राजनीति


‘संसदमा म’मा राजेन्द्र बजगाईं : संसदमा मन्त्रीहरूसँग आँखा जुधाउन सकिँदैन, छिर्नेबित्तिकै मनै नकारात्मक हुन्छ (भिडिओ)

‘संसदमा हामी बहस गर्न सक्दैनौँ, त्यो पार्लियामेन्ट होइन, एउटा थिएटर हो’

नेपालखबर
साउन २० , काठमाडौँ

राजेन्द्र बजगाईं त्यतिबेला किशोर नै थिए। राजनीतिप्रति खासै रुचि थिएन। तर, जब उनले आफ्नै फुपाजुले दरबार घेराउ गरेको विद्रोहको कथा सुने, उनको मनमा गहिरो प्रभाव पर्‍यो। बनारसदेखि नै बीपी कोइरालासँगै सहकार्य गरेका उनका फुपाजु नन्दलाल बोहोरा र श्रीभद्र शर्माहरूले गरेको विर्ताविरुद्धको विद्रोहको कथाले उनलाई यसतर्फ आकर्षित गर्‍यो।

‘विशेषगरी बिर्ता उन्मूलन जस्तो मौन युद्धमा उहाँले खेलेको भूमिकाले मलाई राजनीतिमा आकर्षित गर्‍यो,’ नेपालखबर ‘संसदमा म’मा उनी भन्छन्, ‘श्रीभद्र शर्मा र नन्दलाल बोहोराजस्ता व्यक्तिहरूले स्थानीय नागरिकको जमिन उनीहरूकै नाममा दर्ता गराउन नारायणहिटी दरबारसम्म घेराउ गरेको सुनेर ममा राजनीतिक चेतना जागेको हो।’

त्यही कथा सुनेर आज नेपाली कांग्रेसको राजनीतिमा होमिएका उनी सांसद बनेका छन्। तर, जब उनी नेपालको संसद हेर्छन्, तब त्यहाँ त्यस्तो कुनै कथा, त्याग र साहसको गन्ध पाउँदैनन्। बरु, उनलाई संसद् नाटकघर बनेजस्तो लाग्छ। जहाँ देशको भविष्य बनाउने गम्भीर बहसको सट्टा केवल औपचारिकताको मञ्चन हुन्छ।

गोरखा १ बाट निर्वाचित बजगाईं संसदको वर्तमान अवस्था देखेर निराश छन्। 

‘त्यो संसद् जस्तो छैन,’ उनी भन्छन्, ‘म त बीपी कोइराला, कृष्णप्रसाद भट्टराईको जस्तो उदार सोच र हास्यचेत भएको व्यक्तित्व खोज्छु, तर त्यहाँ कोही छैन।’

बजगाईंलाई लाग्छ, संसद् एउटा यस्तो थिएटर बनेको छ, जहाँ आँखा जुधाएर मन्त्रीहरूसँग बहस गर्न सकिँदैन। 

‘हामी त्यहाँ बहस गर्न सक्दैनौँ, त्यो एउटा थिएटर हो, पार्लियामेन्ट होइन,’ उनले भने, ‘थिएटरमा पार्लियामेन्ट लगेर राखेको जस्तो छ।’ 

संसदमा प्रवेश गर्नासाथ नकारात्मक ऊर्जाले घेर्ने र मनै नेगेटिभ हुने गरेको तीतो अनुभव उनले सुनाए।

एउटा सांसदको रूपमा आफूले सदनमा विभिन्न महत्त्वपूर्ण विषयमा आवाज उठाउने गरेको बताउँछन् उनी। नेपाली युवाहरूको बाध्यकारी श्रम पलायनको अवस्था, सीमा सुरक्षा, सैनिक शक्तिको आधुनिकीकरण, नयाँ सैन्य प्रविधि, हतियार र स्याटेलाइट जस्ता विषयमा आफूले बोल्दै आएको उनी बताउँछन्। 

पूर्वाधार विकास समितिमा रहेर काम गर्दा पुराना विधेयकहरूलाई अद्यावधिक गर्नुको सट्टा दम्भका साथ नयाँ विधेयक लेख्ने प्रवृत्ति हाबी भएको उनको आरोप छ। जलस्रोत विधेयक र ग्रिन हाइड्रोजनजस्ता महत्त्वपूर्ण विषय विधेयकमा अपूर्ण र अस्पष्ट रूपमा समेटिएकोमा उनको असन्तुष्टि छ। 

बजगाईंलाई सबैभन्दा ठूलो चिन्ता नेपालले आफ्नो मौलिक पहिचान गुमाउँदै गएकोमा छ। 

‘हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य भनेको नेपालको आफ्नो पहिचान, जुन लडाकु नेपाली वीरताको पहिचान थियो, त्यसलाई हामीले नै समाप्त पार्‍यौँ,’ उनी भन्छन्, ‘नेपालको पहिचान फुटबल वा क्रिकेट नभई यहाँका वीरहरूको बहादुरी हो। त्यो पहिचानलाई नेपालले मेटायो। अहिले सिंगापुर पुलिस, भारतीय गोर्खा र बेलायती सेनामा नेपाली अब्बल भए पनि नेपालभित्र भने राष्ट्रिय नेतृत्व शून्य भइरहेको छ।’

आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासबारे बोल्दैै उनले त्यहाँको मुख्य समस्या छरिएर रहेको बस्ती भएको बताए। यसको समाधानका लागि उनले एक मोडल प्रस्ताव गरेका छन्। 

‘विकासको मोडल एकीकृत बस्ती हुनुपर्छ। मानिसहरूलाई एक ठाउँमा सारेर खाली भएको जमिनमा सरकारले जडीबुटी प्रशोधन केन्द्र खोल्नुपर्छ र त्यसलाई अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्छ,’ उनले भने। 

उनले लार्के–बेनीघाट सडक खण्डलाई चितवनको ठोरीसम्म जोड्ने योजनालाई प्राथमिकतामा राखेको बताए। तर, बुढीगण्डकी डुबान क्षेत्रको अनिश्चितताले गर्दा बेनीघाट–आरखेत खण्डमा पूर्वाधार निर्माण ठप्प भएको र त्यसले जनतालाई सास्ती दिएकोप्रति चिन्तित रहेको खुलाए। 

बढी निराशा हुँदाहुँदै सांसद बजगाईंको मनमा आशाको त्यान्द्रो भने बाँकी नै छ। 

‘धेरै निराश नहुनुस्, कोही न कोही जन्मिएला, कसै न कसैले हिम्मत गर्ला, कोही लिडर जन्मिएला,’ उनी आशावादी हुँदै भन्छन्, ‘कोही गोर्खाली जस्तो बहादुर जन्मिएला भन्ने आश गर्नुस्। अहिले त नेपालमा कोही लिडर नै छैन। राजनीतिज्ञ मात्रै भए।’

हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाटः

फोटो/भिडिओ : विशाल कार्की
 

साउन १९, २०८२ सोमबार २०:०६ | August 4, 2025

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad