प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार र बुधबार पाँच मध्य–एसियाली राष्ट्रका राष्ट्रपतिहरूसँग भेटवार्ता गर्ने भएका छन्।
भूपरिवेष्ठित तथा विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, कजाखस्तान र ताजिकिस्तानका राष्ट्रपतिहरूसँग भेटवार्ता गर्न लागेका हुन्।
सम्मेलन मध्य–एसियाली राष्ट्र तुर्कमेनिस्तानको अवाजामा १९–२२ साउन (४–८ अगस्ट) मा हुँदै छ। सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आइतबार (३ साउन) राति प्रस्थान गरिसकेका छन्।
प्रधानमन्त्री ओलीले भेटवार्ता गर्ने राष्ट्रपतिहरूको पहिलो सूचीमा सम्मेलनको आयोजक राष्ट्र तुर्कमेनिस्तानका सर्दर बरदिमहामेदोव छन्।
राष्ट्रपति सर्दर बरदिमहामेदोवससँग प्रधानमन्त्री ओलीको भेट मंगलबार (२० साउन) अपरान्ह ३–६ बजेको अवधिमा मिलाएर हुनेछ। सो भेटघाट अवाजा रहुन्जेल बसोबास हुने ‘होटल बर्करार’ मा हुन्छ वा सम्मेलन केन्द्रमा, त्यो भने अझै यकिन भइसकेको छैन। यद्यपि, प्रधानमन्त्री ओली ‘होटल बर्करार’ बाट सम्मेलन केन्द्रतर्फ साँझ ६:१५ प्रस्थान गर्ने भएकाले सम्भवतः त्यही होटलमा हुनेछ।
मंगलबार अपरान्ह ३–६ बजे नै प्रधानमन्त्री ओलीको भेटवार्ता उज्वेकिस्तानका राष्ट्रपति साभकात मिर्जियोयेभसँग पनि हुनेछ।
सूचीमा रहेका बाँकी तीन मध्यएसियाली राष्ट्रका राष्ट्रपतिहरूसँग भने प्रधानमन्त्री ओलीले बुधबार (साउन २१ ) भेटवार्ता हुने तय भएको छ।
यसमध्ये बुधबार अपरान्ह ३–६ बजेकै अवधिमा प्रधानमन्त्री ओलीले क्रमैसँग अजरबैजानका राष्ट्रपति इल्हाम हेदोर ओग्लु अलियेभ, कजाखस्तानका राष्ट्रपति कासिम जोमार्ट के. तोकायेभ र ताजिकिस्तानका राष्ट्रपति इमामाली राहिमानसँग भेटवार्ता गर्नेछन्।
यी तीन राष्ट्रपतिसँग भेटवार्ताको अवधिमा सम्मेलन केन्द्रमा त्यस दिनको पहिलो सेसनअन्तर्गत ‘स्ट्रक्चरल ट्रान्सफर्मेसन, डाइभर्सिफिकेसन एण्ड साइन्स टेक्नोलोजी एण्ड इन्नोभेसन एसटिआई) एज ड्राइभर्स अफ प्रस्पेरिटी इन ल्याण्ड लक्ड डेभललपिङ कन्ट्रिज’ (एलएलडिसि’ज) शीर्षकमा राउन्ड टेबल हुँदै छ। राउन्ड टेबलकै छेको पारेर प्रधानमन्त्री ओलीले उपरोक्त तीन राष्ट्रका राष्ट्राध्यक्षहरूसँग भेटवार्ता गर्न लागेका हुन्।
जानकारी अनुसार, पाँच मुलुकका राष्ट्रपतिहरूसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ चार नेपाली अधिकारीहरू हुनेछन्।
प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका संयुक्त राष्ट्रसंघीय मामिला हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल र संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित मुख्यालयका लागि नेपाली स्थायी प्रतिनिधि (राजदूत) लोकबहादुर थापा भेटवार्तामा सहभागी हुनेछन्।
मंगलबार बिहान १० बजे हुने सम्मेलन उद्घाटन क्रममा सहभागिताका अलावा प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित–विकासशील राष्ट्रका समूहहरूको तर्फबाट उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्।
त्यसबाहेक मंगलबार दिउँसो हुने ‘प्रमोसन अफ रिजनल सेक्युरिटी थ्रु तथा इन्ह्यासमेन्ट अफ ट्रेड एन्ड ट्रान्सपोर्ट कनेक्टिभिटी’ शीर्षकको कार्यक्रममा र बुधबार अपरान्ह ‘इन्ह्यान्सिङ एड्याप्टिभ क्यापासिटी, स्ट्रन्दनिङ रेसिलेन्स एन्ड एड्रेसिङ भल्नरविलिटी टु क्लाइमेट चेन्ज एन्ड डिजास्टर्स इन ल्यान्डलक्ड डेभलपमेन्ट कन्ट्रिज’ शीर्षकको राउन्ड टेबलमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।
आइतबार साँझ युएईको दुबई उडेका प्रधानमन्त्री ओली स्थानीय समय अनुसार बिहान १०ः४५ मा तुर्कमेनिस्तान एयरलाइन्सको उडान नं टी-५८१८ बाट तुर्कमेनिस्तानी सहर ‘तुर्कमेनवासी’ तर्फ प्रस्थान गरिसकेका छन्।
दिउँसो २ः२५ मा ‘तुर्कमेनवासी’ पुग्ने प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका अधिकारीहरूका साथ न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गर्नेछन्।
अवाजा सम्मेलन अवधिभर प्रधानमन्त्री ओलीको बसोबास ‘होटल बर्करार’ मा हुनेछ। सो होटलको ‘सेक्टर ए’ अन्तर्गतको भीआईपी ‘अल्ट्रा लक्स सेक्सन’ को ७०२ नम्बर कोठा प्रधानमन्त्री ओलीका लागि बुकिङ गरिएको छ। उनका प्रमुख सल्लाहकार विष्णु रिमालका लागि सोही सेक्टरको ‘भीआईपी लक्स’ ३०१ नम्बर कोठा तय भएको छ।
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण दल २२ सदस्यीय छ। तिनमा ओलीका अलावा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश वज्राचार्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, एमाले सांसद सूर्य थापा, परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह शाह, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, चिफ अफ प्रोटोकल कुमारराज खरेल, उद्योग मन्त्रालयका सहसचिव देवराज जोशी, प्रधानमन्त्रीका अंगरक्षक लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का र प्रमुख सुरक्षा निर्देशक लेफ्टिनेन्ट कर्णेल केशरबहादुर बुढाथोकी लगायत छन्।
भ्रमण दलका १९ जनाका लागि ‘होटल बर्करार’ मा बसोबासको प्रबन्ध गरिएकोमा तीन सञ्चारकर्मीहरू प्रकाश सिलवाल (रासस), शंकर कुमार बुढाथोकी क्यामरापर्सन, नेपाल टेलिभिजन र प्रधानमन्त्रीका निजी फोटोग्राफर दिनेश भण्डारी डेनिज होटलमा रहनेछन्।
स्मरणीय छ, भूपरिवेष्ठित तथा विकासशील राष्ट्रहरूको समूह (एलएलडीसी’ज) मा संयुक्त राष्ट्र संघका सदस्य रहेका ३२ मुलुक संलग्न छन्।
Shares

प्रतिक्रिया