नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पदमा बसेकाहरूले महाधिवेशन गर्नुपर्छ भनेर माग गर्ने कि समयमा गर्नुपर्ने काम गर्ने भन्दै प्रश्न गरेका छन्। नेपाली कांग्रेस लहान नगरसमितिले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै उनले क्रियाशील सदस्यता नवीकरणमा भइरहेको ढिलाइप्रति लक्ष्य गर्दै समयबद्ध रूपमा काम गर्नुपर्नेमा जाेड दिए।
‘क्रियाशील सदस्यता नवीकरण हुनुपर्यो, नयाँ क्रियाशील सदस्यता दिनुपर्यो, त्यसै त महाधिवेशन हुँदैन नि,’ कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले लहानमा बिहीबार आयोजित कार्यक्रममा भने, ‘समयमा गर्नुपर्ने काम नगर्ने अनि समयमा महाधिवेशन हुनुपर्यो भनेर कराएर मात्रै हुन्छ?’
पार्टीको विधान र नेपालको संविधानअनुसार नेपाली कांग्रेसको १५ महाधिवेशन हुने पनि उनले प्रष्ट पारे।
‘पार्टीको विधानमा हरेक ४ वर्षमा महाधिवेशन हुनुपर्छ भनेर किटान गरेको छ। केही विपद् आएको खण्डमा, पार्टीले गर्नुपर्ने काम गर्न पूरा नगरेको खण्डमा एक वर्ष म्याद थप्ने गरेकै छ। हरेक सभापतिले थप्ने गरेकै छ,’ सिंहले भने, ‘त्यतिमात्रै नभएर संविधानसभाको समयमा पाँच वर्षमा गर्न नसकेर सर्वदलीय बैठक राखेर, सबैलाई चित्त बुझाएर कांग्रेसले नेतृत्व गरिरहेको बेलामा महाधिवेशन गर्दा संविधान लेखनको काम एकातिर पर्ने भएका हुनाले अर्को ६ महिना थप्न पाउँ भनेर संविधान संशोधन गरेको हो नि त।’
Shares

प्रतिक्रिया