राजनीति


कुलिङ पिरियड छानबिन: कांग्रेस-एमालेका ४ सांसद बैठक छोडेर निस्किए, विपक्षी कुरेको कुर्‍यै

कुलिङ पिरियड छानबिन: कांग्रेस-एमालेका ४ सांसद बैठक छोडेर निस्किए, विपक्षी कुरेको कुर्‍यै

समितिको बैठक। फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८२ आइतबार १४:१९, काठमाडौँ

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको विषय छानबिन गर्नका लागि गठित समितिका संयोजकसहित ४ सदस्य बैठक छोडेर बाहिरिएका छन्। 

समितिका एक सांसदका अनुसार बैठक चलिरहँदा उनीहरू बैठक छोडेर बाहिरिएका हुन्। 

'मिटिङ चलिरहेको थियो तर एकाएक सत्तापक्षका नेपाली काङ्ग्रेसका दुई र  एमालेका दुई जना निस्केर कता जानुभयो थाहा भएन,'उनले भने, 'उहाँहरू १ बजेतिर बाहिरिनु भएको हो हामीले गरेको फोन पनि उठाउनुहुँदैन। कहाँ जानुभयो पत्तो छैन। आज छानबिन प्रतिवेदनको भाषालाई अन्तिम रुप दिने, सक्ने भन्ने थियो।' 

बैठक छोडेर निस्कनेमा समिति संयोजक तथा कांग्रेस सांसद जीवन परियार, कांग्रेस सचेतक सुशीला थिङ त्यस्तै एमालेकी ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य छन्।  

समितिकी सदस्य  तथा राप्रपाकी सांसद रोशन कार्कीले पनि चारजना सांसद एक्कासि उठेर हिँडेको बताइन्।  'यहाँ बैठक कोठामा उहाँहरू अहिले हुनुहुन्न। एक्कासि उठेर जानु भयो कहाँ जानुभयो थाहा भएन। विपक्षी दलका हामी चाहिँ बसिरहेकै छौँ' उनले भनिन्। 

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भने आफूहरू समितिको बैठकमा बसिरहेको र केही सदस्य बैठकमा नभएकोले पर्खिरहेको जानकारी दिए। 

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद आज सकिँदैछ। विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान निष्क्रिय हुने उल्लेख भएपछि प्रतिनिधि सभाले छानबिन विशेष समिति गठन गरेको थियो।

गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो। पछि एक साता थपिएको हो। थपिएको म्याद आज सकिँदैछ ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन्।

कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।

बैठक छोडेर निस्किएका भनिएकार चारै सांसदलाई मोबाइलमा पटकपटक सम्पर्क गर्दा उनीहरूले उठाएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad