राजनीति


बलियो सरकारलाई आजै ढल्छ, भोलि ढल्छ भनेर हल्ला पिटियो: प्रधानमन्त्री ओली

बलियो सरकारलाई आजै ढल्छ, भोलि ढल्छ भनेर हल्ला पिटियो: प्रधानमन्त्री ओली

नेपालखबर
साउन २८, २०८२ बुधबार १४:१८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमालेसहितको गठबन्धन सरकार स्थिर सरकार भएको बताएका हुन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नीतिगत स्थिरता कायम गर्नका लागि यो सरकार बनेको बताएका हुन्।  

'मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो,' उनले भने,'तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन्। सरकार बनाउने संसद्को गणितले हो।'

बलियो जगमा बनेको सरकार आजै ढल्छ भोलि नै ढल्छ भनेर अस्थिरताको हल्ला किन पिटिएको भनेर ओलीले प्रश्न गरे। 

'बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन,' उनले भने, 'म सबैलाई स्पष्ट पार्न चाहन्छु,  अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।'

यही प्रसंगमा ‌ओलीले सदनमा सुनाएको कथा यस्तो छ  

अङ्ग्रेजी साहित्यमा एउटा प्रसिद्ध कथा छ– सोलोमनको न्याय ! दुई महिलाले एउटै बच्चालाई आफ्नो छोरो भएको दाबी गर्छन्। दावी–प्रतिदावीबाट हैरान सोलोमनले सबैलाई अचम्मित पार्ने फैसला सुनाउँछन्– यो बच्चालाई ठाडो चिरेर दुवै महिलाहरूलाई आधा–आधा दिनू ! तीमध्ये एउटी महिला आधा भए पनि ठीकै छ भन्छिन्, तर अर्की आत्तिँदै र रुँदै भन्छिन्, ‘भो ! मलाई चाहिएन। बच्चा उसैलाई देऊ, तर मर्न नदेऊ !’ त्यसपछि न्यायमूर्ति सोलोमनले तिनै महिला साँचो आमा भएको थाहा पाउँछन् र बच्चा उसैलाई दिन्छन्। 
लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने हामी यहीँ छौं। हामीलाई यो प्रणाली ज्यान सरह प्रिय छ। यसको जीवनको लागि हामी कस्तै कष्ट सहन पनि तत्पर छौं।
कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौं। कति लोकतन्त्रको संबद्र्धनका लागि हैन, त्यसको उपभोग गर्ने– त्यसको हुर्मत लिने अभिष्ट भएका पनि हुनसक्छौं।  तिनीहरूबाट यो प्रणाली जोगाऔं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad