राजनीति


निर्वाचन आयोगलाई एमालेको पत्र: ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ अस्वीकार्य

निर्वाचन आयोगलाई एमालेको पत्र: ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ अस्वीकार्य

नेपालखबर
साउन २२, २०८२ बिहिबार १४:१, काठमाडौँ

निर्वाचन आयोगले तयार पारेको 'राजनीतिक दल स्वमूल्यांकन कार्यविधि'को मस्यौदाप्रति सत्तारुढ नेकपा एमालेले असहमति जनाएको छ। 

राजनीतिक दलको मूल्यांकन उसकै आन्तरिक मामिला भएकाले निर्वाचन आयोगले बनाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ स्वीकार गर्न नसकिने जवाफ एमालेले दिएको हो। 

एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यका अनुसार पार्टीका महासचिव शंकर पोखरेलले आज पत्र लेखेर निर्वाचन आयोगलाई त्यस कार्यविधिप्रति असहमति जनाएका हुन्। 

‘स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला हो, नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ। राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनीतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो’, उनले निर्वाचन आयोगलाई एमालेले पठाएको पत्रको भाषा सुनाउँदै भने, ‘सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति नेकपा एमालेको असहमति रहेको छ।’ 

निर्वाचन आयोगले हालै राजनीतिक दलहरूलाई ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदा पठाएको थियो। मस्यौदामा राजनीतिक दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न निर्वाचन आयोगले सचिवको नेतृत्वमा समिति गठनको व्यवस्था राखेको छ।

कार्यविधिको दफा ५ मा मूल्यांकन समितिको व्यवस्था छ । जसमा भनिएको छ, ‘राजनीतिक दलको स्वमूल्यांकन प्रणालीको सञ्चालन, रेखदेख र निर्देशन गर्न देहाय बमोजिमको मूल्यांकन समिति रहनेछ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad