राजनीति


चक्रे मिलनसहित १९ जनालाई हिरासतमा राखेर अनुसन्धान थालियो, अरू रिहा

चक्रे मिलनसहित १९ जनालाई हिरासतमा राखेर अनुसन्धान थालियो, अरू रिहा

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १७:३२, काठमाडौँ

काठमाडौँको ठमेलबाट बिहीबार राति पक्राउ परेमध्ये चक्रे मिलनसहित १९ जनामाथि अनुसन्धान गरेर मुद्दा चलाइने भएको छ।

गुण्डा नाइके भनेर चिनिने चक्रे मिलन अर्थात् मिलन गुरुङसहितलाई अभद्र व्यवहारको कसुरमा ७ दिन हिरातसतमा राखेर अनुसन्धान अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुल्दीप चन्दले बताए।

प्रहरीले राति ४७ जनालाई पक्राउ गरेको थियो। तर यीमध्ये २८ लाई रिहा गरेर १९ जनालाई मुद्दा चलाउने तयारी गरिएको हो। 

चक्रे मिलनसँगै गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेललाई हिरासतमा राखिएको छ। 

यस्तै ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमीर आले मगर, उत्तम महर्जन, प्रनिश कटेल, राजु परियार र सफल शाहीलाई मुद्दा चलाउन प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको हो। 

चक्रे मिलनसहितले सामाजिक सञ्जालमा सर्वसाधारणलाई आतंकित बनाउने ढंगका पोस्ट गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एआईजी टेकबहादुर तामाङले गुण्डा नाइकेहरूलाई नियन्त्रण गर्न निर्देशन दिएपछि मातहतका कार्यालयले निगरानी बढाएका हुन्। उनीहरू रेस्टुराँ र क्लबमा बसेर झैझगडा गर्ने तथा हप्ता असुल्ने कार्यमा संलग्न हुँदै आएकाे प्रहरीको भनाइ छ।

यसअघि प्रहरीले बिहीबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पनि पक्राउ गरेको थियो।

एक वर्षसम्म कैद हुन सक्ने
मुलुकी अपराध संहिताको दफा १८ मा अभद्र व्यवहारसम्बन्धी कसुर परिभाषित गरिएको छ। ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन,’ उक्त दफामा लेखिएको छ।

यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad