पूर्वउपप्रधानमन्त्री भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाए।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली नदीनालाबाट विद्युत उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफैँ गर्नु भन्ने कानुन पारित गरेको भन्दै त्यसले विदेशी सेनालाई नेपाल भित्रिने बाटो खुलाएको आरोप लगाए।
उनले विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने बताए। त्स्तै नागरिकता विधेयकमा अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था राखिएको भन्दै रावलले आपत्ति जनाए। वंशजको नागरिकता भन्ने तर पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो भन्दै प्रश्न समेत गरे।
‘एउटा कानुन आएको सुनेँ, अहिले विदेशीहरुले नेपाली नदीनालाबाट विद्युत जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो,’ रावलले भने, ‘अब हेर त, विदेशी सेना आउने भयो की नाइ? अब विदेशी सेना आएपछि हामीलाई खिर खान दिन्छ? संसदबाट एउटा कानुन पारित भयो। बनायो कानुन, त्यहाँ बसेकाहरुले?’
उनले थपे, ‘अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खाली राख्ने रे। यो देशलाई कहाँ लैजान लाग्या हो? दिनेबेला वंशजको नागरिकता भन्ने बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त? यस्तो राजनीति गरेपछि खिर खाने दिन धेरै रहँदैन।’
पूर्वउपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भएका छोराछोरी खाडी पठाउने अनि छोराछोरी जन्माओ भन्ने भन्दै प्रश्न गरे।
Shares

प्रतिक्रिया