ad ad

राजनीति


सरकार जनताको अभिभावक बन्न चुक्यो : राणा

सरकार जनताको अभिभावक बन्न चुक्यो : राणा

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ८:५४,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले आम नागरिकको अभिभावक बन्न सरकार चुकेको आरोप लगाएका छन्।

 अध्यक्ष राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिबको पीडा नसुनेर जनताको अभिवावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन्।

‘दैनिक ज्यालामा बाँच्ने गरिब नेपालीको पीडा अहिलेको टड्कारो समस्या हो। खाली पेट बच्चा बोकेर लामो दूरी हिँड्दै घर फर्कन बाध्य नागरिकलाई सरकारले थुन्न थालेको छ,’ अध्यक्ष राणाले रामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘थुनेर मात्र समस्याको हल हुँदैन, विपन्न वर्गको कष्ट दूर गर्दैन। यस मानेमा जनताको अभिवावक बन्नबाट सरकार पूर्ण चुकेको छ ।’

संकटको समयमा सरकारले मानवीय संवेदना प्रदर्शन गर्न नसकेको राणाको ठहर छ।

बन्दाबन्दी कार्यान्वयन गर्न सरकार अमानवीय बन्नुपर्ने बाध्यता नरहेको भन्दै उनले बिचल्लीमा परेका श्रमिकलाई घर पुग्ने व्यवस्था वा यथास्थानमै खाने बस्ने प्रबन्ध गर्न उनले माग गरेका छन्। उनले सरकारले गरिब, श्रमिकका साथमा आम नेपालीको अभिवावकत्व ग्रहण गर्न सरकारलाई आग्रह समेत गरे।

विपद् व्यवस्थापनको स्थापित मान्यताविपरीत सरकारले नै गृह प्रशासनलाई गुमराहमा राखेकोमा राणाले चिन्ता प्रकट गरेका छन्। कोरोना महामारी विरुद्धको संघर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गर्नु आठौं आश्चर्यसरह भएको उनले बताए।

‘विपद् व्यवस्थापनमा गृह मन्त्रालयको केन्द्रीय भूमिका रहने गर्दछ। तर, कोभिड–१९ विरुद्धको संघर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गरिएको छ। पद्धतिअनुकूल राज्यको प्रमुख संरचना क्रियाशील नगराउनु आठौं आश्चर्यसरह हुन्छ। यस्तो असामान्य परिदृश्यले संकटमा सही र सकारात्मक सन्देश प्रवाह गर्दैन,’ राणाले भनेका छन्।

अध्यक्ष राणाले प्रकोपको बेलामा सरकार मितव्ययी बन्नु पर्ने सुझाएका छन्। पछिल्ला नियुक्तिहरू असान्दर्भिक रहेको भन्दै सरकारको आलोचना पनि गरेका छन्।

‘विश्व महामारीमा छ, देश संकटमा छ । तर कहीँ नभएको जात्रा हाँडी गाउँमा जस्तो सरकार नयाँ–नयाँ पद सिर्जनामा लागेको छ। जबकी सरकार अहिले मितव्ययी बनेर उदाहरण बन्नु पर्ने हो,’ उनले भनेका छन्, ‘यसैले अत्यावश्यक बाहेकका सुविधा, जम्बो सुरक्षा, सल्लाहकार टोली कटौती गरी स्रोत जनसेवामा लगाउनु बुद्धिमानी हुनेछ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .