सीमान्तकृत माझी समुदायको प्रतिनिधित्व गर्ने उर्मिला माझीको राजनीतिक यात्रा सामान्य छैन। यो यात्रा बन्दुकको नालबाट सुरु भएर देशको कानुन बनाउने थलो संसदसम्म आइपुगेको छ, जहाँ उनले देखेका सपना र भोगेका यथार्थबीच ठूलो खाडल छ।
राजनीति उनको रगतमा थिएन। उनका बाबुबाजेले हलो जोते, तर राजनीतिको मैदान कहिल्यै टेकेका थिएनन्। उनी आफैँ पनि १३–१४ वर्षको उमेरमा स्कुल पढिरहेकी एक सामान्य किशोरी थिइन्। तर, काभ्रेस्थित खानीखोला गाउँपालिका–४ मा पर्ने जगथली माझी बस्तीमा घटेको एउटा क्रूर घटनाले उनको जीवनको बाटो नै मोडिदियो।
नेपालखबर ‘संसदमा म’मा आफ्नो अनुभूति सुनाउने क्रममा उनी सम्झिन्छिन्, ‘०५६ सालतिर हो। त्यतिखेर म बर्खे रोपाइँ सकेर फर्किंदै गर्दा दुई महिला र दुई पुरुषलाई प्रहरीले पक्राउ गरेर लैजाँदै गरेको देखेँ। भोलिपल्ट उनीहरूलाई चरम यातना दिएर मारिएको थाहा पाएँ। महिलाहरूलाई बलात्कार गरेर मारिएको त्यो क्रूर घटनाले मेरो जीवनको बाटो नै मोडियो। अब विभेदविरुद्ध लड्न, संघर्ष गर्नुपर्छ भन्ने एउटा प्रेरणा त्यो घटनाले पनि दियो।’
त्यही एउटा घटनाले उर्मिलाको कलिलो मनमा विद्रोहको आगो मात्रै सल्काएन, समाजमा व्याप्त अन्याय, अत्याचार र राज्यले गरेको विभेदविरुद्ध लड्नुपर्छ भन्ने अठोट बोकेर माओवादी जनयुद्धमा होमिन उत्प्रेरित समेत गर्यो। २०५७ सालमा उनी माओवादी जनयुद्धमा होमिइन्।

उनले आफ्ना आँसु, रगत र पसिना सबै यही आन्दोलनमा सिञ्चित गरिन्। युद्धकै क्रममा उनको विवाह भयो, तर त्यो दाम्पत्य जीवन लामो समय टिक्न पाएन। भूमिगत कालको कठोर नियमअनुसार श्रीमान–श्रीमती अलग–अलग भूगोलमा खटिनुपथ्र्यो। त्यही क्रममा उनले आफ्नो श्रीमानलाई गुमाइन्, उनी सहिद भए।
‘म एउटा सहिद परिवार पनि हो,’ उनी भन्छिन्, ‘युद्धकै क्रममा उहाँको सहादत भयो। उहाँको सहादत भएको केही समयपछि मेरी नानीको जन्म पनि भयो।’
यद्यपि उनी थाकिनन्। काखमा सहिदको निसानी, मनमा अधुरो क्रान्तिको सपना र आँखामा अनिश्चित भविष्य बोकेर उनी निरन्तर लडिरहिन्। जब देश शान्ति प्रक्रियामा आयो, त्यसपछि उनको संघर्षको स्वरूप बदलियो। हतियार बिसाएर उनी मूलधारको राजनीतिमा त आइन्, तर उनका लागि लडाइँ अझै रोकिएन।
पहिलो संविधान सभा निर्वाचनमा उमेर र नागरिकताको समस्याले उनलाई संविधान सभा सदस्य हुनबाट रोक्यो। दोस्रोमा पार्टीले पत्याएन। यद्यपि पार्टीले आफै त्याग र योगदानलाई मूल्यांकन गर्ला भनेर उनी नेतृत्वलाई घच्घच्याउन कहिल्यै गइनन्।
अन्ततः २०७९ सालमा पार्टीले उनलाई समानुपातिक प्रणालीमार्फत संसदमा प्रतिनिधित्व गर्ने अवसर दियो। वर्षौंको त्याग र बलिदानपछि उनी देशको नीति निर्माण गर्ने ठाउँमा त पुगिन्, तर के उनले सोचेजस्तै रहेछ त संसद्?
‘सांसद भइसकेपछि बाहिरबाट हेर्दा र हामी स्वयंले भोगिसकेपछिको अनुभव चाहिँ अलिकति फरक लाग्छ मलाई। बाहिरबाट हेर्दा भन्दा यथार्थ फरक रहेछ,’ उनले भनिन्।

जुन विभेदविरुद्ध लड्न उनी बन्दुक बोक्न बाध्य भइन्, संसदमा पनि समाजको त्यही समाजको विभेदकारी चरित्र देख्दा उनी चकित छिन्।
‘एकपटक मैले भाषणका लागि सुरुमा दिएको नाम अन्तिममा मात्रै आयो,’ आफ्नो एउटा अविस्मरणीय अनुभव सुनाउँदै उनले भनिन्, ‘त्यसपछि मैले रोस्ट्रमबाटै पनि भनेँ– यो खालको विभेद संसदमा पनि हुँदो रहेछ है। मैले त्यस्तै अनुभूति गरेँ। मैले यो अपेक्षा गरेर आएको थिइनँ। यस्तो खालको विभेद यहाँबाट हुनुहुँदैन। यसको अन्त्य हुनुपर्छ।’
पूर्वाधार विकास समितिमा रहेकी उनले त्यहाँ पनि यस्तो विभेद महसुस गरेको बताइन्।
संसदभित्र महिला, जनजातिजस्ता सीमान्तकृत र समानुपातिक सांसदहरूलाई गरिने विभेदकारी व्यवहारले पनि उनलाई दुःखेको छ। उनको बुझाइमा संसद् राष्ट्र र जनताप्रति भन्दा पार्टी र गुटप्रति बढी उत्तरदायी देखिन्छ।
‘अरूलाई कमजोर बनाएर आफू मजबुत हुने रहेछ यो राजनीति भनेको,’ उनको एक वाक्यले संसदको यथार्थ चित्र बताउँछ।

यी सबै निराशाका बीच पनि उनको मनमा आशाको त्यान्द्रो भने मरेको छैन। लमजुङ बस्दै आएकी उनी त्यहाँका जनताले आफूबाट धेरै अपेक्षा गरेको बताउँछिन्। विकास निर्माणदेखि बिरामीको उपचार र रोजगारीका लागि उनलाई दिनहुँ फोन आउँछ। सबै अपेक्षाहरू पूरा गर्न नसके पनि उनी आफ्नो ठाउँबाट निरन्तर लागिरहेकी छिन्।
‘नराम्रो नगर्ने, कति सकिन्छ राम्रो गर्नेतिर चाहिँ हामी अगाडि बढ्नुपर्छ,’ बाँकी कार्यकालका लागि पनि उनको यस्तै संकल्प छ।
बन्दुकको नालदेखि श्रीमानको बलिदानसम्म अनगिन्ती डोबहरू बोकेर संघर्षका पहाडहरू छिचोल्दै संसदमा आइपुगेकी माझीको मनमा आज पनि एउटै प्रश्न उठिरहन्छ– के हामीले व्यवस्था बदल्यौँ, तर अवस्था बदल्न सक्यौँ त?
आज पनि उनलाई कता कता लाग्छ– आज पनि युद्ध जारी छ। फरक यति हो, हिजो बन्दुकले लडियो, आज विचारले लडिँदैछ।
हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाट :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया