तेस्रो पटक सत्ताको नेतृत्व गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमणको कुनै अवसर छाडेका छैनन्। तर, प्रधानमन्त्री बनेको एक भइसक्दा पनि कुनै महत्वपूर्ण मुलुकका राष्ट्रपति–उपराष्ट्रपतिको स्वागत गर्ने अवसर भने उनलाई जुरेको छैन।
उच्च पदस्थ विदेशी पाहुनाको यो ‘खडेरी’ भने अर्को हप्ता समाप्त हुने सम्भावना बढेको छ। तीव्र आर्थिक विकास गरिरहेको दक्षिण–पूर्वी एसियाली मुलुक भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना अत्यधिक रहेको स्रोतहरुले बताएका छन्।
उपराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति भो थी आन सुवानले दुई दिने नेपाल भ्रमण गर्दैछिन्। बौद्धमार्गी मुलुक भियतनामकी उपराष्ट्रपति आन सुवान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीसमेत जाने गरी नेपालको भ्रमण गर्न लागेकी हुन्।
उनी कम्युनिस्ट मुलुक भियतनामको प्रभावशाली राजनीतिज्ञमा पर्छिन्। ६ अप्रिल २०२१ मा ९३ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर भियतनामको उपराष्ट्रपति निर्वाचित भएकी उनले आफ्नो कार्यकालका राष्ट्रपतिहरुको आकस्मिक राजीनामाका कारण दुईपटक ‘कार्यवाहक राष्ट्रपति’ को भूमिका समेत निर्वाह गरिसकेकी छन्।
हाइस्कुलकी पूर्वशिक्षिका उपराष्ट्रपति आन सुवानले सन् १९९५ मा मात्र भियतनामी कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेकी थिइन्।
त्यसयता उनी पार्टीको महिला संगठनको उपाध्यक्ष तथा अध्यक्ष हुँदै केन्द्रीय समितिको सदस्य बनिन्। त्यसबाहेक त्यहाँको उपल्लो सदन प्रमुखको जिम्मेवारी पनि उनले सम्हालिसकेकी छन्।
‘नेपाल–भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ, भियतनामी उपराष्ट्रपतिको भ्रमण त्यसै अवसरमा हुन लागेको हो,’ स्रोतले भन्यो, ‘अन्तिम टुङ्गो लागिनसके पनि भ्रमणको तयारी भने सुरु भएको छ।’
जानकारी अनुसार काठमाडौँमा उच्चस्तरीय भेटघाटबाहेक उपराष्ट्रपति आन सुआनले नेपाल भ्रमणका क्रममा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शनलाई आफ्नो भ्रमणको मुख्य उद्देश्य बनाएकी छन्।
त्यसबाहेक काठमाडौँका तीनवटै मुख्य सहरका दरबार स्क्वायरहरुको भ्रमण गर्ने चाहना पनि उनले राखेकी छन्।
विदेशी उच्च पाहुनाहरु आउँदा काठमाडौँको बसन्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरमध्ये एउटाको भ्रमणलाई तालिकामा राख्ने गरिएको छ।
भियतनामी उपराष्ट्रपतिले भने आफै उपत्यकाका तीनवटै दरबार स्क्वायरहरुको भ्रमण गर्ने चाहना राखेकी छन्। जीवित संग्रहालयको रुपमा चिनिने काठमाडौँ उपत्यकाबारे उपराष्ट्रपति आन सुआनले गहिरो जानकारी र चाख राख्दिरहिछन् भन्ने तीनवटै दरबार स्क्वायर घुम्ने उनको चाहनाले देखाएको छ।
‘विदेशी अतिथिहरु नेपाल भ्रमणमा आउँदा नेपालकै प्रस्तावमा बसन्तपुर, पाटन वा भक्तपुर दरबार स्क्वायरमध्ये एउटाको भ्रमण गराउने गरिएको छ,’ स्रोतले भन्यो, ‘तर, भियतनामी उपराष्ट्रपतिले भने तीनवटै दरबार स्क्वायरको भ्रमण गर्ने चाहना प्रकट गर्नुभएको छ।’
स्रोतका भनाइमा भ्रमणको अन्तिम टुङ्गो लागेमा उपराष्ट्रपति आन सुआनको नेपाल भ्रमण ८–९ भदौ (२४–२५ अगस्ट) मा हुनेछ।
‘लुम्बिनी भ्रमण र काठमाडौँमा उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम छ, तीनवटै दरबार स्क्वायरहरुको भ्रमणको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘भ्रमण अवधि दुई दिन मात्र भएकाले कुनै एक वा दुई दरबार स्क्वायरको मात्र भ्रमण हुने सम्भावना ज्यादा छ।’
Shares

प्रतिक्रिया