राजनीति


कुलिङ पिरियडमा चलखेल प्रकरण: रामहरिलाई सभापति स्वीकार्न सकिँदैन- एमाले, प्रतिवेदन अध्ययन गर्दैछौँ- कांग्रेस

कुलिङ पिरियडमा चलखेल प्रकरण: रामहरिलाई सभापति स्वीकार्न सकिँदैन- एमाले, प्रतिवेदन अध्ययन गर्दैछौँ- कांग्रेस

नेपालखबर
साउन २७, २०८२ मंगलबार १३:५१, काठमाडौँ

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको विषयमा भएको चलखेलबारे अध्ययन गर्न बनेको संसदीय छानबिन समितिले साउन २० गते राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितलाई जिम्मेवार ठहर गर्‍यो। 

समितिले उक्त प्रतिवेदन बुझाइसक्दा पनि अहिलेसम्म कसैमाथि कुनै कारबाही प्रक्रिया भने अघि बढाइएको छैन।

कांग्रेस सांसद खतिवडालाई समितिको सभापति स्वीकार्ने वा नस्वीकार्ने भन्ने छलफलमा दलहरू केन्द्रित छन्। 

समितिकै सदस्यहरूले नैतिकताको प्रश्न उठाउँदै खतिवडालाई राजीनामा दिएर पदबाट अलगिन सुझाव दिएका छन्। 

समितिका सदस्य रहेका नेकपा एमालेका सांसद वासुदेव घिमिरेले नैतिकताको आधारमा सभापतिले राजीनामा दिनुपर्ने बताए। 

‘हाम्रो अपेक्षा के भने सभापति र सचिव भनेर प्रतिवेदनले कोट गरिसकेको अवस्था छ। यसमा द्विविधा हुनुपर्दैन। यो तोकेरै आइसकेपछि भटाभट राजीनामा दिनुपर्ने हो,’ घिमिरेले नेपालखबरसँग भने, ‘सम्बन्धित पार्टीले नै निर्णय गर्नुपर्ने हो। अब उहाँ सभापति हुनुहुँदैन भन्ने हो। उही पार्टीकै अर्को माननीय सभापति भए भइहाल्यो। राम्रो पनि त्यही हो।’

त्यस्तै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेका समिति सदस्य हितराज पाण्डेले छानबिन समितिको कार्यान्वयन हुनुपर्ने पक्षमा आफूहरू रहेको बताए। 

‘छानबिन समितिको प्रतिवेदन सबैको सहमतिमा तयार भएको हो। यो कार्यान्वयन हुनुपर्छ,’ उनले नेपालखबरसँग भने, ‘सभापतिले नैतिकता देखाउनुहुन्छ कि हुन्न? उहाँको पार्टीले के निर्णय गर्छ? हेरिरहेका छौँ। उहाँले सभापति पदमा बस्ने नैतिकताचाहिँ छैन अहिले।’

यता कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने प्रतिवेदन अध्ययन गरिनसकेको र त्यसबारे आफूले अहिले कुनै प्रतिक्रिया नदिने बताए। 

उनले भने नेपालखबरसँग भने, ‘पहिलो त प्रतिवेदन मेरो हातमा परिसकेको छैन। दोस्रो प्रतिवेदन नै नपढी केही भन्ने कुरा भएन। यसबारे म अहिले केही प्रतिक्रिया दिन्न।’

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्कीले सभापतिमाथि नैतिकताको प्रश्न उठेको बताइन्। ‘सभापतिमाथि नैतिकताको प्रश्न त उठेको छ। छानबिन समितिको प्रतिवेदन सार्वजनिक भइसकेपछि यता समितिको बैठक बसेको छैन,’ उनले नेपालखबरसँग भनिन्, ‘बैठकपछि सामूहिक छलफल र निर्णय होला। अहिलेकै अवस्थामाचाहिँ नैतिकता त उहाँ (खतिवडा)ले ख्याल गर्ने कुरा हो।’

खतिवडामाथि प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले सोमबार सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलासँग छलफल गरेका थिए। 

छलफलमा सभामुख घिमिरेले खतिवडाको विषयमा चासो राखेका थिए।

‘प्रमुख सचेतक र मुख्य सचेतकसँग सभामुखले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विषयमा कुरा गर्नुभएको थियो,’ स्रोतले भन्यो, ‘यसमा कांग्रेसले के निर्णय गर्छ भनेर एमाले कुरेर बसेको अवस्था छ। कांग्रेसले गरेको निर्णयमा एमालेले असहमति जनाउने अवस्था पनि छैन। प्रमुख प्रतिपक्षी दलले यसलाई कसरी उठाउँछ भन्नेबारे सभामुखले चासो राखेको देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad