतावासलाई ६० हजार डलर (त्यसको वर्तमान मूल्याङ्कन अहिले ६ करोड भन्दा बढी हुन आउँछ) को बिल बुझाए। 

तर, ‘सिकारको प्रबन्ध अमेरिकी विदेश मन्त्रालयले गरेको हो’ भन्दै नेपाली राजदूतावास पनि पन्छिन खोज्यो। अप्ठेरोमा परेका बर्नेटले आफूलाई प्राप्त हुने नाफा कटौती गरेर ४५ हजार डलरको अर्काे बिल नेपाली राजदूतावासमा पठाए। 

तर पनि उनले भएको खर्च फिर्ता पाएनन्। 

सिकारमा लागेको त्यति खर्च तिर्न नेपाल र अमेरिका दुवै तयार नभएपछि बर्नेटलाई समस्या पर्‍यो। उनले आफ्ना कामदारहरूलाई पारिश्रमिक दिन पाएनन्। सिकारमा भइसकेको खर्चसमेत तिर्न सकेनन्। 

सम्बद्ध पीडितहरूले बर्नेटविरुद्ध मुद्दासमेत दायर गरे। भएको खर्चवापतको रकम नपाउँदा उनको स्थिति कस्तो भइसकेको थियो भने आफ्नो मुद्दा लडिदिने कानुन व्यवसायीहरूलाई दिने रकम समेत उनीसँग थिएन।    

‘लस एन्सलस टाइम्स’ ले राजाको सिकार प्रबन्ध गरिदिँदा कसरी उनी आर्थिक रूपमा टाट पल्टे, त्यसै विषयमा समाचार लेखेको थियो।

बर्नेटको नामअंकित जहाजका साथ राजा महेन्द्र 

‘नौ वर्षसम्म गाइड (प्रबन्धक) का रूपमा काम गरेबापत मैले ६० हजार डलर कमाएको थिएँ, त्यो सबै रकम नेपालका राजाको भ्रमणमा स्वाहा भयो,’ बर्नेटले सो पत्रिकासँग भनेका थिए, ‘मैले आफूसँग रहेका महत्त्वपूर्ण कलाकृति पनि गुमाएँ। सिकारीहरूलाई खुवाउने सामग्रीका लागि किरानाको सामान किन्न नसक्ने गरी म रित्तिएँ।’ 

‘राजदूतावासले गरेको ढिलासुस्ती समय क्रममा मौनतामा बदलियो, बर्नेटले रकम पाएनन्,’ इतिहासकार रिमरले लेखेका छन्, ‘बर्नेटले रकम नपाउनुको अर्थ अरू सयौँ अलास्कावासीले पनि आफूले पाउनुपर्ने रकम पाएनन्।’ 

राजा महेन्द्रको सिकार र सिकारमा लागेको रकम नतिरिदिँदा बर्नेट आर्थिक रूपमा कसरी टाट पल्टिन पुगे, चार वर्षअघि यही विषय इतिहासकार रिमरले ‘एंकोरेज डेली न्यूज’ मा खोतले। त्यसैक्रममा नयाँपुस्ताका नेपालीहरूले राजा महेन्द्रको अलास्का भ्रमणबारे जानकारी पाए। 

राजा महेन्द्रको सिकारका कारण नेपालीहरूले चिनेको एंकोरेज र अलास्कालाई अब विश्वले ट्रम्प–पुटिनबीचको बहुचर्चित वार्तास्थलका रूपमा चिन्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad