राजनीति


अनसनरत मेयर भट्टराईको जीवन रक्षाका लागि मानवअधिकार आयोगको आग्रह

अनसनरत मेयर भट्टराईको जीवन रक्षाका लागि मानवअधिकार आयोगको आग्रह

नेपालखबर
साउन १५, २०८२ बिहिबार १७:१३, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।

माइतीघर मण्डलामा अनसनरत मेयर भट्टराईको स्वास्थ्यअवस्था गम्भीर बनेको भन्दै आयोगले तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगले अनसनस्थल माइतीघर तथा वीर अस्पताल पुगी अनुमगन गरेको जनाएको छ। साथै, अनुगमनका क्रममा आयोगले अनसनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग समेत जानकारी लिएको छ। 

आयोगका अनुसार भट्टराई माइतीघर मण्डलामा अनसन बस्ने योजना बनाई सिंहदरबार हुँदै अगाडि बढ्दै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिई माइतीघर मण्डलामा ल्याएको, स्थानीय प्रशासनले अनसनका लागि रत्नपार्कस्थित शान्तिवाटिकामा जान भनिए पनि उनले अस्वीकार गरी माइतीघरमै अनसनमा बसेको, अनसनरत व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि साउन १४ गते राति वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको अनुगमनका क्रममा पाइएको छ। 

वीर अस्पतालका अनुसार अनसनरत मेयरको स्वास्थ्य अवस्था गम्भीर (ब्लडप्रेशर, सुगर र मुटुको धड्कन कम भएको) बन्दै गए पनि उनले थप उपचारको लागि भर्ना भई उपचार गर्न अस्वीकार गरेका छन्। 

वार्ताबाटै समस्या समाधानका लागि भट्टराईसँग सरकारका प्रतिनिधिहरुले अनौपचारिक छलफल गरिरहेको समेत जानकारी प्राप्त भएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः निजको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ।’

मेयर भट्टराई जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योगहरू मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणको लागि नीति बनाउन भन्ने लगायतका मागहरु राखी यही साउन ११ गतेदेखि माइतिघरमा अनसन बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad