रुपन्देही-३ मा हुने उपचुनावका लागि रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्।
रास्वपाले बिहीबार फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो।
सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।
महर्जनबाहेक सबै रुपन्देहीकै हुन्।

भोलि बिहान १० देखि पर्सि साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध गर्न सकिने रास्वपा सहमहामन्त्री एवं रुपन्देही-३ का चुनावी कमान्डर विपिन आचार्यले जानकारी दिए।
यसका लागि रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिनुपर्नेछ। साउन २६ गते प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ।
त्यस्तै रास्वपाले आवेदन दिएकामध्येबाट उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन गर्ने भएको छ, जसको अंकभार ५० प्रतिशत हुनेछ।
भदौ १२ गते बिहान ७ देखि १३ गते साँझ ७ बजेसम्म प्रारिम्भक निर्वाचन हुने र त्यसमा रुपन्देही-३ का रास्वपाका पार्टी सदस्यहरू र केन्द्रीय सदस्यहरूले मतदान गर्न पाउने आचार्यले बताए।
प्रारम्भिक निर्वाचनबाट पाउने ५० प्रतिशत अंकभारलाई सय प्रतिशत मानेर चुनाव हुँदा रुपन्देही-३ मा रास्वपा सदस्यको मतभार ८० प्रतिशत र त्यही क्षेत्रमा रास्वपाको समितिमा रहेका सदस्यको अंकभार १० प्रतिशत हुनेछ।
त्यस्तै केन्द्रीय सदस्यको १० प्रतिशत हुनेछ।
प्रारम्भिक निर्वाचनबाट प्राप्त अंक र पार्टीले गर्ने निर्णयबाट उम्मेदवार तय गरिनेछ।
Shares

प्रतिक्रिया